पत्रकारिता पढेका शाहरुख कसरी बने बलिउड बादशाह ?

0
776

बलिउड बादशाह शाहरुख खानले सोमबार (आज) आफ्नो ५५औं जन्मदिन मनाउँदैछन् । विश्वभर छरिएर रहेका करोडौँ फ्यान पनि शाहरुखको जन्मदिनमा विभिन्न शैलीमा रमाउँछन् । दुवईस्थित विश्वको सबैभन्दा अग्लो टावर बुर्ज खलिफाबाट पनि शाहरुखलाई जन्मदिनको शुभकामना दिइने गरिन्छ ।

यस्तो छ शाहरुखको विगत

५४ वर्षअघि दिल्लीमा जन्मिएका हुन् उनी । सन् १९६५ मा एउटा गरिब परिवारमा जन्मिएका उनको नाम मावलकी हजुरआमाले अब्दुल रहमान राखिदिएकी थिइन् । पछि बुबाले शाहरुख खान नाम दिए । शाहरुखलाई सानैदेखि आर्मी हुने रहर थियो । क्रिकेट, फुटबल, हक्की जस्ता खेलकुदमा पनि उत्ति नै लगाव । आर्मी स्कूलमा खेल्न पाइन्छ भनेर उनले एड्मिसन पनि गरे । तर, आर्मी स्कूलमा जाँदा कपाल काट्नुपर्छ भनेपछि उनी ब्याक सरे । उनी सानैदेखि कपाल लामो राख्न मन पराउँथे । पछि आमाले पनि आर्मी स्कूल नजानु भनिन् ।

शाहरुखलाई बुबाले कहिल्यै केही बन्नु भनेनन् । बाबुले कवितात्मक शैलीमा शाहरुखलाई भन्थे– ‘केही काम गर्नु । काम नगरे पनि ठिकै छ । किनकि जो केही गर्दैन, उसले कुनै दिन कमाल गरेर देखाउँछ । जे कुरामा दिल खुशी छ, त्यो बन्नु ।’ बाबु–छोरा साथी जस्ता थिए ।

जब बाबु–आमा दुबै बिते…

शाहरुख १५ वर्षको छँदा बुबा ताज मोहम्मद खानको मृत्यु भयो । उनलाई क्यान्सर थियो । केही वर्षपछि आमा पनि बिरामी भइन् । आमा बिरामी हुँदा शाहरुख छेउमा जान्थे र मन दुखाउने खालका कुरा गर्थे । बाबुले जस्तै आमाले पनि छोडेर नजाउन् भनेर शाहरुख भन्थे– ‘हामीलाई छाडेर नजानु, तपाई जानुभयो भने म पढ्दिनँ, बहिनीको पनि ख्याल गर्दिनँ ।’ तर, आमालाई छोराप्रति विश्वास थियो । बाबु बितेको १० वर्षपछि आमा लतिफ फातिमा खान पनि बितिन् । बाबुआमा बिते पनि शाहरुखले खुब पढे । साइन्स र इकोनोमिक्स पढेका उनले मास्टर्समा पत्रकारिता (मास कम्युनिकेशन) पढे । तर, उनी डिग्री होल्डर भने होइनन् ।

कलाकार बन्न मनै थिएन

कमैलाई थाहा छ, शाहरुखलाई एक्टर बन्न पटक्कै मन थिएन । उनलाई फिल्म क्षेत्रमा आउँछु भन्ने लाग्दैन थियो कहिल्यै । सन् १९९१ मा उनले एउटा टिभी सिरियलमा काम गरे । फुटबल खेल्दा चोट लागेपछि उनी थिएटर जान थालेका थिए । केही डान्सरको रोल पनि गरे ।

फिल्म खेल्न भन्दै शाहरुखलाई एकदिन मुम्बईबाट हेमा मालिनीको फोन आयो । शाहरुखलाई विश्वास नै लागेन । ‘फिल्ममा रहर छैन’ भनिदिए । आमा बितेपछि शाहरुख एक सालका लागि भन्दै मुम्बई गए । मुम्बईमा उनी टिभीमा काम गर्दै थिए, फिल्मको अफर आइरहयो । तर, उनले मानेनन् । आफू राम्रो छुइनँ, अभिनय पनि आउँदैन भन्ने लाग्थ्यो उनलाई ।

एकै दिन पाँच फिल्ममा साइन

एक दिन हेमा मालिनीले ‘तिम्रो नाक राम्रो छ’ भन्दै फिल्ममा लिएरै छाडिन् । भाग्य पनि कस्तो ! त्यही दिन शाहरुखले पाँचवटा फिल्ममा साइन गरेर आफ्नो करियर शुरु गरे । उनको पहिलो चलचित्र ‘दिवाना’ हो । जुन आजभन्दा २८ वर्षअघि बनेको थियो । एक वर्षसम्म काम गरेर दिल्ली फर्किन्छु भनेका शाहरुख आजसम्म मुम्बईमै छन् । पहिलो पटक मुम्बइ जाँदा दिल्ली फर्किने पैसा थिएन शाहरुखसँग । ‘यो सहरले मलाई साह्रै दुःख दियो, एकदिन म मुम्बइ नै किनिदन्छु’ भनेका थिए उनले रिसको झ्वाँकमा । यो कुरा उनले बलिउड कलाकार अनुपम खेरसँगको अन्तरवार्तामा बताएका छन् । आज शाहरुख वास्तवमै मुम्बईमा बसेर बलिउडमा राज गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here