कोरोनाको उपचारका लागि अस्पतालमा ५०% वेड अनिवार्य

0
494

बिर्तामोड।

निजी स्वास्थ्य संस्थालाई आफ्नो बेड संख्याको ५० प्रतिशत बेड कोभिड–१९का विरामीको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

झापामा कोरोना संक्रमण उच्च बन्दै गएपछि मंगलवार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीडीसीएमसी ) को बैठकले यस्तो निर्देशन दिएको हो । नेपाल सरकारले तोकेको नीति बमोजिम निजी स्वास्थ्य संस्थाहरुले आफ्नो वेड संख्याको ५० प्रतिशत वेड कोभिड–१९का बिरामी उपचार गर्ने व्यवस्था क्रमशः कार्यान्वयन गर्ने सहितका आठवटा निर्णय गरेको छ ।

झापामा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको र मृत्यु दर समेत बढ्न थालेपछि सीडीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निजी स्वास्थ्य संस्थाहरुलाई कोभिड–१९को उपचार खर्चको हकमा नेपाल सरकारले तोके बमोजिमको निर्णय गर्ने भनेको छ । त्यस्तै कोभिड–१९का बिरामीहरुको उपचारमा प्रत्यक्ष खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरुको मनोबललाई उच्च राख्न सीडीसीएमसीले सम्वन्धित स्वास्थ्य संस्थामा पुगेर सम्मान व्यक्त गर्ने भएको छ ।

वैठकले बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर निजी स्वास्थ्य संस्थाहरुले सर्वसाधारणको लागि सहज र सरल रुपले उपचार सेवा उपलब्ध गराउने , नेपाल सरकारले तोके वमोजिम निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुले फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्ने, मेची प्रादेशिक अस्पतालले आफ्ना दुईवटा ल्यावमार्फत पीसीआर परीक्षणको रिपोर्ट छिटो–छरितो उपलब्ध गराउने, अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री आयात गर्न सम्बन्धित सबै पक्षले आवश्यक सहजीकरण गर्ने र कोभिड–१९को बिरामीको सहजताका लागि विज्ञ डाक्टरहरुको टिम बनाएर फोन एसएमएस वा अनलाइनको माध्यमबाट परामर्श दिने व्यवस्था गर्ने, त्यसका लागि सबै निजी सामुदायिक तथा सरकारी अस्पतालहरुले डाक्टरको विवरण उपलब्ध गराई दिने र यसको समन्वय जिल्ला स्वास्थ्य कार्यालयले गर्ने निर्णय भएको सीडीसीएमसीले जनाएको छ ।

यसैबीच झापामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयले लकडाउनको माग गर्दै सामाजिक सञ्जालमा धारणा राख्न थालेका छन् । लकडाउनको बिरोध गरेका स्थानीयले अहिले संक्रमण बढ्न थालेपछि आफैं लकडाउनको माग गरेका हुन् ।

दमकमा भने निषेधाज्ञा लगाउने तयारी गरेको छ । बेलुका ४ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सिफारिस भएको हो । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बिहानदेखि बेलुका ४ बजेसम्म दैनिक उपयोग्यबस्तु विक्री वितरण खुल्ला हुने बताए । ४ बजेपछि निषेधाज्ञामा कडाइ गरिनेछ ।

तिम्सिनाका अनुसार यसपटक कडाइका साथ कार्यान्वयन गरिनेछ । मंगलबार बिहान राजनीतिक दलसँग भएको छलफलमा निषेधाज्ञा र लकडाउन भन्ने विषयमा बहस भएको थियोे । अन्ततः नगरपालिकाले निषेधाज्ञाका लागि सिफारिस गरेको तिम्सिनाले जनाए । दमकमा ४२८ जनामा संक्रमण देखिएको छ भने १८ जनाको मृत्युु भएको छ । नगरपालिकाले गरेको सिफारिसका अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्नेछ । स्थानीय तहले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे पनि बजार क्षेत्रमा भने सामान्य स्वास्थ्य मापदण्ड समेत पालना गरेको पाइँदैन ।

केही समय अघि बिर्तामोडका अधिकांश व्यवसायीले आफ्नो व्यवसाय अघि सावुन पानीको व्यवस्था गरे पनि संक्रमण बढ्दै जाँदा समेत अहिले भने त्यस्ता स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन । कतिपयले मास्क समेत नलगाई हिँड्डुल गर्ने गरेका छन् । कोरोना संक्रमण समुदायमा फैलिएकाले स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला स्वास्थ्य कार्यालय झापाले आग्रह गरे पनि नागरिककै अटेरीका कारण कोरोनाको संक्रमण भयावह बन्ने खतरा बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here