तरकारीको मूल्य आकाशियो

0
730

झापा,
लकडाउन शुरु भएसँगै खाद्यान्न तथा तरकारीको मूल्य एकाएक चुलियो । भारतबाट तरकारी आयातमा केही समय रोक लागे पनि त्यस यता नियमित तरकारी आयात भए पनि मूल्य भने घट्नुको सट्टा दिनप्रतिदिन बढ्दो छ ।

लकडाउनको फाइदा उठाउँदै व्यापारीले तरकारी तथा फलफूलको मूल्य ह्वात्तै बढाए पनि नियमनकारी निकायले नियमन नगर्दा सबै जसो तरकारीको मूल्य चुलिएको छ । फलफूल र तरकारीको मूल्य आकाशिएसँगै स्थानीय उपभोक्ता भने मारमा परेका छन् ।

पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्ने हो भने– बिर्तामोडस्थित कृषि उपज बजारमा १३ हजार आठ सय ७८ मेट्रिक टन तरकारीको कारोबार भएको छ । तरकारी आयातमा समस्या देखाउँदै व्यापारीले आफू खुशी मूल्य निर्धारण गर्दै तरकारी विक्री गर्दा समेत नियमनकारी निकाय बेखबर जस्तै छ । कृषि उपज बजार ब्यवस्थापन सञ्चालन समितिले तरकारी तथा फलफूलको मूल्य निर्धारण गरे पनि निर्धारित मूल्यमा व्यवसायी तरकारी तथा फलफूल विक्री नगर्दा उपभोक्ता मारमा परेका छन् ।

बजार समितिले तरकारीको मूल्य एउटा तोकेको हुन्छ, बजारमा कारोबार अर्को हुन्छ । कृषि उपज बजार व्यवस्थापन सञ्चालक समितिका एक पदाधिकारीले भने– लामो समयदेखि कृषि उपज बजार व्यवस्थापन सञ्चालन समिति नहँुदा बजारमा बेथितिका चाङ छन् तर हेर्ने कुनै निकाय नहुदाँ कृषि उपज बजारमा व्यवसायीकै मनखुशी छ । कृषि उपज बजारमा चालू आर्थिक वर्षको तीन महिनामा आलुको बढी कारोबार भएको छ । पाँच हजार ९ सय ६५ मेट्रिक टन रातो आलुको कारोबार हुदाँ पाँच सय पाँच मेट्रिक टन सेतो आलुको कारोबार भएको छ । आलुपछि प्याजको ठूलो परिमाणमा कारोबार भएको छ ।

प्याज तीन महिनामा दुई हजार आठ सय एक मेट्रिक टन विक्री भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लकडाउन शुरु भएको केही महिना कारोबार घटेपछि लकडाउन खुलेसँगै कारोबार विगतको जस्तै रहेको बताइएको छ । झापामा विक्री हुने तरकारीमध्ये आलु प्याज भारतबाट बढी मात्रामा पूर्वी नाका काँकरभिट्टा हुँदै आयात हुने गरेको छ । पूर्वी पहाडी जिल्लाबाट समेत तरकारी आयात हुने गरेको छ । यो सिजनमा बजारमा विशेषगरी गाँजर, बन्दा, काउली, सेतो मुला, भण्टा लाम्चो, डल्लो भण्टा, बोडी, मटर कोसा, घ्यु सिमी, तितेकरेला, लौका, फर्सी च्याउ लगायतका तरकारीको बढी विक्री हुने गरेको पाइएको छ । तरकारीसंगै सात हजार ८ सय ८३ मेट्रिक टन फलफूल विक्री भएको छ भने तीन सय ३८ मेट्रिक टन मसलाजन्य सामग्री विक्री भएको छ ।

फलफूलमा सबैभन्दा बढी अंगुरको कारोबार भएको छ भने स्याउ, कांक्रो, केरा, नास्पाती, भुइँकटहर, आँप, अनार, कागती, तरबुजा जस्ता फलफूलको कारोबार बढी भएको तथ्याङ्कमा उल्लेख छ । कृषिथोक बजारमा पछिल्लो तीन महिनामा एक सय ३५ मेट्रिक टन माछाको कारोबार भएको छ भने ७५ मेट्रिक टन खसीको मासु विक्री भएको कार्यालयकी तथ्याङ्क सहायक मायादेवी राजवंशीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here