
दशैँमा सबैभन्दा रमाइलो पल लट्ठे पिङ्मा हुने गथ्र्यो । मेरो जन्मथलो तेह्रथुमको इवा हो । हालको नयाँ संरचना अनुसार आठराई गाउँपालिका–४ भनेर नामकरण गरिएको छ । जन्मथलो मात्रभन्दा त्यो ठाउँलाई मैले अन्याय गरे जस्तो हुन्छ । मलाई पालनपोषण गरेकै इवाले हो । मेरो अभिभावक नै इवा हो । मेरो मार्गदर्शक नै इवा हो । खासगरी इवा गाउँका युवा एकदमै जुझारु थिए । अत्यन्तै सक्रिय । युवाको एउटा ठूलो झुण्ड नै थियो । त्यसैले युवाबाट अपभ्रंश भएर इवा भएको हो कि भन्ने मेरो बुझाइ हो । वास्तविकता यो नहुन पनि सक्छ ।
दशैँ आउनुभन्दा महिनौंअघिदेखि पिङको लट्ठा बाट्न प्रयोग हुने बाबियोको बन्दोबस्त गर्न त्यस ठाउँका युवा निकै सक्रिय हुने गर्थे । बाबियोको बन्दोबस्त गर्न मात्र सक्रिय हुने होइन, लट्ठा बाट्ने, लिङ्गे पिङ हालेर गाउँभरिका मानिसलाई रमाइलो दिलाउने भूमिका पनि उनीहरुकै हुन्थ्यो । बाबियो पाउने ठाउँ तिलचन अंकलको घर थियो । अग्रिम बुकिङ गर्नुपथ्र्याे । नत्र अरु ठाउँका मान्छे आएर उडाइदेलान् भन्ने डर । तिलचन अंकल हामीलाई यो स्तरसम्म ल्याइदिने आधार पनि हुनुहुन्छ । बुबाको एक अंश मान्छु म उहाँलाई । ड्याडी परदेश हुनु भएको बेला उहाँले हामीलाई गर्नुभएको स्नेह, सहयोग र योगदान प्रति नमन गर्छु ।
टीका आउनुभन्दा २० दिन अघिदेखि युवाको जमात कहाँ–कहाँ पिङ हाल्ने भनेर स्थलगत अध्ययनका लागि निस्कन्थ्यो । डाँडापाखा, भिरालो ठाउँ, कान्ला र डिल नै लिङ्गे पिङका लािग उपयुक्त मानिन्थ्यो । ढुङ्गाघारी तथा अप्ठ्यारो ठाउँलाई जोखिमपूर्ण ठाउँ मानिन्थ्यो । अग्रजहरुको सल्लाहसुझाब अनुसार युवाले उपयुक्त ठाउँको छनोट गर्थे । ठूलाघर हजुरबा, कृष्ण सर, देवी अंकल, धनपति ठूलोबा, पदम ठूलोबा, प्रकाश ठूलोबा, गोपाल उपे्रती चाहिँ सल्लाहकार हुनुहुन्थ्यो । पिङडाँडो भन्ने ठाउँ वर्षेनि पिङ हालेकै कारण पनि प्रख्यात भएको भन्दा फरक नपर्ला । त्यो ठाउँ देख्ने बित्तिकै अझै पनि लिङ्गे पिङकै याद आउँछ । अनि मुटु नै च्यू… हुने गरी मच्चाएको याद आउँछ । अरुले पिङ धकेल्दिएको याद आउँछ । मच्चाउन सकिएन भने ‘यो गल्यो, यस्लाई पकड’ भनेको याद आउँछ ।
ढाँड, पिपलडाँडो, भक्कारे, भैँसे, पिङडाँडा नामका थुप्रै स्थान थिए, जहाँ प्रत्येक वर्ष पिङ लागाउने गरिन्थ्यो । पिङ लगाउने काममा पु्ष्प दाइ, धुव्र दाइ, राजिव दाइ, हेमन्त दाइ, नवराज दाइ, साल्दाइ, मिलन दाइ, मदन दाइ र मेरो दाइ अग्रसर हुनुहन्थ्यो । शुरु–शुरुमा बाबियो किन्ने बेलामा गाउँका सबै मानिससँग पाँच–पाँच रुपैयाँ उठाउने गर्नुहुन्थ्यो । कसैले त त्यो पाँच रुपैयाँ पनि दिनुहुन्न थियो । हामीलाई छोराछोरी लडाउन मन छैन भन्ने गर्नुहुन्थ्यो । तर, खेल्न चाहिँ आफैँ पनि आउनुहुन्थ्यो । छोराछोरीलाई पनि पठाउनु हुन्थ्यो । जे होस्, असाध्यै रमाइलो तथा हर्षोल्लासका साथ वर्षभरिका पीर व्यथाहरु भुल्ने अवसर पिङले दिलाएको थियो । कुनै–कुनै ठाउँमा लट्ठा कमजोर छ दोहोरी नखेल्नुुस् है भन्नु हुन्थ्यो । तर, कसले टेर्ने र ? कतिपय ठाउँमा त लट््ठा छिनेर ज्यान गएका घटनाहरु पनि छन् । केटाहरु पिङ खेल्न आएका केटीलाई ‘दोहोरी पिङ खेलौँ न’ भन्दै जिस्काउने गर्थे । केटीहरु लाजले अक्क न बक्क हुन्थे ।
म कक्षा–४ मा पढ्दा दशैँ मनाएको केही पुराना अनि रमाइला यादहरु जीवितै छन् । ड्याडी वैदेशिक रोजगारीका लागि साउदीमा हुनुहुन्थ्यो । घरमा ममी, दादा र म थियौँ । ममीले त्यो सालको दशैँमा ३० किलो चिउरा ल्याउने निर्णय गर्नुभयो । ममीको त्यो निर्णयमा मैले ताल र संगीत बिनाको नाच देखाइदिएँ । ‘यसको घैँटामै घाम लाग्यो’ भन्छन् नि । हो त्यस्तै भएको थियोे । दाइ पनि निकै हर्षित हुनुहुन्थ्यो । तर, म जति हर्षित उहाँ हुनुभएन । हाम्रो पारिवारिक विरासत नै प्रणामी भएकाले माछामासुको कुरा हुन्थ्यो । त्यो वर्षको ३० किलो चिउराले हामी दुई भाइलाई दशैँदेखि तिहारसम्म नै छेलोखेलो भयो । घरमा खाने कुरा चिउरा र चिनी मात्र हुन्थ्यो । तर, अहिलेको जस्तो पर्याप्त सामग्रीहरु चाहिँ हुन्थेन । यद्यपि, केरा, दही तथा अन्य खानेकुरा भने पर्याप्त नै हुन्थे । दशैँमा प्रणामीका लागि मुख्य खानेकुरा पनि त्यही त हो । सानोमा चाउचाउभन्दा अरु केही मिठो लाग्दैन्थ्यो । तर, फुको चाउचाउ र चिउरा मिसाएर खाँदा अझै धेरै मिठो हुन्थ्यो । ममीलाई पैसा माग्दा कहिलेकाहीँँ देवी अंकलकोमा गएर बाँकी खानु भन्नुहुन्थ्यो । देवी अंकल भनेको गाउँमा अरुको तुलनामा ठूला व्यापारी तथा समाजसेवी । म त्यहाँ चाउचाउ नै मात्र खान्थेँ । अनि अंकलले कहिलेकाहीँ बोनस स्वरुप दुईवटा चकलेट पनि दिनुहुन्थ्यो । अंकललाई मेरो धेरै–धेरै सम्झना अनि नमस्कार छ ।
पिङ खेल्न जाँदा चिउराले निकै साथ दिएको याद छ । हेमन्त ढुंगाना दाइको घर पछाडिको ढाँडमा हरेक वर्ष चारलिङ्गे पिङ हाल्ने गर्नुहुन्थ्यो । त्यहाँ पिङ हाल्ने कुरामा हेमन्त दाइ, मेरो दाइ, मिलन दाइ, पुष्प दाइ र मदन दाइको प्रमुख अग्रसरता रहने गथ्र्याे । त्यो पिङ गाउँको मध्य भेगमा भएकाले सबैका लागि सुविधायुक्त स्थान थियो । पिङ खेल्ने बेलामा घुइँचो भएर पालोमा बस्नु पथ्र्यो । पिङमा पालो छुट्ला र धेरै पटक खेल्न नपाइएला भन्ने चिन्ता हुने कारणले चिउरा र चिनी गोजीमा हालेर हल्लाउँदै कुद्ने बानी थियो मेरो । चिउरा खाँदै कुद्दा आफ्नै खुट्टामा छिर्के लागेर लडेका कति यादहरु पनि ताजै छन् । लड्दा गोजीका आधाजसो चिउरा भुइँमा पोखिन्थ्यो । त्यहाँ ममीले नदेखेका कारण पोखिएको चिउरालाई बेवास्ता गर्दै हिँड्थेँ । चिउराभन्दा चिनी धेरै पोखिएको थाहा पाउँदा भने आफैँलाई साह्रै पीर लाग्थ्यो ।
पोखिएको चिनीलाई टिप्ने एउटा अनौठो उपाय थियो । चोर औलामा थुक लगाउने अनि चिनी–चिनी भएको ठाउँमा औला टाँसेर फेरि गोजीभित्रै हाल्ने । कहिलेकाहीँ चिनीभन्दा धेरै पतिङ्गर गोजीमा पस्थ्यो र चिउराको साथी भएर बस्थ्यो । प्रत्येक पटक फाँको मार्दा चिउरासँग एउटा न एउटा सुकेको पतिङ्गर मुखमा पस्थ्यो । फेरि मुखको पतिङ्गर टिप्न पनि उही चोर औँला नै अग्रसर हुन्थ्यो । पिङ खेल्ने बेलामा गोजी समाउँदै लट्ठासम्म पुग्थेँ । काम्रोमा दुई खुट्टा राखेर बसेपछि गोजीभित्रको चिउरा झर्न थाल्थ्यो । मच्चाएर लिङ्गो काट्न थालेपछि चिउरा भुरुङ्रुङरुङ् झथ्र्याे । सबैलाई हाँसो हुन्थ्यो । म रातोपिरो हुन्थेँ । यो त बच्चा बेलाको कुरा हो । ऊ बेला चिनी र गुलियो चिज भनेपछि मरिहत्ते गर्ने मलाई अहिले ती कुरा फिटिक्कै मिठो लाग्दैन । उसबेला चिउरालाई उच्चस्तरमा राख्ने म अहिले त्यति वास्त गर्दिनँ । त्यो बेला ३० किलो चिउरा ल्याउँदा खुशी हुने मलाई अहिले एक किलो पनि धेरै हुन थालेको छ ।
त्यो बेला मभन्दा ठूला–ठूला दाइहरुले रातभर पिङको लट्ठा बाट्नु हुन्थ्यो । पिङको लट्ठा बाट्न ममी पनि सिपालु हुनुहुन्थ्यो । उहाँ पनि लट्ठा बाट्ने काममा संलग्न हुने गर्नुहुन्थ्यो । लट्ठा बाट्ने सीप नभएका गाउँका अन्य दाइहरुको पनि सहभागिता रहन्थ्यो । बाबियो भिजाउने अनि पानी ल्याउने काम चाहिँ म र शुभम भन्ने साथीको भागमा पथ्र्यो । त्यो बेला त एकदमै रिस उठ्थ्यो । आफूभन्दा ठूला–ठूला दाइहरु बसेका छन्, काम चाहिँ हामीले नै गर्नुपर्ने । तर, अहिले सम्झँदा मलाई हामीलाई हाम्रो स्तर र क्षमता अनुसारको काम दिइएको रहेछ भन्ने लाग्छ । मेरो दाइ पनि पिङ भनेपछि हुरुक्कै गर्नुहुन्थ्यो । उहाँका लागि त लट्ठा बाट्दा रातभर बस्नु कुनै नौलो कुरा नै भएन । अधिकारी अंकल लट्ठा बाट्ने ग्रुपमध्येका अग्रज हुनुहुन्थ्यो र पछिल्लो समयमा ड्याडीको मिलनसार मित्र, उहाँलाई पनि मेरो धेरै सम्झना अनि नमस्कार ।
लट्ठा बाटेको भोलि या पर्सिपल्ट पिङ हाल्ने काम हुन्थ्यो । पिङमा रुची भएका साना–ठूला सबै मान्छेको उपस्थिति रहने गथ्र्याे । धेरै जनशक्ति हुँदा चार÷पाँच घण्टामै पिङको लट््ठा झुण्ड्याएर उद्घाटन हुन्थ्यो । शुरुमा अविवाहित केटीलाई पिङ खेलाइन्थ्यो । कतै त त्यस्ता केटीलाई टीका लगाइदिएर पैसा दिइने पनि चलन थियो । शुरुमै पिङ खेल्न पाउने त्यो केटीलाई उद्घाटनको समयमा सबैको जोडदार ताली र हुटिङ मिल्थ्यो । सबैको हुटिङ र ताली देख्दा सानोमा मलाई पनि ‘कन्ने केटी’ हुन पाए ! भन्ने रहन नजागेको कहाँ हो र । त्यसपछि क्रमैसँग स–साना केटाकेटीलाई पिङ खेलाइन्थ्यो । अनि वृद्धवृद्धाको उपस्थिति थियो भने उहाँहरुलाई खेल्न दिइन्थ्यो । वृद्धवृद्धाले पिङ खेल्नुलाई भुइँ छोड्नु भन्थे । युवाको पालो अन्तिममा आउँथ्यो । म चाहिँ केटाकेटीकै समूहमा पर्थें ।
यसरी ठाउँ–ठाउँमा पिङ हालेर रमाइलो गर्ने माहोल पहाडमा जस्तो तराईमा बिल्कुलै छैन । पछिल्लो समय इवाकै भक्कारे भन्ने ठाउँमा पिङ हाल्न शुरु गरिएको थियो । जहाँ जलेस्वरी बोर्डिङ स्कूल पनि थियो । यो बोर्डिङमा मैले एक वर्ष पढेको छु । जुन पढाइले मलाई यो स्तरसम्म ल्याउन ठूलो सहयोग गरेको छ । गाउँमै पहिलो पटक स्थापना भएको बोर्डिङ थियो । सरकारी विद्यालयमा कक्षा ४ पढ्दा–पढ्दै मलाई ड्याडीले बोर्डिङको कक्षा १ मा भर्ना गरिदिनु भएको थियो । त्यो बोर्डिङ शुरुशुरुमा कक्षा १ सम्म मात्र थियो । सरकारी लापरबाहीको कारण कक्षा ४ सम्म पढ्दा ए, की, सी, डी पनि जानेको थिइनँ मैले । बोर्डिङमा आएपछि एक वर्षमै अंग्रेजीका धेरै कुरा सिक्ने मौका पाएँ ।
भर्ना हुने बेलामा प्रिन्सिपल सरले केही कुरा सोध्नु भएको थियो । प्रिन्सिपलको नाम नारायण धिमाल थियो । मलाई ढुङ्गा देखाउँदै ‘ह्वाट इज दिस् ?’ भन्नुभयो । मैले ‘ढुङ्गो’ भनिदिएँ । उहाँले पूरा उत्तर चाहनुभएको थियो । तर, मलाई पूरा उत्तर नै थाहा थिएन । त्यसपछि उहाँले ड्याडीलाई ‘तपाईंको छोरालाई एलकेजीमा राख्नुपर्छ’ भनेर सुझव दिनुभएछ । तर, ड्याडीले कक्षा १ मै राखिदिनुस् भनेपछि बल्ल मैले बोर्डिङको कक्षा १ मा पढ्ने मौका पाएको थिएँ । त्यसरी बोर्डिङ सञ्चालन गर्ने देवी अंकल, कृष्ण सर लगायत सम्पूर्ण सञ्चालक समितिका पदाधिकारीप्रति कृतज्ञ छु । र, विशेष कृतज्ञ प्र्रिन्सिपल नारायण धिमालप्रति छु । उहाँलाई मेरो अन्तरहृदयबाट मिठो सम्झना र न्यानो माया छ ।
त्यो बेला भक्कारेमा पिङ हाल्दा म पनि ठूलै थिएँ । राजीव दाइ, पुष्प दाइ, ध्रुव दाइ, सन्तोष दाइ, प्रकाश दाइ, रोजन दाइ र मेरो दाइले पिङ हाल्ने निर्णय गर्नुभएको थियो । त्यसका लागि थोक्लुङबाट बाइकमा बाबियो ल्याएर धेरै संघर्षले पिङ हाल्नु भयो । मैले त्यो पिङको लागि माथि मादलमा लागाउने स्याउला बटुलेको याद छ । त्यहाँ पनि पिङ खेल्नेको घुइँचो हुने गथ्र्यो । दाइहरु बेलुकाको समयमा बोर्डिङ स्कूलको खेल मैदानमा भलिबल खेल्नुहुन्थ्यो । मलाई पनि एउटा टिममा खेल्ने मौका दिनुहुन्थ्यो । बाजी खेलेर मारेको पैसाले नजिकैको माइला ठूलोबाको पसलबाट चाउचाउ ल्याइन्थ्यो । चाउचाउ किनेर ल्याउने काम मेरो भागमा पनि परेको थियो । चाउचाउ किन्न जाँदा ठूलोममीले केरा दिनुहुन्थ्यो । ठूलोबुबा–ठूलोममी दुवैलाई मेरो सम्झना छ ।
पोखरी मावि छातेढुङ्गामा मैले पाँच वर्ष पढेँ । एसएलसी त्यही स्कूलबाट सकेँ । कक्षा १० मा पढ्दा मलाई पनि आफ्नै घरमा लिङ्गेपिङ हाल्ने रहर जाग्यो । सक्रिय युवा अध्ययन र कामको सिलसिलामा गाउँबाट टाढा गएका थिए । अध्ययनका लागि कोही काठमाडौँ थिए । केही रोजगारीका लागि विदेशिएका थिए । पिङ हाल्ने युवाको कमी हुँदै गएको थियो । भक्कारेमा हालेको पिङको लट्ठाले मैले आफ्नै घरमा पिङ हाल्ने निधो गरेँ । सबैजनाले लट्ठा पुरानो भयो एउटा नयाँ पोयो थप्नुपर्छ भन्नुभयो । बाबियो खोज्न म माइला पुरेतबाको घरमा गएँ । २० मुठा बाबियो किनेर ल्याएको थिएँ । पैसा नपुगेर ४० रुपैयाँ उधारो थियो । त्यो पैसा अझै तिरेको छैन ।
त्यो वर्ष बाटोको छेउमा चार वटा लिङ्गेपिङ हालियो । राजीव दाइले पिङ हाल्ने तरिका सिकाउनुभयो । राजकुमार सेञ्चुरी दाइ र मैले पिङ हाल्यौँ । लिङ्गा गाड्न शुभमले सहयोग गरेका थिए । दशैँको फूलपातिभन्दा तीन दिनअघि पिङको उद्घाटन गरिएको थियो । हिम फुँयाल सरकी सानी छोरी दीपशिखालाई पहिलोपटक पिङ खेलाएर पिङको उद्घाटन गरिएको थियो । फुँयाल सरले पोखरी माविमा अंग्रेजी विषय पढाउनुहुन्थ्यो । मलाई पनि पढाउनु भएको थियो । उहाँलाई पनि मेरो धेरै–धेरै सम्झना छ । अरु ठाउँ जस्तो मेरो घर छेउमा हालेको पिङमा मान्छेको घुइँचो त भएन । यद्यपि, खेल्ने मान्छेको पनि कमि थिएन । मलाई मान्छे आएर पिङ खेली दिँदा सन्तुष्टी मिल्थ्यो । काठमाडौँबाट दाइ आइसक्दा रमाउँदै पिङ खेल्न जानुभयो । त्यो बेला मलाई निकै खुशी लागेको थियो । दशैँको टीकाको दिन टीका थाप्न म मावल गएँ । एकरात बसेर अर्कोदिन बिहानै उठेर घर फिरेँ । घर आइपुग्ने बेलामा माथि डाँडाबाट मैले पिङ हेरेँ । मलाई पिङले आकर्षण गरिरहेको थियो । हुन त मावलबाट घर फिर्दा बाटोमा थुप्रै पिङहरु थिए । तर, मैले कुनै पिङ खेलिनँ । घरमा आफ्नै पिङ भएर नै होला । घर आइपुग्ना साथ कपडा नफेरी म पिङमा गएँ । पिङ्को लट्ठा दुई टुक्रा भएको रहेछ । साह्रै दुःख गरेर हालेको पिङ थियो । त्यो देखेपछि झनै दुःख लाग्यो । ड्याडी पनि दुःखी हुनुभएछ । अर्को वर्ष मैले पनि अध्ययनको सिलसिलामा गाउँघर छोडेँ ।
अहिले गाउँ युवाविहीन होला । पहिलेको जस्तो रमाइलो नहोला । मैले तराई झरेपछि गाउँघरलाई चट्टै माया मारेको छैन । पंखाको हावा खाँदा, पिङ मच्चाउँदा चिसो हावा शरीरभित्र पसेर काउकुति लागेको कुरा यतिबेला म कोठाभित्र बसेर सम्झिरहेको छु । त्यहाँ सबैजनाको सहयोग र यहाँ एक्लै हुँदाको दुःख सम्झन्छु । त्यो त पहाड थियो । यो त तराई हो । त्यो त गाउँ थियो । तर, यो त सहर हो । मेरो गाउँमा जस्तो यहाँका छिमेकीले सहयोग गर्न जानेका छैनन् । खबर सोध्न जानेका छैन । यहाँ एउटा कोठामा बस्नेले अर्को कोठाको मान्छे चिनेको छैन । वल्लो घरकोले पल्लो घरको मान्छे चिन्दैन । अनि यहाँ कसरी आउँछ दशैँ ? त्यो दशैँ र यो दशैँमा कति धेरै भिन्नता आएछ । जस्तो भए पनि दशैँ त मनाउनै पर्छ । तपाईंहरु सम्पूर्णमा दशैँको मंगलमय शुभकामना ।


























