२५ जनाभन्दा बढी मलामी नजान नगरप्रमुखको आग्रह

0
988

बिर्तामोड,

बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले २५ जनाभन्दा धेरै मानिसलाई मलामी नजान आग्रह गरेका छन् ।

दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण वढ्दै गएपछि नगरप्रमुख शिवाकोटीले हाट बजारमा भीडभाड नगर्न र कसैको मलामी जानु परे पनि २५ जनाभन्दा धेरै मलामी नजान आग्रह गरेका हुन् । उनले ठूलावडा मानिसको मृत्यु हुँदा दुई हजारसम्म मलामी जाने चलन रहेकाले त्यसो गर्दा संक्रमणको जोखिम झन उच्च हुने भन्दै सचेतना अपनाउन नगरवासीलाई आग्रह गरेका हुन् ।

बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक समेत रहेका नगरप्रमुख शिवाकोटीले दीपावली, छैठ, नेपाल सम्बत् जस्ता पर्वहरुमा भेला हुने, देउसीभैलो खेल्ने, नाचगान जस्ता सबै क्रियाकलापहरु बन्द गर्ने बताएका छन् ।

वैठकले कोभिड–१९ रोकथाम सम्बन्धी जन चेतनाका लागि सबै वडा र टोलहरुमा व्यापक प्रचारप्रसार गर्ने, सोको व्यवस्थापन सम्बन्धित वडाले गर्ने निर्णय समेत गरेको छ । चाडवाडलाई एकाघरमा मात्र सीमित गरी मनाउने साथै नगरभित्र सञ्चालित होटल, रेष्टुरेन्ट राति ८ः०० बजे पश्चात बन्द गर्ने निणर्य गरेको नगरप्रमुख शिवाकोटीले बताए ।

नगरभित्रका व्यापार व्यवसाय र बजारहरु पूर्णरुपमा नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने गराउने, नगर प्रमुख, उप–प्रमुख समेतको टोलीबाट बजारको अनुगमन गर्ने, नगरभित्र रहेका यातायात कार्यालय, विद्युत् प्राधिकरण जस्ता भीडभाड हुने कार्यलयबाट दिइने सेवालाई व्यवस्थित गर्न÷गराउन नगर प्रमुखको नेतृत्वमा सम्बन्धित कार्यालयको अनुगमन गरी व्यवस्थापनको प्रवन्ध गर्ने गराउने बैठकले निर्णय गरेको छ ।

त्यस्तै कोभिड–१९को लक्षणसँग मिल्दोजुल्दो लक्षण भई घरमा नै पीसीआर नगरी बसेका सबै व्यक्तिहरुलाई पहिचान गरी पीसीआरको दायरालाई बृद्धि गर्ने, बिरामी पहिचानको लागि वडामार्फत टोल विकास संस्था परिचालन गर्ने । निःशुल्क पीसीआर टेष्टको लागि स्रोतको पहिचान गर्ने, हालको नगरको वस्तुगत स्थितिबारे जिल्ला कोरोना समन्वय समितिमा जानकारी दिँदै झापा जिल्लालाई नै कोरोना संक्रमणको रोकथाम गर्न लकडाउन वा अन्य उपयुक्त विकल्पसहितको कार्यक्रम ल्याउन अनुरोध गर्ने निर्णय भएको बताइएको छ ।

होम आइसोलेसनमा रहेका बिरामीहरुको नियमित अवस्थाबारे जानकारी लिने र उचित परामर्श र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने, जनप्रतिनिधिहरुले त्यस्ता व्यक्तिहरुको मनोवल बृद्धि गर्न प्रोत्साहन गर्ने, मृतकको दाह संस्कारका लागि अत्यधिक मानिस भेला भई मलामी जाने परिपाटीलाई कम गर्न सबैमा आव्हान गर्ने, साथै समवेदना प्रकट गर्न जाँदा समेत सामाजिक दुरी तथा सवारी मापदण्ड कायम गरी गर्न सबैमा अनुरोध गर्ने, नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट दिइने सेवालाई थप स्वास्थ्य मापदण्डभित्र रही प्रवाह गर्ने, हाललाई राष्ट्रिय परिचय–पत्र वितरण कार्यक्रम स्थगन गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालय भद्रपुर, झापामा पठाउने निर्णय भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here