एमाओवादी नेतृत्वमा देखिएको अन्तरविरोध

0
378

तीर्थराज खरेल
जनसमुदाय वा आफ्नो जनशक्तिको मनमस्तिष्कमा सकारात्मक हस्तक्षेप गरी उनीहरुलाई  आफ्नो योजना अनुरुप निर्दिष्ट दिशातिर डो¥याउन सक्ने आफ्नो क्षेत्रको नेता हुन्छ । सबैबाट आएका असल विचारहरुलाई संश्लेषण गरी सबैको साझा विचार निर्माण गर्नसक्ने र सोही विचार अनुरुप सबैलाई डो¥याउनु नै नेतृत्वको गुण हो । नेतृत्व भनेको जनतालाई असल बाटोमा डो¥याउने कला हो । कुनै संस्था वा संगठनको लक्ष्य प्राप्ति गर्ने सिलसिलामा आफ्ना अनुयायीहरुलाई प्रभावित गर्ने कला, सीप, क्षमता र दक्षता नै नेतृत्व हो । अनुभव, तालिम, स्वाध्ययन, शिक्षा आदिको कमी भएमा नेतृत्व असफल हुन्छ । अनुयायीलाई उत्प्रेरित गर्दै उनीहरुलाई पथप्रदर्शन गर्ने, मानव संसाधनको उचित व्यवस्थापन गर्ने योग्यता र क्षमता नेतृत्वमा हुन्छ ।
नेतृत्व र नेता भन्नाले आम रुपमा राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई बुझिन्छ । राजनीति राज्य सञ्चालनको प्रमुख नीति हो र सबै नीतिहरुलाई निर्देशित गर्ने सर्वश्रेष्ठ नीति हो । यो कुरालाई अस्वीकार गर्न सकिन्न ।
जीवनको लामो समय खर्चेर अनेकौं आरोह अवरोह छिचोल्दै एमाओवादी नेतृत्व आज पनि जनताको वीचमा क्रियाशील छ । घनीभूत वर्गसंघर्षले भरिएको दश वर्षे जनयुद्ध माओवादीको अहिलेकै नेतृत्वबाट सम्भव भएको थियो र दोस्रो जनान्दोलनका मुख्य योजनकार र परिचालकहरु  माओवादी र तत्कालीन सात दलका नेतृत्व नै थिए ।  देशविकासको नीति र नियम, खाका र ढाँचा, योजना र परियोजना राजनीतिक नेतृत्वले दिने हो । तर आज माओवादी नेतृत्व आफैंभित्रको अन्तरविरोधमा अल्झेको छ । देशको सकारात्मक परिवर्तन र विकासको नयाँ मार्गचित्र जनताले नेतृत्वको क्रियाशीलताबाटै प्राप्त गर्ने हो । देशविकासको प्रेरणा पनि जनताले नेतृत्वबाटै ग्रहण गर्ने हो । नेतृत्व त रोलमोडल हुनुपर्छ । नेतृत्वमा रहने गर्ने व्यक्तित्वहरुले आफूलाई समाजका विभिन्न क्षेत्रबाट आशाको नजरले हेरिरहेका छन् भन्ने बुझेमा मात्र साँचो अर्थमा पार्टी र मुलुकको नेतृत्व सम्भव हुन्छ । व्यक्तिगत स्वार्थ र हीनताबोधबाट माथि उठेर चिन्तन गर्ने हो भने मात्र राजनीतिको सच्चा सारथी हुन सकिन्छ र चुनावमुखी नेता होइन, मुलुकको राजनेता हुन सकिन्छ । यो कुरा माओवादी नेतृत्वले कहिले बुझ्ने र कहिले व्यवहारमा जनताको सान्निध्यमा रहेर आफ्ना गतिविधिहरुलाई निर्देशित गर्ने ?
एकीकृत नेकपा(माओवादी)ले अप्रत्याशित हार बेहोर्नुपरेको छ गएको संविधानसभाको निर्वाचनमा । पहिलो संविधानसभाको चुनावमा नेपाली कांग्रेस र नेकपा(एमाले)ले यस्तै हार भोगेका थिए । अहिलेको एमाओवादी भित्रको अन्तरविरोध यो हारलाई कसरी हेर्ने भन्नेमा हो भन्नेमा दुई मत छैन । वास्तवमा प्रचण्डको नेतृत्व असफल भएको हो र सँगसगै डा. बाबुराम, नारायणकाजीहरुको पनि यसमा जिम्मेवारी छ । हारको नैतिक जिम्मेवारी लिन नेतृत्वलाई अप्ठेरो परेकाले नै आज समस्याहरु देखिएका हुन् । पार्टीमा अन्तरविरोध हुनु त स्वाभाविक हो । दुई विपरितहरुको संघर्षबाट नै पार्टी चलायमान हुने हो । तर समस्या कहाँनेर छ भने अन्तरविरोधको सञ्चालन मैत्रीपूर्ण नभएर निषेधतर्फ उन्मुख हुने हामी नेपालीको र विशेषतः आम नेपाली कम्युनिष्ट पार्टीहरुको प्रवृत्ति हो । प्रचण्ड संविधानसभाको निर्वाचनको पराजयको कारण अरुको थाप्लामाथि थोपरेर आफू जोगिन चाहन्छन् । आफ्नै कमजोरी प्रति निर्मम बन्न नसक्ने असल माक्र्सवादी हुनसक्दैन । आफ्नो वरिपरिको स्वार्थीहरुको जमातको घेराबन्दीमा परेर संविधानसभा चुनावमा पार्टीको हार भएको सबैभन्दा प्रमुख कारणलाई उनले अझै स्वीकार गरेका छैनन् । एकीकृत माओवादीको हारको मुख्य कारण माओवादी आफैं हो भन्ने कटुसत्यलाई पार्टीको सर्वोच्च नेता भएर पनि सार्वजनिक रुपमा स्वीकार नगर्नु भनेको पन्ध्रौं हजार महान शहीदको बलिदानबाट आएको पार्टी, त्यसका कार्यकर्ता र शुभचिन्तकहरुलाई गुमराहमा राख्नु हो । दोस्रो, तेस्रो र त्यसदेखि तलका वरियताका नेताहरु सबै दोष प्रचण्डमाथि थोपर्न चाहन्छन् । एकीकृत माओवादीको उपादेयता यो देशमा सकिएको छैन, तर नेतृत्व इमान्दार नभएमा पार्टीले अझै धक्का खान्छ र जनताका सपनाहरु सडकमा असरल्ल छरिन्छन् । हामी प्रतिपक्षमा बसेर जनताको राजनीति गर्छौं भन्न माओवादी नेतृत्वलाई यसकारण अप्ठेरो परेको अनुभव हुन्छ कि सत्ताको धङ्धङीबाट उनीहरु मुक्त छैनन् । अब त बुझ्नु प¥यो नि जनताको आदेश प्रतिपक्षमा बसेर चुनावी हारको समिक्षा गर र राजनीति साँचो अर्थमा जनताको सेवा हो भन्ने सच्चाइलाई हृदयदेखि आत्मसात गर । पददलित, भोकानांगा, शोषितपीडित, राज्यको मूलधारबाट अलग्गिएका, विकासको प्रवाहबाट वञ्चितीमा परेका उत्पीडितहरुका आवाजलाई सुन, तिनीहरुको साथ नछोड । जनतालाई केन्द्रविन्दुमा राखेर एमाओवादी नेतृत्वले आत्मसमिक्षा गर्ने हो र पार्टी शुद्धीकरण र सुदृढीकरण गर्ने हो भने फेरि मुलुकमा माओवादीले केही गर्न सक्छ भन्ने आशा पलाउन सक्छ । फेरि पनि जनताको राजनीति गर्ने हो भने उपेक्षित तह र तप्कासँग पुनः सम्बन्ध स्थापित गर्नुपर्छ माओवादीले । दक्षिणपन्थी भोगबिलास र अहम्को मातबाट आफूलाई मुक्त गर्नुपर्छ । चुनावी हारको समिक्षा यही हो । यो तीतो यथार्थ हो तर एमाओवादी नेतृत्व मुटुको केन्द्रभागदेखि नै यसलाई स्वीकार्न तयार छैन ।  हिजो आवाजविहीनहरुको आवाज र गरिब निमुखाको आँट र हिम्मत थियो माओवादी, सामाजिक विकृति विसंगतिको विरुद्धमा एउटा आँधीहुरी थियो माओवादी । प्रचण्डकै नेतृत्वमा परिवर्तनको झण्डा लिएर शंखघोष गर्दै संघर्षको मोर्चाको नेतृत्व गथ्र्यो माओवादी । माओत्सेतुङ भन्छन्– नेतृत्वको मूल्यांकन चुनौतिपूर्ण घडीमा मात्र होइन, अति नै सहज र सुखका दिनमा पनि गर्नुपर्छ । जीवनमा एक दुई वटा असल काम गर्न सकिन्छ तर जीवन भर असल काम गर्न गा¥हो हुन्छ । आज माओवादी केही समय सत्ताको नजिक हुने बित्तिकै जनताको निम्ति बिरानो भएको छ । ती जनतासँग माओवादीले आफूलाई जोड्नुपर्छ जसको कारणले माओवादी देशव्यापी हुन सकेको हो र संसारमै नाम राख्न सकेको हो । अहिले पार्टीका बैठकहरु निरन्तर बसिरहेका छन् । ओठे र कृत्रिम समिक्षाले चल्नेवाला छैन । उसले आफूलाई एकचोटी शान्त र निर्मम ढंगले आत्मसमीक्षा गर्नु पर्छ ।  जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, वर्गीय उत्पीडिनमा परेका हेपिएका, दलिएका र विभेदको शिकार भई उपेक्षामा बाँचिरहेका जनतालाई हामीले के दिन सक्यौं भनेर एकपटक आफैंले आफैंसँग प्रश्न गर्नुपर्छ माओवादीले । जनतासँग जानुपर्ने आवश्यकता आत्मसात गर्न नसक्नुको हीनतावोधबाटै पार्टीभित्रका अन्तरविरोधहरु शत्रुतापूर्ण बाटोमा जान्छन् कि भन्ने आशंका उब्जेको छ । आज राष्ट्रको माग छ माओवादीसँग–तिमी सत्ताको फोहोरी खेलदेखि टाढा बस र नेपाली जनताको सुखदुःखमा साथ दिने र अन्याय–अत्याचारको विरुद्धमा सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ । परिवर्तनका एजेण्डाप्रति व्यवहारिक रुपमा माओवादी उदासिन हुनु नै उसको हारको मुख्य कारण हो । महाधिवेशनका दस्तावेज र संविधानसभाका घोषणापत्र र प्रतिबद्धतापत्रमा परिवर्तनका सुन्दर वर्णन गरेर नेपाल परिवर्तन हुने होइन र नयाँ नेपाल बन्ने पनि होइन । एमाओवादीकै कारणले जनताहरु विकल्पहीन भए र जे भए पनि २०६२–०६३ को दोस्रो जनान्दोलनमा प्रमुख हिस्सेदारी लिएका शक्ति मानेर एमाले र कांग्रेसलाई जनताले मत दिए । गत संविधानसभा चुनावका सिमाहरु छन्, प्रतिपक्षीका अनेकौं तिगडम्, जालझेल र षडयन्त्रहरु पनि यो परिणाम आउनुमा जिम्मेवार छन्, तर यी कारणहरु सबै सहायक कारणहरु हुन् । सहायक कारणलाई मुख्य बनाएर पार्टी कार्यकर्ताको ध्यान अर्कै दिशातिर मोड्नु राम्रो हुँदैन । जनताको सपना पार्टीमा प्रतिबिम्बित भएन भने त्याग र समर्पणका लामा इतिहासमा पनि धुलो लाग्न थाल्छ र नेतृत्व जनमतबाट कटिँदै जान्छ । माओवादीले अन्तरविरोध सञ्चालन गर्दा नैतिक पूँजीको क्षयको प्रश्नलाई प्रमुख बनाउनुपर्छ । एमाओवादीले आजको पेचिलो परिस्थितिबाट पार पाउन भनाइ र गराइमा एकरुपता ल्याउन सक्नुपर्छ, जनतासँग सहकार्य गर्ने र जनताको सुखदुःखमा सँगसँगै लाग्ने विषयमा छलफल गर्नुपर्छ, गिरेको प्रतिष्ठा उठाउन नेतृत्वपंक्तिको सांस्कृतिक धरातल माथि उठाउनुपर्छ ।
निश्चित समय र उमेर गुजारेपछि नेतृत्वको उपल्लो तहमा बस्नेहरुले सार्वजनिक जीवनबाट सन्यास लिनुपर्छ र उज्ज्वल भविष्य सहित प्रगतिपथमा अघि बढ्ने आकांक्षा बोकेको युवा पुस्तालाई मार्ग प्रशस्त गर्नु श्रेयस्कर हुने तर्क एमाओवादीमा अहिले उठेको छ । यो सो पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन पार्टी र संगठनको पुनर्संरचना गर्ने उद्देश्यबाट आएको सकारात्मक प्रस्ताव मान्न सकिन्छ । पदका निम्ति असैद्धान्तिक लुछाचुँडी गर्ने प्रवृत्ति पार्टीमा प्रभावी हुँदै गएको तथा तल्लो नेतृत्व र आम कार्यकर्तामा पार्टी साँचो अर्थमा क्रियाशील छ भन्ने सकारात्मक सन्देश दिन अहिले पार्टी सक्षम नभइरहेको अवस्था हो । एकीकृत माओवादीको गएको साउन ४, ५ र ६ गते काठमाण्डौंमा सम्पत्र सातौं केन्द्रीय समितिको प्रथम विस्तारित बैठकले पार्टीमा पद र कार्यविभाजनप्रति तीब्र प्रतिष्पर्धा चलिरहेको तथा सिंगै पार्टीमा सर्वहारा क्रान्तिकारी स्पीरिटको ह्रास र पद–प्रतिष्ठाप्रति अनावश्यक रुपमा मोह बढ्दै गएको निष्कर्ष निकालिएको पृष्ठभूमिमा दुई कार्यकालभन्दा बढी पदमा बस्न नमिल्ने तथा पार्टीका तल्ला पददेखि उपल्लो तहसम्म सबै निर्वाचित हुनुपर्ने तर्क औचित्यपूर्ण देखिन्छ । नेपाली जनताको भावना अनुरुप पार्टीले काम गर्न नसकेको मुख्य कारणले संविधानसभाको दोस्रो निर्वाचनमा हार बेहोर्नुपरेको सच्चाइलाई आत्मसात गर्नुपर्ने  देखिन्छ । सुदूर भविष्यसम्म पार्टी र मुलुकलाई सकारात्मक दिशातिर डो¥याउन  विशेष संगठनात्मक राष्ट्रिय सम्मेलन गर्नुपर्ने आवश्यकता अब बढेर गएको छ । सही वैचारिक कार्यदिशाले मात्र पार्टी र क्रान्ति अघि बढ्ने होइन, त्यसको साथसाथै सोही अनुरुपको चुस्तदुरुस्त संगठनको सञ्जाल पनि चाहिन्छ भन्ने चेतना माओवादी नेतृत्वमा आउनुपर्ने देखिन्छ ।

1392799_1375193829388193_245654904_ntirthakharel2028@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here