मोरङ प्रहरीको ‘सेटिङ’ मा घरेलु मदिरा ओसारपसार

0
988

इटहरी ।

२०७६ माघ ५ गते सर्वोच्च अदालतको आदेशले जथाभावी घरेलु मदिराजन्य पदार्थको विकृती रोक्न सरकाका निकायलाई आदेश दियो ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जाँड रक्सीको मनपरी उत्पादन, विक्रीवितरणमा नियन्त्रण र अनुगमनमा कडाई गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएका थिए ।

त्यसपछि गृह मन्त्रालयहुदै यो प्रहरी मार्फत देशभर कडाई गर्न परिपत्र गरियो । तर सर्वोच्चले बर्जित गरेको कुरा मोरङमा भने खुलेआम घरेलु मदिरा उत्पादन भइ ओसारपसार हुने गरेको छ । मोरङको लक्ष्मीमार्ग, बेलबारी, लेटाङ, कानेपोखरी र पथरी घरेलु मदिरा उत्पादन हुने प्रमुख बजार मानिन्छ ।

यी ५ ठाँउबाट एकैदिन औसतमा ३ हजार लिटरसम्म अबैध घरेलु मदिरा उत्पादन हुनेगर्छ । यहाँ उत्पादन भएका मदिरा बिराटनगर, इटहरी, धरान लगायतका शहरमा खपत भइरहेका छन् ।  यी ठाँउमा अबैध रूपमा चलाइएका भट्टीबारे यकिन तथ्यांक नभए पनि प्रत्येक टोलमा ८÷१० परिवारले व्यवसायीक रुपमै घरेलु मदिरा उत्पादन गर्ने गरेका छन् ।

यसरी उत्पादन गरिएको मदिरा प्रहरीकै ‘सेटिङ’ मा ओसारपसार हुने गरेको छ । जसमा मदिरा ओसारपसार गर्नेहरुले प्रहरीलाई मासिक पैसा बुझाउने गर्छन ।  अहिले घरेलु मदिरा प्रति लिटर ६० देखि सय रुपैयासम्म खरिद बिक्री हुनेगर्छ । लक्ष्मीमार्ग, बेलबारी, लेटाङ, कानेपोखरी र पथरीबाट उत्पादन हुने दैनिक ३ हजार लिटर मदिराको मुल्य अन्दाजी दुई लाख बराबरको हुने गर्छ । दैनिक लाखौको कारोबार हुने मदिराबाट बिभिन्न इलाका र प्रहरी चौकीले मासिक ३० देखि ६० हजारसम्म महिनावारी लिने गरेका छन् ।

मोरङको बेलबारी, पथरी र लेटाङमा रहेको इलाका प्रहरी कार्यालयको इन्चार्ज बन्ने दौडधुप घरेलु मदिारको लाईनको पैसा कमाइ एउटा प्रमुख कारण मानिन्छ ।  यहाँ उत्पादन भएका मदिरा सबैभन्दा बढी खपत बिराटनगरमा हुने गर्छ । कुल उत्पादनको ७० प्रतिशत मदिरा बिराटनगरदेखि जोगवनी एरिया भित्रका होटलहरुमा पुराइन्छ । स्रोतका अनुसार बिराटनगरमा बिभिन्न बाटो हुदै दैनिक १५ सय लिटर घरेलु मदिरा सप्लाई हुने गरेको छ । चाडपर्वमा यसको खपत दोब्बर हुने गरेको छ ।

जसको लागी सेटिङ भएको प्रहरीको एरियाबाट दिउसै टेम्पो, सिटि सफारी, साइकल र मोटरसाइकल मार्फत मदिराका ‘भुल्डुङ’ बिराटनगर पुराइन्छ । कतिपय ठाँउमा मध्य बिहानै मदिरा ओसारपसार हुने गर्छ ।

बिराटनगरसम्म मदिरा सप्लाई गर्न बिभिन्न बाटो प्रयोग हुने गर्छन । अबैध मदिरा बढी बेलबारी क्षेत्रको कसेनी र बाहुनी मार्ग हुदै बिराटनगरको करसिया, जोगवनी, बिर्ताबजार र रंगेलीसम्म पुराइने गरिन्छ । पथरी क्षेत्रबाट उत्पादन भएका घरेलु मदिरा भने बिहानै पूर्वबाट बिराटनगर छुट्ने बस मार्फत बिराटनगर पुराइने गरिन्छ ।

मदिरा ओसारपसारको बिषयमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल अबैध मदिरा नियन्त्रणमा प्रहरी लागी परेको दाबी गर्छन ।  ‘प्रहरीको आखाँ छलेर ओसारपसार भएको हुन सक्छ’ ढकालले भने ‘बाँकी हामीले यस्ता मदिरा नियन्त्रणमा लिइ राजस्व बुझाउने र नष्ट गर्ने कार्य गरिरहेका छौ ।’

आफु बेलबारीमा हाजिर भएयता २२ सय लिटर र केही सबारी साधन राजस्वमा बुझाएको ढकाल बताउछन् ।
यता इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरी पनि कानेपोखरी र पथरीमा घरेलु मदिरा उत्पादन भएपनि ओसापसारको कार्यमा आफुले अत्यन्त कडा गरेको दाबी गर्छन । ‘जातिय र सास्कृतिक हिसाबले कोही कोहीले उत्पादन गरेका हुन्छन् र त्यो घरेलु रुपमै प्रयोग हुन्छ’ गिरीले भने ‘यसलाई हामीले नियमन गर्ने काम गरिरहेका छौ ।’

विषाक्त मदिरा

मोरङका यी क्षेत्रमा उत्पादन भएका मदिरा स्वास्थ्यका लागि अत्यन्त हानिकार भएको दाबी गरिएको छ । मदिरा उत्पादनका लागि ठूलो चूल्हो, दाउरा, भाँडाबर्तन, सख्खर, मर्चा, युरिया कृषि मल, खाने सोडा र औषधि प्रयोग गर्ने गरिएको छ । सख्खर घोलेर त्यसलाई कुहाउन वा मदिरा उत्पादनका लागि तयार गर्न मर्चा हाल्नु उपयुक्त तरिका भए पनि मर्चा नपाउने गरेकाले युरिया, खाने सोडा र औषधिसमेत हाल्ने चलन अहिले यी ठाँउमा बढेको पाइन्छ ।
जस कारण यस्तो मदिरा सेवन गरेका कारण मान्छेको ज्यान समेत जाने गरेको छ ।

यस्ता मदिरा सेवनले टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, त्यसपछि दृष्टि गुम्ने अनि अचेत हुने खालका लक्ष्यण देखिएको स्वास्थ्यकर्मी बताउछन् ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले समेत अध्ययन गर्दा अचेत भएर मृत्यु हुनेहरुको कारण विषाक्त मदिरा सेवन भएको उल्लेख छ ।

मोरङमा यस्ता विषाक्त मदिराको उत्पादन र कारोबार नियन्त्रण गर्न प्रहरीले काम नगरेको भने हैन । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काका अनुसार तिन महिनाको अबधिमा १७ सय लिटर मदिरा बरामद गरि नष्ट गरेको जानकारी दिए । यस्तै मदिरा ओसारपसारमा संलग्न ११ जना र केही सबारी साधान समेत नियन्त्रणमा लिइ राजश्व कार्यालयलाई बुझाएको बताए ।

‘अबैध मदिरा ओसारपसार भइरहेको छैन भनेर म भन्दिन, तर प्रहरीले सकेसम्म नियन्त्रणमा लिने काम गरिरहेको छ’ उनले भने ‘आगामी दिनमा पनि प्रभावकारि रुपमा कार्य योजना बनाएर नियन्त्रणमा लिन्छौ ।’  प्रहरीको मिलेमतोमा यदि मदिरा ओसारपसार भए जो कोही कारबाहीको भागिदार हुने एसपी खड्काले स्पष्ट पारे ।

यता सरकारबाट अनुमतिपत्र नलिइकन वर्षमा ६ पटकसम्म पाँच लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन पाइने कानुनी व्यवस्था छ । यसरी व्यक्तिगत प्रयोजनको लागि उत्पादन गरेको रक्सीबारे अन्तशूल्क अधिकारीलाई सूचना दिनुपर्ने पनि कानुनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here