शब्दचित्रमा परशुराम बा

0
782

माता भद्रिका र पिता मधुसुधन ढकालका चार छोरामध्ये माइला छोरा भई १९७९ साल असार १८ गते ताप्लेजुङको हाङदेवा कटहरेमा परशुराम ढकालको जन्म भएको हो । डाँडा, पाखा, कान्लामा खेल्दै हुर्कँदै उहाँले स्वःअध्ययनमार्फत शिक्षालाई अघि बढाएर नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल राख्नु भयो । १८ वर्षको उमेरमा १९९७ साल फागुनमा ताप्लेजुङकै तिरतिरे निवासी तुलसा खतिवडासँग वैवाहिक सम्बन्ध गाँसेर उहाँहरु करिब तीन वर्ष जन्मथलोमै रहनुभयो ।
तत्कालीन आवश्यकता, भविष्यप्रतिको दीगो सोचका साथ २००१ सालमा जन्मथलो छाडेर उहाँहरु झापाको धाइजनमा बसाई आउनुभयो । परिस्थिति र आवश्यकतालाई मध्यनजर गरी सहरेडाँगी, खोपवाडी, बिर्ताबजार, अर्जुनधारामा समेत विभिन्न समय खेती किसानी गर्दै सपरिवार बसोबास गरी पछि बिर्तामोडबासी बन्न आइपुग्नु भयो ।

समाजसेवी, दानवीर, धार्मिक व्यक्तित्वका रुपमा परिचित परशुराम बुबाले आफ्नो परिचय आफ्नै कर्मद्वारा स्थापित गर्नु भएको इतिहास छ । २०१८ सालमा तत्कालीन किसान संघ झापाको उपसभापति, तत्कालीन शनिश्चरे गाउँपञ्चायतको वडाध्यक्ष समेत बन्नुभएको उहाँले शिक्षा क्षेत्रमा पनि आफ्नो समय र कमाई समर्पण गर्नुभएको छ । लक्ष्मी मावि लक्ष्मीपुर गोलधापको विद्यालय व्यवस्थापन समिति अध्यक्ष, देवी मावि बिर्तामोडको व्यवस्थापन समिति अध्यक्ष, महेन्द्ररत्न मावि बिर्ताबजारको व्यवस्थापन समिति सदस्य रहेर विभिन्न समयमा सेवा गर्नुभएका उहाँको धार्मिक क्षेत्रमा समेत उत्तिकै आस्था र लगाव रह्यो । सनातन धर्म सेवा समिति झापाको सल्लाहकार लगायत विभिन्न धार्मिक र सामाजिक संस्थामा संलग्न भएर÷नभएर पनि उहाँले समाज रुपान्तरणका लागि गर्नुभएको योगदान सबैमाझ छर्लङ्ग छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको संरक्षण र व्यवस्थापनमा सञ्चालित अतिथिसदन, शिव पञ्चायन मन्दिरसहितको वीरता जेसीजको कार्यालय भवन, वीरता लेडी जेसीज, मारवाडी सेवा समितिको कार्यालय भवन, शनि मन्दिर लगायतका संस्था र प्रतिष्ठानलाई भूमिदान गरी स्थापित हुन उहाँले सहयोग पु¥याउनु भयो । शैक्षिक तथा धार्मिक क्षेत्रका धेरैवटा संस्थालाई कोष स्थापना तथा त्यस्ता संस्था सञ्चालनका लागि आर्थिक सहयोग गर्नुभयो ।

परशुराम–तुलसा ढकालबाट सात जना सन्तानको जन्म भयो, छ जना छोरा र एकजना छोरी । छोरा–बुहारीहरुमा मदन–सावित्रा, मोहन–शीला, लक्ष्मण–दुर्गा, भरत–भगवती, अरुण–बिमला र सुरेश–तारा ढकाल हुनुहुन्छ भने छोरी–ज्वाइँ दुर्गा–भीष्म आचार्य हुनुहुन्छ । उहाँहरुका आफ्ना सन्तानका साथ सात नाति, १३ नातिनी, तीन पनाति, पाँच पनातिनी हुनुहुन्छ । उहाँका जेठा छोरा मदन ढकालले नेपाल र भारतमा नेपाली पत्रकारिता, भाषा र साहित्यको विकासमा पुर्याउनुभएको योगदान स्मरणीय छ । माइला छोरा मोहन बिर्तामोड उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष तथा नेपाल भारत मैत्री संघ बिर्तामोडको अध्यक्ष हुनुहुन्छ । ढकाल परिवारमा उहाँले नै व्यापार व्यवसाय शुरु गर्नुभएपछि अहिले परिवारका अरु सदस्य पनि व्यवसायमा स्थापित हँुदै हुनुहुन्छ । साइँला छोरा लक्ष्मण हाल पूर्वाञ्चल दैनिकको डेस्क सम्पादक हुनुहुन्छ । शिक्षण पेशाबाट सेवानिवृत्त उहाँले पत्रकारिता, नेपाली भाषा र साहित्यमा योगदान गरिरहनुभएको छ । काइँला छोरा भरत लेटर प्रविधिको विश्वदीप छापाखाना तथा घर गृहस्थीमा हुनुहुन्थ्यो भने अन्तरे अरुण अष्ट्रेलियामै रहेर व्यवसाय गर्नुहुन्छ । कान्छा सुरेश व्यवसायसँगै सहकारीकर्मी हुनुहुन्छ । सजिलो साकोसको अध्यक्ष हुनुहुन्छ उहाँ ।

जीवनयात्राका क्रममा २०६१ साल चैत १९ गते परशुराम बुबालाई जीवनमै ठूलो बज्रपात प¥यो । आफ्नी जीवनसंगिनी तुलसालाई उहाँले सदाका लागि भौतिक रुपमा गुमाउनु भयो । ७४ वर्षीया आफ्नी पत्नी बियोगको पीडाकाबीच आत्माबललाई दरिलो पार्दै उहाँ आफ्नो सामान्य दैनिकीमा फर्कनु भयो । विभिन्न समयक्रममा अकल्पनीय पीडा र घटना उहाँले सामना गर्नु भयो । २०६६ सालमा काँइला छोरा भरत, २०७४ मंसीर २३ मा जेठो छोरा मदन (पूर्वाञ्चल दैनिकका तत्कालीन प्रधान सम्पादक) को अकल्पनीय निधनले बुबा परशुरामलाई ठूलो चोट पुग्यो । २०७६ सालमा अन्तरी बुहारी बिमला पोखरेल ढकालको अकल्पनीय निधनले उहाँको जीवनमा अर्को चोट थपियो ।

कयौं चोट, पीडा सहँदै, समाजका लागि महत्वपूर्ण योगदान गर्दै परशुराम बुबाले आफ्नो जीवनयात्रालाई अगाडि बढाउने क्रम २०७७ साल कात्तिक ९ गते आइतवार बिहान १०ः१५ बजे समाप्त गर्नुभयो । बिर्तामोड मात्र होइन झापाकै एक जिउँदो इतिहासको रुपमा रहनुभएका उहाँले ९९ वर्षको उमेरमा आफ्नै निवास बिर्तामोड–५ मा बिनारोग भौतिक शरीर त्यागेर जीवनलीला समाप्त गर्नुभयो ।

सामाजिक कर्म, धार्मिक कार्य तथा विभिन्न व्यक्तिसँगको भेटघाट र घरमै रहँदा अध्ययनमा लगाएर आफूलाई उहाँले सदैव क्रियाशील राख्नु हुन्थ्यो । जीवनको अन्तिम पलहरुसम्म चस्मा समेत नलगाई उहाँ पत्रपत्रिका, पुस्तकहरु अध्ययन गर्नुहुन्थ्यो । उहाँको स्वस्थ जीवन, सक्रियता, अध्ययनशीलता, परोपकारी भावना समाजमा सबैलाई सत्कर्म गर्न प्रेरित गर्ने र अनुकरणीय छन् ।

सबैमाझ परशुराम बा (बुबा)ले परिचित रहेर आफ्नो परिवारको मात्र नभएर यस क्षेत्रकै अभिभावक आदरणीय परशुराम ढकालको निधनले सबैलाई स्तब्ध र मर्माहत बनाएको छ । परशुराम बाको भौतिक शरीर चिरबियोगको यस दुःखपूर्ण क्षणमा उहाँको दिवंगत आत्माले स्वर्गमा बास गरोस् भन्ने कामनासहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

(प्रधान सम्पादक एकराज गिरीले परिवारका सदस्यहरुसँगको कुराकानीका आधारमा तयार गरेको सामग्री )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here