नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर स्पष्ट व्यवस्था गरेको छ । तर, संविधानमा उल्लेख गरिएको कुरा व्यवहारमा लागू हुन सकेको छैन । नेपाल सरकारको प्राथमिकताका बाबजुद नेपालमा आधारभूत स्वास्थ्य सेवाको स्थिति राम्रो छैन । पछिल्लो समय सरकारले सर्वसाधारणको स्वास्थ्य बीमासम्बन्धी योजनाले रोगको उपचार गर्न अक्षम सर्वसाधारणले घरमै पीडा सहेर बस्नुभन्दा थोरै रकमको बीमामै कतिपय रोगको उपचार कम रकम वा सित्तैमा गर्न सक्ने आशा चाहिँ दिलाएको हो ।

नेपाल स–साना स्वास्थ्य सेवाका समस्यामा जुझिरहेको छ, तर संसार भने अति आधुनिक प्रविधिको प्रयोगले विष्मयकारी सफलता हात पार्दै गएको छ स्वास्थ्य क्षेत्रमा । विकसित देशहरुले उपचारको सहजतासँगै दुःसाध्य रोगलाई दूर गरेका छन् । तिनीहरु नवीनतम् खोजमा व्यस्त छन् भने नेपालमा सर्वसाधारण स–साना भनिने रोगहरुबाट मृत्युको मुखमा पुगिरहेका छन् । खोप कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुग्नु, स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि हुनु, सरकारी तथा गैरसरकारी संस्थाको सकारात्मक भूमिका लगायतका कारणले अवस्थामा सुधार हुँदै गए पनि आशातित प्रगति भएको छैन । समाज हुने खाने र हुँदा खानेमा विभक्त छ । हुने खानेहरु, पहुँचवाला र सम्पत्तिवालाहरुका लागि महंगा अस्पताल छन् । स्वदेशमा उपचार सम्भव नभए विदेशका महंगा अस्पतालमा उपचार गर्ने उनीहरुको क्षमता छ । राज्यकोषको दोहन गरेरै भए पनि राजनीतिक नेतृत्व, उच्च पदस्थ कर्मचारी, ठूला पूँजीपतिहरु महंगा अस्पतालमा उपचार गर्छन् । तर, बिहान के खाउँ, बेलुका के खाउँ समस्याका भुइँमान्छेहरु रोग लागेपछि बाँचिने आशा मार्न अभिषप्त छन् । जनताको स्वास्थ्यको जिम्मा राज्यले कहिले लिने हो ? यो प्रश्न अनुत्तरित रहँदै आएको छ ।
जनस्वास्थ्यको अवस्था र आम नागरिकको स्वास्थ्य स्थिति सुधारका लागि नीतिगत योजना निर्माणमा राज्य लाग्न आवश्यक छ । सानो अर्थतन्त्रको मुलुक भएर पनि र ठूला देशहरुको दबाबको सामुन्ने क्युबा स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति गरेको मुलुकमा पर्दछ । कोभिड–१९ को महामारीसँग जुध्न क्युबाली स्वास्थ्यकर्मीले संसारका विभिन्न मुलुकमा अति प्रशंसनीय भूमिका खेले । राज्यको सकारात्मक नीति र राजनेताको प्रबल इच्छाशक्ति कै कारण क्युबाले स्वास्थ्य क्षेत्रमा यति ठूलो प्रगति गर्न सकेको हो । हाम्रो पहिलो अर्जुनदृष्टि आधारभूत स्वास्थ्य सेवामा केन्द्रित हुन जरुरी छ । राज्यको नीति स्पष्ट भएमा मात्र मुलुकले दिशाबोध गर्ने हो । आधारभूत सार्वजनिक शिक्षा र स्वास्थ्यलाई सुधार्न सके हाम्रो देश समृद्ध हुन समय लाग्दैन । संविधानले दिशानिर्देश गरेको मार्गमा राज्यले आफ्ना संकल्प र योजनाहरु निर्माण गर्न जरुरी छ ।




























