साविक ओयाम गाविस एक पुस्तकमा

२५ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

पाँचथर,

पाँचथरको उत्तरी साविक ओयाम गाविसका सबै विषयवस्तुहरुलाई समेटेर लेखिएको पुस्तक ‘ओयाम एक तस्वीर’ विमोचन गरिएको छ ।

हाल याङवरक गाउँपालिका–३ मा समेटिएको यस साविक गाविसको इतिहासदेखि वर्तमानसम्मका विषयवस्तुलाई समेटेर यहाँका सुजन सेलिङ लिम्बूले उक्त पुस्तक तयार पार्नुभएको हो ।

पुस्तकको सोमबार याङवरक गाउँपालिका–३ स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पूर्वराज्यमन्त्री श्रीप्रसाद जवेगूले विमोचन गर्नुभयो ।

सो अवसरमा जवेगूले प्रत्येक वडा, स्थानीय तह तथा जिल्लाले आ–आफ्ना इतिहास र वर्तमान कहिल्यै नमेटिने गरी सुरक्षित गर्न यो कार्यक्रमले सन्देश दिएको छ बताउनुभयो । उहाँले यस प्रकारका सिर्जनशील अभियानहरु अन्यत्रसमेत चलाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले समाजका लागि विगतमा योगदान दिनेहरुको सम्मान र वर्तमानको यथार्थ चित्रणमार्फत भविष्यका योजनासमेत समेट्न उक्त पुस्तक प्रकाशनले आफूहरुलाई पाठ सिकाएको बताउनुभयो । पुस्तकका विषयमा साहित्यकारहरु प्रेम ओझा, मधुराज केरुङ र उदय सावदेनले बोल्नुभएको थियो ।

दुई सय पृष्ठमा समेटिएको यस पुस्तकमा साविक ओयाम गाविसका सबै टोलको चिनारी, २१ राजनीतिक, सामाजिक तथा व्यावसायिक अगुवाहरुको सङ्घर्ष र इतिहासको परिचय, ओयामभित्रका कला, साहित्य र सङ्गीतका गतिविधि तथा तिनमा अब्बल व्यक्तित्वहरुको परिचय, शैक्षिक अगुवा र शैक्षिक संस्थाको परिचय, छवटा पर्यटकीय स्थानको परिचय, एक खेलाडीको परिचय र आगामी ५० वर्षपछिको ओयामको परिकल्पना समेटिएको छ ।

बुद्ध अफसेट झापाबाट छपाइ गरिएको पुस्तक सोमबारबाट पाठकका माझ पुर्याइएको पुस्तकका लेखक एवं सङ्कलक लिम्बूले बताउनुभयो । आफ्नो मातृभूमिलाई भावी पुस्ताले सम्झिउन् भन्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखकको भनाइ छ । यसअघि उहाँले ‘युद्धले भुलेको बाँकी युद्ध’ नामको कविता सङ्ग्रह प्रकाशन गरिसक्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here