यौन तथा प्रजननको विषयमा अध्ययन गर्न जरुरी

0
1524

झापा ।

यौन तथा प्रजनन स्वास्थ्यको विषयमा आम नागरिकलाई बुझाउन पत्रकारहरुले गहन अध्ययन गर्न जरुरी रहेको विज्ञहरुले बताएका छन् । आड्रा नेपालको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको पत्रकारहरुको क्षमता अभिवृद्धि तालिममा उनीहरुले यस्तो जनाएका हुन् ।

विभिन्न मिडियामा कार्यरत र स्वास्थ्यमा कलम चलाउने पत्रकारहरु सहभागी भएको तालिममा मिडवाइफ्री सोसाइटीकी अध्यक्ष डा लक्ष्मी तामाङले यौन तथा प्रजनन स्वास्थ्य महिलाको मात्र विषय नभएको भन्दै यो पुरुष एवं समग्र समाजकै विषयवस्तु भएको बताइन् ।

उनले अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा महिला तथा किशोरकिशोरी खुल्न नसक्दा सेवा लिन पनि नसकिरहेको जनाइन् । उनले मिडियाले यी विषयवस्तुमा सचेतनामूलक सामग्री बनाउनुपर्नेमा जोड दिइन् ।

अफ्गानिस्तानपछि नेपालमा मातृमृत्युदर धेरै नपालमा रहेको भन्दै कोरोना कहरका बीच पनि धेरै महिलाले अल्पआयुमै ज्यान गुमाउनु परेको उल्लेख गरिन् ।

मिडिया एक्सन नेपालले आयोजना गरेको उक्त तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष एवं सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मिडियामा पनि कम समाचारहरु आउने गरेको बताए ।

उनले दुई दिने तालिमले सहभागी पत्रकारलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा थप बुझ्न सहयोग गर्नेमा आफूले विश्वास लिएको जनाए । तालिमका क्रममा उनले यौन तथा प्रजनन स्वास्थ्यका विविध पक्षकाबारेमा रिपोर्टिङ गर्दा पत्रकारहरु संवेदनशील हुनपर्ने समेत जनाए ।

तालिममा ४० जना पत्रकार सहभागी भएका छन् । ४ समूहमा गरिएको तालिममा पहिलो,दोस्रो र तेस्रो समूहको तालिम सकिएको छ । शनिबारबाट समूह चौथोको तालिम सुरु भएको छ । चौथो समूहमा पूर्वाञ्चल दैनिकका अनलाइनसमाचार संयोजक नरेन्द्र ढकाल सहित प्रदेश–१ बाट दुई जना प्रदेश–२ तथा गण्डकी प्रदेशबाट १० जना पत्रकार सहभागी भएका छन् ।

तालिम सकिएपछि ४० जनामध्ये १५ जना सहभागी पत्रकारले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा फेलोसिप समेत पाउनेछन् ।

कार्यक्रमको सञ्चालन मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियङ्का झाले गरेकी थिइन् । आइतबारबाट सम्पन्न हुने तालिममा प्रशिक्षक लक्ष्मणदत्त पन्त र कल्पना आर्चायले प्रशिक्षण प्रदान गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here