बडादशैं र आशीर्वाद

९ कार्तिक २०७७, आईतवार मा प्रकाशित

आचार्य सोमनाथ गौतम

हाम्रा विभिन्न महिना, बार, तिथिका आ आफ्ना विशेषताहरु रहेका छन् । हाम्रो नेपाली समाजमा असोज महिनाको शुक्लपक्ष प्रतिपदादेखि पूर्णिमा सम्म मनाइने चाडलाई वडादशैं भनिन्छ । उक्त प्रतिपदाका दिन घटस्थापना गरी नवमीसम्म नवदुर्गा भवानीको धुमधामसँगले पूजा आराधना गरी दशमीको दिन मान्यजनबाट निधार भरी टीका लगाई आशीर्वाद लिने सुन्दर परम्परा छ ।

सत्ययुगमा दुष्ट महिसासुरले तपस्याबाट प्राप्त वरदानको दुरुपयोग गरी मानव, दानव, यक्ष, किन्नर, देवता लगायत समग्र प्रकृति समेत आफ्नो वसमा नियन्त्रण गरी आतङ्क मच्चाएको थियो । महिसासुरको वैश्विक पीडाले सन्तप्त भएर एकत्र भएका देवताहरुका शरीरबाट प्रकट भएकी भगवती जगज्जननी दुर्गा देवीले त्यस महिसासुरलाई विनास गरी संसारलाई स्वस्थ बनाएको दिन विजय उत्सवका रुपमा भगवतीको प्रसादका रुपमा टीका ग्रहण गरी मान्यजनबाट आशीर्वाद लिइने गरिन्छ । यो हामी नेपालीहरुको पूर्वीय सभ्यता सम्बद्ध समुच्च आदर्श पनि हो ।

 

महिसासुर खराव प्रवृत्तिको प्रतिनिधि पात्र हो । मानव भित्रको खराव प्रवृत्तिले मानवलाई नै सताइरहेको हुन्छ । व्यक्ति व्यक्तिमा रहेको खराव प्रवृत्तिले समाज समग्र राष्ट्र र विश्वलाई नै सन्त्रस्त बनाइदिन्छ । मानव सभ्यतालाई नै सन्त्रस्त बनाउने खराव प्रवृत्तिको नाम नै शुम्भ निशुम्भ र महिसासुर हुन् भनी बुज्नुपर्छ ।

दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च ।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् ।। (भगवद्गीता १६/५)
आफूसँग ज्ञान, क्षमता नहुदा नहुदै पनि मान, सम्मान र ख्याति प्राप्त गर्न लोलुप रही अन्याय र बल प्रयोग गर्नु दम्भ हो । धन वैभव,जमीन, दोकान,महल गाडी र आफूसँग भएका अन्य सामाग्रीहरु आफ्ना साधनका रुपमा प्रयोग गर्नु भन्दा बडप्पनका लागि प्रयोग गर्नु दर्प हो ।

आफूसँग भएको धन, जन र स्वरुपमा समुच्च गर्भ गर्दै अरुलाई हर क्षेत्रमा अपमानित दृष्टिले हेर्नु अभिमान हो । जलनात्मक प्रवृत्ति क्रोध हो । कठोरताको नाम पारुष्य हो । यस गुणले नै हत्या, हिंसा, चोरी, डकैती,बलात्कार जस्ता अमानवीय कार्य गराउदछ ।

गर्ने र नगर्ने व्यवहार सामाजिक, धार्मिक र मानवीय मूल्य मान्यताका दृष्टिले छुट्याउने क्षमता विशेषको नाम विवेक हो । विवेक नहुनु अज्ञान हो । यी सबै आसुरी गुण हुन् । यी सबै गुणले मानव सभ्यतालाई संरक्षण होइन भक्षण गर्छ । यस्ता अमानवीय गुणको समष्टि रुप नै महिसासुर हो ।

उपर्युक्त आसुरी गुणले सताएपछि सत्ययुगमा देवताहरुले विचार विमर्षण सभा गरेका थिए । त्यस सभामा महिसासुर प्रवृत्तिको निवृत्ति कसरी होला भन्ने विषयमा छलफल चलिरहेको थियो । त्यति खेरै सवैका शरीरबाट तेज प्रकट भयो । निर्गतं सुमहत्तेजस्तच्चैक्यं समगच्छत ।। (शप्तशती २/११)

महिषासुरले नारीलाई बल नभएका अबला ठानेर अरुबाट नमर्ने केवल मारे पनि नारीले मात्र मारुन् भनि ब्रह्मासँग पहिले नै वरदान प्राप्त गरिसकेकाले आखिर देवसभामा उपस्थित सवैका शरीरबाट निष्किएको तेज नारीका रुपमा परिणत हुन पुग्यो । अनि नारीलाई निकम्बा केबल भोग्या मात्र सम्झने आसुरी शक्तिलाई विनाश गरी नारी अबला होइनन् बरु सृष्टिकी समुच्च शक्ति हुन् भन्ने बुजाउनु पनि थियो ।

त्यसैले सबै देवता मानवहरुबाट निष्किएको शक्ति नारीको रुपमा परिणत भयो । एकस्थं तदभून्नारी व्याप्तलोकत्रयं त्विषा ।। ( शप्तशती २/१३) ती नारी नै समस्त शक्तिस्वरुपा नवदुर्गाका रुपमा स्थापित भइन् । त्यसपछि सम्पूर्ण मानव देवताहरुको हितका लागि महिसासुर राक्षसलाई विनाश गरेर मानव सभ्यताको रक्षा गरी नारीलाई अबला सम्झने आसुरी सोचलाई समेत परिवर्तन गरेकी थिइन् भन्ने प्रसङ्ग पुराणहरुमा पाइन्छ ।

यसरी भगवती देवीले असुरहरुलाई विनाश गरी देवत्वको संरक्षण गरेर मानव सभ्यताको विजय भएको दिन नै आश्विन शुक्लपक्ष दशमीको दिन भएकाले यस दिन विजय उत्सव मनाउने चलन चलि आएको हो । शरत्ऋतुमा नवदुर्गाको पूजन यजन गर्नाले मानव सबै किसिमका बाधा व्यवधान बाट मुक्त हुनेछ । अनि धन दौलतले सम्पन्न, सुसन्ततिले युक्त हुने कुरा स्वयं भगवती दुर्गा देवीले देवताहरुलाई बताएकी छिन् ।
शरत्काले महापूजा क्रियते या च वार्षिकी । तस्यां ममैतन्माहात्म्यं श्रुत्वा भक्तिसमन्वितः ।।
सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वितः । मनुष्यो मत्प्रसादेन भविष्यति न संशयः ।।
( शप्तशती दुर्गा १२/१२, १३)
त्यस कारणले आश्विन शुक्लपक्ष प्रतिपदादेखि नौं दिन सम्म प्रतिदिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा आदि नवदुर्गाको पूजन अर्चन गरी दशमीको दिनदेखि कोजाग्रत पूर्णिमा सम्म गुरुजन र मान्यजन बाट नवदुर्गा भगवतीको प्रसादका रुपमा टीका आशीर्वाद ग्रहण गर्ने परम्परा शास्त्र सम्मत् सनातन परम्परा हो ।

यसै परम्परा विशेषलाई नै हाम्रो नेपाली समाजमा वडादसैंका नामले चिनिदै आएको छ । यो वडादसैं बाल बालिकादेखि वृद्ध वृद्धासम्म सबैको हर्ष एवम् उमङ्गको चाड हो ।

तर आजको सन्दर्भमा भने कोरोना नामक भाइरसले मानव सभ्यतालाई नै चुनौति दिइरहेको अवस्थामा भने सदा झैं टोल टोलमा दुर्गा पूजा र उत्सव मनाउन सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले असमर्थ भएपनि उत्साहलाई नघटाइ कोरोनारुपि सूक्ष्म असुर विनास गर्न आ आफ्नो घरमा नवदुर्गा भगवतीको सेवा आराधना गर्नु अवस्था अनुरुप बुद्धिमानी सावित हुन्छ ।

बडादशैंमा मान्यजनबाट लिइने आशीर्वाद महाभारतीय सन्दर्भ युक्त विम्बात्मक प्रचलित पद्य निम्न अनुसार रहेको छ ।
आयुद्र्राेणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे
ऐशवर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलञ्च हलधरे सत्यञ्च कुन्तिसुते
विज्ञानं विदुरे प्रभवतु भवतां कीर्तिश्च नारायणे ।।
यस पद्यमा दश प्रकारका भिन्न भिन्न गुणले युक्त पात्रहरुलाई बिम्ब वनाइ आशीर्वाद प्रदान गरिएको छ । बडादशैंको टीका नवदुर्गाको प्रत्येक दिन अलग अलग नौं ओटी देवीको पूजन सम्पन्न गरी दशौं दशमीको दिन टीका लगाइने र दश ओटा सकरात्मक प्रवृत्तिले सम्पन्न आशीर्वाद प्रदान गरिने भएकाले यस चाडलाई बडादशैं भनिएको हो ।

उक्त दश ओटा गुणहरुले युक्त बन्न सके मानव संसारकै उत्कृष्ट असल मानव बन्न सक्ने भएकाले यस पद्यको गहन अर्थगत भावको स्मरण गर्दै बडादशैंमा आशीर्वाद दिने र लिने गरिएको छ ।

अब यस पद्यको भावलाई छोटकरीमा विश्लेषण व्याख्या तल गरिएको छ ।

आयुद्र्राेणसुते= द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो चीरञ्जीवी आयु होस् । द्रोणाचार्य वेदवेदाङ्गमा पारङ्गत एवम् शस्त्र अस्त्र र धनुर्विद्याका निष्णात आचार्य हुन् । उनका एकमात्र छोरा अश्वत्थामा आयुमा चिरञ्जीवी भएकाले नरसंहारकारी महाभारतको युद्धमा दुर्योधनको पक्षबाट युद्ध गरे पनि जीवित रहेका र आज पनि अष्ट चिरञ्जीवीमा पर्ने एक कालजयी पात्र हुन् ।

यस आशीर्वादमा यिनको जस्तै आयु होस् भन्नुको तात्पर्य समाज, राष्ट्र र विश्वमा सकरात्मक कार्य गरेर शतवार्षिकी आयुलाई कीर्तिर्यस्य स जीवति भने झै रोग, शोक, भय, अभाव रहित भएर लोककल्याणकारी कार्य गरी पूर्णायु हुदै कीर्तिको माध्यमले सदैव बाचि रहनु भन्ने आशयलाई प्रकट गरेको छ ।

श्रियं दशरथे = राजा दशरथको जस्तो ऐश्वर्य होस् । जसको घरमा स्वयं भगवान् रामले अवतार लिनुभएको थियो। विष्णुकी पत्नी, धनकी अधिष्ठात्री लक्ष्मीको वास जहा हुन्छ त्यस गृहस्थको घरमा सुख सयल हुन्छ । एकै ठाउ वसीरहन नसक्ने चञ्चला चपला लक्ष्मी जहा भगवान् विष्णुको वास हुन्छ त्यहा स्थिर भएर वसिरहने स्वभाव भएकी लक्ष्मी राजा दशरथको घरमा स्थिर भएर सीताको रुपमा वसेकी थिइन् । किनकी भगवान् विष्णु नै राम भएर दशरथ पुत्र बनेका थिए ।

यतः दशरथको जस्तै ऐश्वर्य होस् भन्नुले तिम्रो घरमा धन दौलतको कमी कहिल्यै नहोस् । अनि मान प्रतिष्ठा र सामाजिक सद्भाव नटुटोस् भन्ने आशयलाई प्रकट गरेको छ ।

शत्रुक्षयं राघवे= रामको जस्तै शत्रु विनाश हुन् । समय सम्पत्ति र सक्तिको दुरुपयोग गरी विश्वलाई आफ्नो बसमा राख्ने, मानवलाई मानवीय मूल्य चटक्क भुलेर दास अनि फगत साधनको रुपमा प्रयोग गर्न चाहने आसुरी स्वभाव भएका खर, दूषण एवम् रावण जस्ता असुरलाई रामले विनाश गरी मानव मात्रको कल्याण गर्नुभएको थियो । अनि शत्रुरहित रामराज्य सञ्चालन गर्नु भएको थियो ।

रामका जस्तै तिम्रा शत्रु क्षय हुन् भन्नुले राम्रो काम गर्दागर्दै ईश्या डाह र आततायी शैलीले कोही तिम्रा सत्सङ्कल्प बाधक शत्रु हुनपुगे भने ती सबै विनाश भएर जाउन् । तिम्रो सत्सङ्कल्पमा बाधा न होस् भन्ने आशय हो ।

ऐश्वर्यं नहुषे = नहुष राजाको जस्तो ऐश्वर्य होस् । यी चन्द्रवंशी राजा नहुष जिउदै स्वर्ग गएका राजा हुन् । पृथ्वीको सारा ऐश्यर्य भोग गरेका राजा नहुषले स्वर्गको सुख सुविधा समेत पार्थिव शरीरले नै भोग गरेका थिए भन्ने कथा पुराणहरुमा पाइन्छ । तिमीलाई पनि यस लोकमा भएका सुख सुविधा र परलोकमा भएका दिव्य भोग सबै प्राप्त हुन् भन्ने आशय यस कथनले प्रकट गरेको देखिन्छ ।

गतिश्च पवने= हावाको जस्तो गति होस् ,भन्नुले हावा गतिशील हुन्छ । हावा एकै ठाउँ बसिरहदैन । अघि वडिरहदा फूलवारीमा पुगे सुगन्धित बन्छ, फोहोरमा पुगे दुर्गन्धित बन्छ, पानी अथवा शीतमा पुगे चिसो बन्छ,गर्मिमा पुगे तातो बन्छ । यसरी हावाको समय स्थान र अवस्था अनुरुप सबैले पहिचान गरे पनि उसले आफ्नो यथार्थ स्वरुपलाई नछोडी गतिशील रहन्छ ।

त्यस्तै तिमीमा देशकाल समय, सन्दर्भ र परिस्थिति अनुरुप परिवर्तित गतिशीलतालाई स्वीकार गर तर स्वभाविक यथार्थतालाई नवदल भन्ने सरल एवम् गहन आशीर्वाद यस शब्दावलीले प्रदान गरेको छ ।

मानञ्च दुर्योधने= तिम्रो मान सम्मान भने दुर्योधनको जस्तो होस् । यो दुर्योधन महाभारतको खलपात्र हो । पाण्डवहरुलाई लाक्षाभवनमा दहन गरे पश्चात् ऊ हस्तिनापुरको कार्यकारी राजकुमार भएको थियो । कर्णले दिग्विजय गरे पश्चात् दुर्योधनलाई भारत वर्र्षीय राजा रजौटाहरुले अत्यन्त ठूलो मान सम्मान गरेका थिए ।

तिमीलाई पनि दुर्योदनलाई गरे झैं सबैले मान सम्मान गरुन् तर अभिमान र प्रवृत्ति दुर्योधनको जस्तो न होस् भन्ने नकरात्मक गुणको निषेध र सामाजिक सकरात्मक सद्भावमूलक गुण चाहि होस् भन्ने विधिभाव यस आशीर्वचनमा व्यक्त भएको छ ।
दानं सूर्यसुते = तिमी सूर्यपुत्र कर्ण जस्तै दानी बन । महाभारतीय कर्ण सूर्यपुत्र वीर योद्धा हुन् । यी अत्यन्त दानी थिए । भगवान् श्रीकृष्णले एकदिन परीक्षा गर्न एउटा सन्तको स्वरुप वनाई क्रमैले दुर्योधन युधिष्ठिर र कर्णको घरमा पालै पालो जानुभएछ ।

सर्व प्रथम युधिष्ठिरले सन्तको स्वागत गरिसकेपछि भोजन गर्न आग्रह गरे तर म आफै पकाएर खान्छु, त्यो पनि श्रीखण्डका दाउराले पकाएको मात्र खान्छु । सन्तको यस्तो अभिव्यक्तिले युधिष्ठिर भोजन गराउन असमर्थ भए । दुर्योधनले पनि यो प्रस्ताव पुरा गरेर सन्तलाई भोजन गराउन सकेनन् । अन्त्यमा सन्त कर्णकहाँ पुगे । कर्णले स्वागत र सम्मान गरिसकेपछि सन्तलाई भोजनका लागि आग्रह गर्दा उनले भोजनका विषयमा पहिलेकै स्वयंपाक र श्रीखण्डका दाउराको प्रस्ताव राखे ।

यस्तो प्रस्तावले दुर्योधन र युधिष्ठिरलाई त खिन्न बनाएको थियो तर कर्ण खुसि भए । उनको मूलढोकाको चौकट श्रीखण्डको थियो । उनले हत्तपत्त चौकट बन्चराले काट्न थाले । सन्तले यसो नगर कर्ण ! भन्दा कर्णले भने यो ढोका त भरे बनाए पनि हुन्छ तर उचित पात्रलाई दान गर्ने अवसर जहिल्यै कहाँ पाइन्छ र ? यति भन्दै उनले प्रेमपूर्वक अतिथि भोजन गराए । यद्यपि युधिष्ठिर र दुर्योधनका घरको मूलढोकामा पनि श्रीखण्डकै चौकट थियो । तर उनीहरुले यो हिम्मत गर्न सकेका थिएनन् ।

श्रीकृष्णले लिएको दानवीरको परीक्षामा कर्ण अव्वल सावित भएका थिए । त्यसैले देशे काले च पात्रे च तद्दानं सात्विकं स्मृतम् ।। (गीता १७ /२०) देश काल र उचित पात्र मिलेको समयमा दान गर्न सक्षम,समर्थशाली वन । धनी त धेरै हुन्छन् तर दीन दुःखीको सेवा र दिल खोलेर दान गर्ने मानव थोरै हुन्छन् । तिमी दिन दुःखीको सेवा गर र दानवीर बन, भन्ने आशय उपर्युक्त शब्दावलीले प्रकट गरेको छ ।

बलं हलधरे= बलराम जस्तै बलशाली बन । बलराम शेषको अवतार हो । उनी बलशाली थिए । बलरामले हलोले तानेको खण्डमा पृथ्वी समेत तान्न सक्दथे । त्यसैले तिमी बलमा बलराम जस्तै बलशाली बन भन्ने भाव प्रस्तुत पद्यावलीमा प्रकट भएको छ ।

सत्यञ्च कुन्तिसुते= कुन्तिपुत्र युधिष्ठिर जस्तै सत्यबादी बन । युष्ठिरले कहिल्यै असत्य बोलेको प्रमाण छैन । महाभारतको युद्धमा गुरु द्रोणचार्यले छोरा अश्वत्थामाको मृत्यु भए युद्ध नगर्ने प्रतिज्ञा गरेका थिए । भीमले अशवत्थामा नामक हातीको मृत्यु भएको कुरा द्रोणाचार्यलाई सुनाए तर उनले म अरुको विश्वास गर्दिन, सत्यवादी युद्धिष्ठिरले भने मात्र विश्वार गर्नेछु भनें । पछि अश्वत्थामा बलवान् हात्तीको मृत्यु भएको कुरा सुनाउन श्रीकृष्णले युधिष्ठिरलाई आग्रह गरेका थिए ।

युधिष्ठिरले आफ्ना गुरुलाई सत्य बताउनुपर्छ भनेर नरो वा कुञ्जरो वा अश्वत्थामा हतो हतः ।( महाभारत ) मान्छे हो कि हात्ती हो तर अश्वत्थामा मर्यो । युधिष्ठिरको यो कथनले द्रोणाचार्यले युद्धविराम गरे, आखिर मृत्यु पनि भयो । मान्छे हो कि हाती हो भन्ने सन्देहात्मक वाणीले युधिष्ठिरलाई असत्यको दोष लागी संसार छोडेर जाँदा एक दिन नरक जानुपरेको प्रमाण छ । नत्र जीवनमा युधिष्ठिरले कहिल्यै झुटो बोलेनन् ।

त्यसैले तिमी पनि कुन्तिपुत्र युधिष्ठिर जस्तो सत्य वक्ता बन, झुटो नबोल भन्ने भाव यस आशीर्वचनमा प्रकट भएको छ ।
विज्ञानं विदूरे= ज्ञान विज्ञान विदुरमा भए झैं होस् । महाँभारतका विदूर अत्यन्त चतुर ज्ञानी हुन् । ज्ञानको गहन रहस्य र व्यवहारिक अथवा प्रयोगात्मक पक्ष नै विज्ञान हो । ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने सन्दर्भमा तत्कालीन समयको पाण्डवलाई लाक्षाभवनबाट संरक्षण गर्ने सन्दर्भ र अन्य धेरै सन्दर्भमा विदूरले खेलेको भूमिकाको अध्ययन गर्दा विदूर वास्तवमा चतुर ज्ञानीका रुपमा चिनिन्छन् । विदूरको जस्तो ज्ञानलाई आदर्श मात्र नभई व्यवहारमा प्रयोग गर्न सक्षम हुनु भन्ने आशीर्वचन प्रस्तुत पद्यांशले प्रष्ट पारेको छ ।

कीर्तिश्च नारायणे= भगवान् नारायण को जस्तै चौधैं भुवनमा तिम्रो कीर्ति पताका फैलाओस् ।
यसरी हेर्दा यी आशीर्वादले ध्वनन गर्ने अर्थ धेरै गहन र रहस्यात्मक रहेको छ ।

निष्कर्षमा आश्विन शुक्लपक्ष प्रतिपदादेखि नवमी सम्म शक्तिकी अधिष्ठात्री देवी नवदुर्गा भवानीको उपासना गर्ने र रक्तवीज भएर युगौंयुग वाँचीरहने दुष्ट महिषासुर प्रवृत्तिलाई विनाश गरी विजय उत्सवका रुपमा दशमी तिथिलाई धुमधाम सँग मनाउने प्रचलन रहेकाले यस दिनलाई विजय दशमी भनेर चिनिन्छ ।

यस दिनबाट कोजाग्रत पूर्णिमा सम्म पाँच दिन मान्यजनबाट टीका लगाई आशीर्वाद लिने हाम्रो सुन्दर परम्परा रहेको छ । टीका लगाउदा माथि उल्लेखित पद्यको माध्यमले आशीर्वाद प्रदान गर्ने गरिएको छ । कतिले कुनै विश्लेषण नै नगरी यो आशीर्वाद पुरानो भयो भन्ने अभिव्यक्ति दिएको पनि पाइन्छ ।

तर हाम्रा कालजयी परम्परा, सामाजिक शैली, साँस्कृतिक र धार्मिक व्यवहार अनुकरणीय छन् । आहार, व्यवहार र आचरणमा मानवले सावधानी न अपनाउदा आज कोरोना जस्तो महामारीले मानवीय अस्तित्वमाथि नै धावा बोलिरहेको छ ।

त्यसैले हाम्रा परम्परालाई गहन विश्लेषण गरी बुझ्न र अपनाउन आवश्यक छ । घरदैलोमा आएको बडादशैेंमा भगवती नवदुर्गाको कृपाप्रसादद्वारा सबैमा उत्साह उमङ्ग साहस र धैर्यको वृद्धि होस् । वैश्विक महामारी कोरोना भाइरसबाट बच्न सावधानी पूर्वक मान्यजनबाट आशीर्वाद ग्रहण गरौं ।

स्वस्थ,मस्त र व्यस्त रहौं, सबै इष्ट, मित्र, शुभचिन्तक एवम् सम्पूर्ण नेपाली मनलाई दश औंला जोडेर २०७७ को बडादशैंको मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here