प्रमाणपत्रको शुल्क ४००० !

२६ कार्तिक २०७७, बुधबार मा प्रकाशित

झापा।

झापाको शिवसताक्षी नगरपालिका–१०मा रहेको बालनिकुञ्ज माविले एसईई उत्तीर्ण विद्यार्थीलाई चारित्रिक प्रमाण पत्र दिँदा चर्को शुल्क लिएको गुनासो बढेपछि नेविसंघ झापाले विद्यालयमा तालाबन्दी गरेको छ ।

विद्यालयबाट चारित्रिक प्रमाणपत्र दिँदा विद्यार्थीबाट चार हजार रुपैयाँ शुल्क लिएको गुनासो विद्यार्थी तथा अभिभावकबाट आएपछि नेविसंघ झापाका सचिव बिनोद खरेलको नेतृृत्वमा विद्यालयमा पुगेको विद्यार्थीहरुको टोलीले तालाबन्दी गरेको हो । नेविसंघ झापाका अर्जुन भट्टराई, अशोक पाठक, रवीन घिमिरे, सविन बस्नेत लगायत विद्यार्थीको टोलीले तालाबन्दी गरेको हो ।

तालाबन्दीपछि नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारले सरकारी विद्यालयमा कुनै शुल्क नलिई शिक्षा प्रदान गरिनुपर्ने र चारित्रिक प्रमाणपत्र बनाउँदा समेत २ सयदेखि ५ सय रुपैयाँसम्म मात्रै शुल्क लाग्ने भनिरहँदा यति महंगो शुल्क लिनु आफैमा दुःखद् भएको जनाएका छन् ।

झापाका अन्य कुनै पनि विद्यालयमा यसप्रकार मनोमानी ढंगबाट शुल्क लिएको पाइए नेविसंघ झापालाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्तिमा यस्ता विद्यालयविरुद्ध जस्तोसुकै आन्दोलन गर्ने समेत उल्लेख गरिएको छ । कनकाई माईको बाढीले विस्थापित बनेका प्रेमप्रसाद उप्रेतीले आफ्नो छोरा अर्जुनको चारित्रिक प्रमाणपत्र लिन त्यत्ति महंगो शुल्क तिर्न नसक्ने जनाएपछि उक्त घटना बाहिर आएको हो । उनले आफन्त कहाँ सानोतिनो काम गर्दै पढ्नका लागि छोरालाई काठमाडौं पठाउनका लागि चारित्रिक प्रमाणपत्र लिन जाँदा विद्यालयले चारहजार शुल्क मागेको जनाए ।

उप्रेतीका परिवारले शुल्क महंगो भएको गुनासो गर्दै वार्ड कार्यालयमा निवेदन दिएपछि उप्रेतीको परिवार बाढीपीडित भएकाले निशुल्क चारित्रिक प्रमाणपत्र दिने आशयको सिफारिस वार्ड कार्यालयले बनाइदिएको थियो । तर वार्डको सिफारिस नमान्ने भन्दै विद्यालयका प्रधानाध्यापक भीम सुब्बाले रकम लिएरै प्रमाणपत्र लिन आउन भनेको अर्जुनका बुवा प्रेमप्रसाद उप्रेतीले गुनासो गरेका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here