५ जनाले जिते कोरोना, ३ जना होम आइसोलेसनमा

0
385

झापा ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा लाखौंले ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय अग्रस्थानमा खटिएर सूचना प्रवाह गर्ने पत्रकारसमेत संक्रमित हुने क्रम बढेको छ ।

झापामा मात्रै आठ जना पत्रकार कोरोना संक्रमित भएका छन् । जस मध्ये पाँच जनाले कोरोना जितेका छन् । कोरोना जित्ने सञ्चारकर्मीहरुमा दयाराम दाहाल (सुलभ), भूपाल लुइटेल, रमेश तिवारी,केशव भट्टराई र जीएन शर्मा रहेका छन् ।

हाल तीन जना पत्रकार होम आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमण देखिएपछि पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, कान्तिपुर टीेभीका झापा संवाददाता गणेशमान मुखिया र पाथीभरा एफएमका समाचार प्रमुख लोकनाथ रिजाल होम आइसोलेसनमा रहेका छन् ।

उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकसंग परामर्श गरिरहेको बताइएको छ । सापकोटा झापाको शिवसताक्षीस्थित मूल घर, मुखिया बिर्तामोडस्थित घर र रिजाल मोरङस्थित घरमा रहेका छन् ।

पछिल्लो समय झापासहित देशभर कोरोनाको संक्रमण दर बढ्दै गएको छ । कोरोना जितेका पत्रकारहरुले आत्मबल बलियो बनाउन र आफ्नो स्वास्थ्यको ख्याल गर्न सबैमा आग्रह गरेका छन् ।

यसैबीच पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरीले अग्रस्थानमा खटिने संञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । उनले संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रदेश १ मा हालसम्म ७० जना सञ्चारकर्मी संक्रमित भएको पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेलले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here