आज देखि तिहार सुरू, यमपञ्चकको पहिलो दिन काग तिहार एवम् धन्वन्तरी जयन्ती

0
1327

झापा ।

वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार आजबाट सुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ यमपञ्चक पनि भनिन्छ । यस यमपञ्चक अन्तर्गत आज पहिलो दिन काग तिहार एवम् धन्वन्तरी जयन्ती अर्थात् धनतेरस।

आज तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी कागको पूजा आजा गरी मनाइँदै छ। धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने गरिन्छ । काग अत्यन्त चतुर र चलाख एवम् सर्वभक्षी प्राणी हो। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो।

पौराणिक कथन अनुसार आजकै दिन सूर्य पुत्र यमराजकी बहिनी यमुनाले सन्देश बाहक काग मार्फत यमराजलाई भाइटिका लगाउने निम्तो पठाएकी थिइन्। यमराजले आफ्नी बहिनीले पठाएको निम्तो सुन्नासाथ यमपुरी छाडेर यमुनाका घरमा गई रमाईलो गरेका हुनाले यस पाँच दिनलाई यमपञ्चक भनिएको हो।

यसरी बहिनीका घरमा बसेर रमाइलो गर्दा एवम् बहिनीको हातको टिको लगाउंदा यमराज प्रसन्न भइ मनवाञ्छित वर माग भनि यमुनालाई भन्दा, ‘यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने’, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल एवम् निश्चल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु! भन्दै मन,वचन ,कर्म र शुद्धचित्तले भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति होस् तथा कीर्तिवर्धन हुने वर दिई आफ्नी बहिनीसँग बिदा भई गए। यसरी प्राचीन काल देखि अहिलेसम्म निरन्तररूपमा यो पर्व मानिइदै आइएको हो।

धन्वन्तरी जयन्ती

जडिबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी उत्पत्ति भएको सम्झना गरी धन्वन्तरी जयन्ती मनाइँदैछ। हातमा वैदिक दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडिबुटी लिएका भगवान धन्वन्तरी आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक शास्त्र भागवतमा वर्णन गरिएको छ । धर्मशास्त्र अनुसार भगवान धन्वन्तरी श्री विष्णुको २४ अवतार मध्येका एक अवतार हुन्।

धन्वन्तरी जयन्तीका अवसरमा सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाउने गरिन्छ ।

धनतेरस

कात्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक मान्यता रहेको छ ।

यो दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण भने छैन तर धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here