नेकपामा नयाँ पुस्ताको बहस

0
1376

भनिन्छ चिन्ताले चितामा पु¥याउँछ, तर सकारात्मक चिन्तनले सम्भावनाका द्वार खोल्दछ । नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिवर्तनका संवाहक हुन् । उनीहरुले अब मुलुकको मूल नेतृत्वमा आफूलाई उभ्याउने चिन्तन गर्न आवश्यक छ । केन्द्रीकृत, एकात्मक राजतन्त्र तथा जहानियाँ राणाशासनविरुद्धको जनजागरण अभियानको शुरुदेखि अहिलेसम्मका परिवर्तनका नाममा भएका विभिन्न क्रान्तिमा युवाको भूमिकाको पुष्टि भइसकेको छ । द्वन्द्वको अवस्थाको अन्त्य भएर शान्तिपूर्ण राजनीतिक धरातलमा मुलुक आइसकेको छ । तर, राजनीतिक सत्ताकेन्द्रित हुन थालेको छ ।

पछिल्लो राजनीतिक संस्कार बदलेर वा बदल्न खबरदारी गरेर सम्पूर्ण निकाय सामाजिक, आर्थिक विकासतर्फ उन्मुख हुने इतिहासकै सही समय आएको छ । युगको स्पन्दनलाई नसुन्ने हो भने मुलुक कहिल्यै पनि उँभो लाग्दैन । सडक संघर्ष, जनयुद्ध र जनपरिचालनमा मात्र युवाको भूमिका खोजेर हुँदैन, नेपालको विकासमा जल, जमिन, जङ्गल, जनावर, पर्यटनको जति भूमिका छ, त्यसको अपनत्व युवालाई दिलाएर युवा सक्रियता बढाउने सुनौलो अवसर छ यतिबेला । जनसांख्यिक लाभका दृष्टिले पनि युवाहरुको सक्रियता र नेतृत्व दुबै आवश्यक रहेको बेला हो यो ।
राष्ट्रप्रेमी, सदाचारी, अनुशासित र कर्मठ युवाको खोजी यो मुलुकले गरिरहेको छ, तर नेपालमा पढे लेखेर पनि रोजगारी नपाइने, पाइहाले पनि सम्मानित नहुने, राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति दिन सक्दैन भन्ने सोचमा रहेका युवा समूह स्वदेशी माटोमा नरमाउन सक्छन् । राजनीतिक अस्थिरता, व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव, सम्मानित रोजगारीको अवसरको कमी नेपालका युवाले सबैभन्दा नरुचाइएका विषय हुन् । यी विषयवस्तु सबैभन्दा बढी प्रतिकुलता थप्ने विषय हुन् युवाका लागि ।

अवसर पनि यही देशभित्र प्रशस्तै छन् भन्ने कुरा सम्बन्धित पक्षले युवालाई बुझाउन नसकेको पनि यथार्थ हो । विदेशी भूमिमा गर्ने मेहनत र श्रमदान नेपाली भूमिमा गर्ने हो भने यहाँ पनि सम्भावना छ । राज्यले युवाहरुको लागि ठोस नीति तथा कार्य योजना बनाउन सकेको छैन । देशमा पुरातनवादी सामन्ती सोच, अवैज्ञानिक शिक्षा प्राणालीका कारण नेपाली युवा वर्ग आफ्नो इच्छाशक्ति भए अनुसारको अवसर र सीप अनुसारको रोजगारी र त्यही अनुरुप पारिश्रमिक नपाउँदा वेरोजगार बनिरहेका छन् । राज्यले उत्पादनशील जनशक्तिलाई परिचालन गर्न सकेको छैन । आज देशको दुरावस्थाका कारण नेपाली युवा वर्गको भविष्य अन्धकारमय बनेको छ । परिवार, समाज र राष्ट्रकै राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक रुपान्तरणको मात्र नभएर शोषण, दमन, अन्याय अत्याचार लगायतबाट ग्रसित समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानका लागि महत्वपूर्ण भूमिका र योगदान गर्न सक्ने युवा वर्गको भविष्य नै दोधारमा छ । दिन दुगुणा रात चौगुणाको दरले विदेशिने युवाको संख्या बढिरहेको छ । युवाको काँधमा राष्ट्रको जिम्मेवारी छ । तर, त्यही जनशक्तिलाई रोजगारी नभई वेरोजगार बन्नु परेका कारण स्वदेशमा बस्न कठिनाइ छ । उनीहरु वैदेशिक रोजगारमा जाँदादेखिका दुःख र रोजगारका क्रममा भएका पीडाको वर्णनले त एउटा अर्को महाभारत नै बन्न सक्छ ।

देशमा संघीयता, गणतन्त्र र लोकतन्त्रका लागि लड्ने वा रगत बगाउने, जनताहरुलाई सार्थक जीवन जीउने सिकाउने, छातीमा गोली वर्षदा हाँसी–हाँसी छाती थाप्ने युवावर्गको सपना आज असरल्ल छ । युवावर्गका लागि राज्यसँग नीति तथा ठोस कार्यक्रम नहँुदा देश झन् पछाडि धकेलिएको छ । संसारका सबै परिवर्तनमा युवा वर्गको ठूलो योगदान छ । मुलुकमा आर्थिक परिवर्तनका मुख्य संवाहक हुन सक्ने युवाहरु आज विदेशिन बाध्य छन् । हुन त मुलुकले केही रेमिट्यान्स पाएको होला, परिवारले सामान्य आधारभूत आवश्यकता परिपूर्ति गर्नसम्म पाएका होलान् । तर, वैदेशिक रोजगारको उपलब्धिको तुलनामा त्यसको पीडा कति कहालीलाग्दो छ ।

धेरै नेपाली युवाका साझा समस्या भनेको बढ्दो वेरोजगारी, वेराजगारी सँगसँगै बढेको दुव्र्यसनीको लहर, बिग्रँदो स्वास्थ्य र असुरक्षित खाद्य समस्या, सामाजिक सञ्जाल वा साइबर अपराधमा संंलग्नता, राजनीतिक अस्थिरता कायम रहनु, मुलुकको राजनीति सुधारिन्छ भन्ने विश्वास नहुनु, नेतृत्व तहमा युवा संलग्नता कम, धेरै कम युवाले मात्र राजनीतिक या सामाजिक अभियन्ताको भूमिका पाउनु, युवा परिचालनमा योजनाविहीनता, युवामाथि कम विश्वास, मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानी, व्यावहारिक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकासै नहुनु आदि हुन् । विकास निर्माणमा युवा परिचालन गर्ने उपयुक्त समय हो यो । लामो प्रयास र संघर्षपछि जनताले आफ्ना प्रतिनिधि मार्फत बनाएको संविधान पनि प्राप्त भइसकेकाले अबको राष्ट्रिय मुद्दा भनेको आर्थिक क्रान्ति नै हो । संविधानमा केही अपुग छन् भने पनि संशोधन मार्फत अघि बढ्न सकिन्छ । समस्या संविधानमा होइन, राजनीतिक नेतृत्वको संस्कार र संस्कृतिमा छ भन्ने कुरा घामझैं छर्लङ्ग छ । मुलुकमा आर्थिक क्रान्तिका लागि राजनीतिको नेतृत्वमा नयाँ पुस्ता र युवा पुस्ताको आगमन जरुरी छ ।

नेपालको संविधान २०७२ ले दिशानिर्देश गरेको समाजवादउन्मुख अर्थतन्त्रको नेपाली खाका कोर्न नै चिन्तनमनन गरिरहेको छ । व्यक्तिगत कुण्ठा, लालसा, निराशा, महत्वाकांक्षा, अहम्, आग्रह, पूर्वाग्रहको घेरामा कैद भएको नेकपाभित्रको आजको बहस वैचारिक र दार्शनिक पृष्ठभूमिमा उभिएको लाग्दैन । पार्टीको माथिल्लो नेतृत्वको यो नाटक हेर्दा यस्तो लाग्छ– अझै पनि नेपालको समग्र सम्पदा र नेपालीको क्षमताको ख्याल राख्दै नेपालीलाई सुन्दर नेपाल निर्माण गर्न प्रशिक्षित गर्ने निस्वार्थ नेतृत्व कस्तो हुन्छ होला ? सबै प्रधानमन्त्रीहरु राजनेता होइनन् । भारतका महात्मा गान्धी, सुवासचन्द्र बोस, नेपालका पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह आदि केही उदाहरणहरु हुन् जो प्रधानमन्त्री वा राष्ट्रपति नभए पनि शीर्ष स्थानमा छन् । २०४६ सालका प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनका मुख्य नेतृत्वकर्ता गणेशमान सिंह त प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर प्रधानमन्त्रीको पदभन्दा माथिल्लो व्यक्तित्वको ओज र गरिमा राख्न सफल भएका थिए । तर आज किन नेकपामा लामो समयसम्म अध्यक्ष, महासचिव र प्रधानमन्त्री भइसकेका नेताहरु फेरि अध्यक्ष हुन, प्रधानमन्त्री हुन दोहो¥याएर, तेहे¥याएर मरिहत्ते गदैछन् ?

नेकपाका अध्यक्ष तथा मुलुकका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको खिचलोकै बीच आफ्ना समकक्षी र समवयी ६५ वर्ष कटेका नेताहरुलाई चुनौतिपूर्ण भाषामा सामुहिक सन्यास लिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सुझाएका छन् । उनले हालै दिएको अन्तरवार्तामा अब नेकपाको नेतृत्व अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्ने विचार राखेका छन् । हाल नेकपाको शीर्षस्थानमा रहेका नेताहरु केपी ओली, माधवकुमार नेपाल, प्रचण्ड, बादल, झलनाथ खनाल लगायतका ७० वर्षमाथिका नेताहरु अभिभावकीय भूमिकामा रहेर अबको नेतृत्वमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, योगेश भट्टराई, राम कार्की, घनश्याम भुसाल, विजय पौडेल, शंकर पोखरेल लगायतका नेताहरुलाई ल्याउन सके नेकपामा आशातीत परिवर्तन हुनसक्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि सदैव युवाको त्याग र बलिदानलाई उच्च मूल्यांकन गर्न आवश्यक छ ।

नेपालका राजनीतिक आन्दोलन र परिवर्तनका मोर्चाहरुमा युवाको त्याग र बलिदानका आश्चर्यजनक कीर्तिमानहरु जोडिएका छन् । निरंकुश पञ्चायत व्यवस्थाविरुद्धको लडाइँ होस्, दश वर्षे सशस्त्र संघर्ष वा पछिल्लो मधेस आन्दोलन, सबै आन्दोलनमा युवाले आफ्नो व्यक्तिगत जीवन त्यागी राष्ट्रिय स्वार्थको निम्ति हजारौंको संख्यामा शहीद, घाइते तथा बेपत्ता भएको इतिहास ज्वलन्त छ । समाज विकास निरन्तर गतिमा छ । क्षण–क्षणमा समाज रूपान्तरण भएको छ । समाज रूपान्तरणसँगै समाजका अवयव पनि बदलिएका छन् । समाज बदल्ने साधन राजनीति पनि क्षणक्षणमा बदलिएको छ । यसरी राजनीतिक दर्शनले समयको गति पक्रन सकेकै कारण छिमेकी देश चीन र भारत आज विश्व आर्थिक बजारमा आफूलाई गतिलो रूपमा स्थापित गर्न सकेका छन् । उनीहरु विश्वशक्तिको रुपमा आफूलाई उभ्याउन खोजिरहेका छन् । अबको विकल्प भनेको ऊर्जाशील, गतिशील, श्रमशील नयाँ नेतृत्व हो । अर्को पुस्तालाई मार्गप्रशस्त गर्नु र उनीहरुलाई सल्लाहसुझाव दिएर असल गोरेटोमा लैजान पुरानो पुस्ताका नेताहरुले साहस गर्नुपर्छ ।

समाज बदल्ने साधन राजनीति बदलिन आवश्यक छ । राजनीतिशास्त्र धर्मशास्त्र होइन । धर्मशास्त्रमा सृजनशीलताको गुञ्जायस हुँदैन, तर राजनीतिमा सृजनशीलताका लागि प्रशस्त ठाउँ हुन्छ । पुस्तौंपुस्तासम्म पनि अभ्यासमा रहेको अठारौं शताब्दीमा प्रतिपादित समाजवादी तथा पुँजीवादी चिन्तन अहिले पार्टीहरूको मुख्य राजनीतिक दर्शन बनेका छन् । समाजको रूपान्तरणसँगै बदलिएका जनआकांक्षाको सम्बोधन हुन सकेको छैन । अब परिवर्तन आत्मसात गर्न सक्ने युवाशक्ति राजनीतिको मुख्य बागडोर सम्हाल्ने ठाउँमा आउनुपर्छ । शिक्षित नयाँ पुस्ता राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाईंमाथि शासन गर्छन् । आजको समय जटिल समय हो । यतिबेला व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्ने नेतृत्व चाहिएको छ । माओत्सेतुङले भनेका छन्– युवा हो यो संसार तिमीहरूको हो, हाम्रो पनि हो, फेरि तिमीहरूकै हो । युवा राजनीतिसँग जोडिएमा मात्र देश विकास हुन्छ । देश बदल्न सक्ने क्षमता युवासँगै छ भन्ने सच्चाइलाई राज्यले बुझेका दिनमा मात्र मुलुकले कोल्टे फेर्न शुरु गर्नेछ । राजनीतिक क्षेत्रमा पनि युवा नेतृत्व स्थापित हुने हो निश्चय नै मुलुकले काँचुली फेर्ने थियो । धेरै युरोपेली मुलुकहरुमा ५० वर्षमुनिका युवाहरु मुख्य नेतृत्वमा पुगेका छन् । युवाहरु उदाउँदा सूर्य जस्ता हुन्, तसर्थ उनीहरुसँग समाज, मानव जाति र मुलुकको ठूलो अपेक्षा हुन्छ ।

सोच, चिन्तन, कार्यशैली, कार्यतत्परता र कार्यसम्पादनमै यो कुराले प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । युवा पुस्ताले नेतृत्व गर्न पाउने हो भने मुलुकमा सोच, चिन्तन र कार्यशैलीमा व्यापक फेरबदल आउने निश्चित छ । कम्तीमा पनि नेकपाको आगामी महाधिवेशनबाट ५० वर्ष उमेर पार गरेका दोस्रो र तेस्रो पुस्तामा नेतृत्व आउन सके नेकपाको आन्तरिक जीवनमा मात्र होइन, समग्र राष्ट्रको जीवनमा व्यापक रुपान्तरण सम्भव हुने थियो । नेकपाका दोस्रो, तेस्रो र चौथो पुस्ताका नेताहरुले आफूलाई नेतृत्वमा उभ्याउन आँट गर्लान् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here