दीपावली र दीप वाल्नुको गहन रहस्य

0
1878

सोमनाथ गौतम

वडा दशैंको कोजाग्रत पूर्णिमापछिको कार्तिक कृष्ण त्रयोदशीबाट प्रारम्भ हुने तिहार चाड हामी नेपालीहरुको विशेष चाड हो ।

आधुनिक युगको विकासकालमा केहि पक्षिहरुलाई समाचार सम्वाहकका रुपमा लिइन्थ्यो । त्यसकै प्रतिनिधि र यमराजको दूतका रुपमा तिहारको पहिलो दिन कार्तिक त्रयोदशीमा कागको पूजा गरिन्छ । घरपालुवा जनवारमा कुकुर स्वामीभक्त, साहसी, घ्राणशक्तिद्वारा विशेष कुराको खोज अनुसन्धान गर्न सक्षम र यमराजको दूतमानी चतुर्दशीको दिन कुकुरलाई पूजा गरिन्छ ।

आमाको दूध धेरै खाए चार पाँच वर्षसम्म मात्र खाइने तर गाईको दूध भने जन्मपूर्वदेखि पूर्ण जीवनकाल हुदै मृत्युपरान्त तर्पण पिण्डका रुपमा समेत ग्रहण गरिने भएकाले वैदिक सनातन हिन्दुधर्ममा माताका रुपमा गाईलाई सदैव सम्मान र सेवा गरिन्छ ।

कार्तिक कृष्ण पक्ष औसीको दिन गौमाताको विशेष पूजा गर्ने गरिएको छ । कृषि युगमा गोरु कृषिकार्यको लागि प्रमुख र धार्मिक दृष्टिले धर्मको प्रतीकका रुपमा लिइने भएकाले तिहारमा औसीको भोली पल्ट गोरुको ंपूजा गरिन्छ ।

त्यसैगरी सत्य युगमा कार्तिक शुक्ल द्वितीयाका दिन सूर्य पुत्र यमराजलाई उनकी वहिनी यमुनाले टीका लगाई भातृपूजा गरेको ऐतिहासिक पृष्ठभूमिलाई आत्मसात् गर्दै दिदी वहिनीले आ आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाई दूवो, मखमली र सयपत्रीको मालाले सजाउने परम्परा सौहार्दपूर्ण वैदिक सनातन परम्परा हो ।त्यसैले तिहार चाड पारिवारिक, सामाजिक, र राष्ट्रिय सद्भाव जगाउने मैत्रीपूर्ण सांस्कृतिक पर्व हो ।

यसै तिहार चाडमा औसीको दिन सायंकालमा दीपावली उत्सव गरी धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको धूमधामसँगले पूजन यजन गरिन्छ । यस सन्दर्भमा दीप के हो ? हरेक वैदिक लौकिक कार्यको प्रारम्भमा दीप वाल्ने परम्परा कसरी रह्यो ? दीप वाल्नाले के हुन्छ ? जस्ता धेरै प्रश्नको उत्तर तल गरिने विश्लेषणबाट पक्कै प्राप्त हुन्छ ।

 

 

कपासबाट कातेर वनाइएको वाती तेल वा घिउमा भिजाएर वालेपछि निष्कने ज्योति विशेषको नाम दीप हो । वैदिक सनातन धर्ममा दीपलाई क्रियमाण कर्मको साक्षी मानी पूजन, यजन गर्ने पद्धति रहेको छ । यो परम्परा वुद्धधर्ममा पनि व्याप्त भएकाले गुम्बामा प्रशस्त दीपहरु बालेको पाइन्छ ।

केवल हिन्दु र बौद्धधर्ममा मात्र नभएर अन्य अर्वाचीन धर्मावलम्वीहरुले समेत दीप प्रज्वलनको परम्परा आत्मसात् गरेको देखिन्छ । त्यतिमात्र होइन, सामाजिक एवं राजनैतिक कार्यक्रमको समुद्घाटनमा समेत दीपप्रज्वलनलाई महत्त्वका साथ हेरिन्छ । यो उदात्त वैदिक संस्कृति र परम्पराको स्वाभाविक विस्तार हो ।

दीपलाई वैदिक कार्यको साक्षी मानेर कर्मसाक्षी मान्ने गरिएको छ । दीपप्रज्वलन सामान्य कार्य जस्तो देखिए पनि यसको रहस्य गहन रहेको छ । उपनिषद्मा भनिएको छ । असतो मा सत्गमय, तमसो मा ज्योतिर्गमय, मृत्युर्मा अमृतं गमय
(अर्थः असत् मार्गबाट सत् मार्ग तर्फ उन्मुख गराउ, हे भगवन् ! अन्धकारबाट ज्योतिर्मय आलोकमा लैजाउ, अनि मृत्युबाट अमरताको गति दिलाउ । ) यस्तो वैदिक आर्ष सभ्यता भित्रको गहन चिन्तनको प्रभाव हाम्रो समाजमा आज होइन, हजारौ वर्ष अघि वैदिक कालदेखि नै परेको देखिन्छ ।

असत्यलाई जतिसुकै तर्कको कसी लगाए पनि सत्य हुदैन, त्यसैले असत्यलाई पनि जान तर सत्यलाई मान, यो हाम्रो वैदिक आदर्श हो । सन्सारका हरेक व्यक्तिलाई मन नपर्ने, जतिसुकै भयभीत भएपनि नछोड्ने अमूर्त वस्तु हो मृत्यु । मृत्यु शाश्वत् प्रक्रिया हो ।

यो मृत्युलाई मोक्षमा वदल्ने सशक्त साधन ज्ञान हो । “ज्ञानान्नृते न मुक्तिः” ज्ञानविना मोक्ष सम्भव हुदैन भन्ने वेदान्त दर्शनको कथन अनुसार ज्ञान नै मोक्षको साधन हो । अन्धकारमा हामी धेरै वेरसम्म रमाउन सक्दैनौ, अन्धकारमा भय पनि बड्दछ । अन्धकार अज्ञानको प्रतीक हो, ज्ञानको अभावमा मानव भयाक्रान्त हुन्छ । अन्धकारलाई हटाउने एउटामात्र साधन प्रकाश भए झै अज्ञानलाई हटाउने एकमात्र साधन ज्ञान हो ।

दीप ज्ञानको प्रतीक हो । दीपको ज्योतिले अन्धकार मार्ने होइन, प्रकाशमा स्वतः अन्धकार नरहने मात्र हो । त्यसरी नै अज्ञान मासिने चीज नभएर ज्ञान प्राप्त हुने साथ विलय हुने चीज हो । यतः हाम्रो सनातन सभ्यतामा दीपलाई ज्ञानको प्रतीक मानिएको छ । हामी दीपको पूजन गरेर प्रार्थना गर्दा निम्न श्लोकलाई गान गर्दछौ ।

जस्तैः

शुभं भवतु कल्याणम् आरोग्यं सुखसम्पद ः ।
आत्मज्योतिप्रकाशाय दीपज्योति नमोऽस्तु ते ।।

अर्थः शुभ होस्, कल्याण होस्, आरोग्य, सुख र सम्पदा समेत प्राप्त होस् । आत्माको ज्ञानरुपी ज्योतिलाई प्रकाशन गर्ने दीपज्योति तपाईलाई नमस्कार छ ।

यस कथनले देवालय, घर, चौबाटो आदिमा दीप बाल्ने व्यक्तिलाई शुभ, कल्याण,आरोग्यता, व्यवहारिक सुख, धन दौलत आदि प्राप्त हुने र आत्मबोधको तात्विक ज्ञान समेत प्राप्त हुने कुरा प्रष्ट पारेको छ । वास्तवमा सामाजिक, व्यवहारिक, सांस्कृतिक र धार्मिक कार्यको मूल उद्देश्य मानवसमाजलाई सुखी तुल्याउनु हो । जतिसुकै भौतिक सुविधा भए पनि आध्यात्मिक ज्ञान विना मानव सुखी बन्न सक्दैन, किनकि आध्यात्मिक ज्ञानविना मनमा शान्ति हुदैन ।

 

 

अशान्तस्य कुतो सुखम् । ( गीता अ.२ श्लो. ६६ ) मनमा अशान्ति भयो भने व्यवहार, समाज, मनस्थिति र संस्कार समेत विग्रन पुग्दछ । त्यसैले हाम्रा पुर्खाहरुले ज्ञानलाई सर्वोपरि स्थान प्रदान गरेका हुन् । मानवलाई शिष्ट, स्वस्थ र शान्त वनाउन ज्ञान अत्यावश्यक छ ।

यो कुरा बोध गराउन सामाजिक, व्यवहारिक, धार्मिक र सांस्कृतिक कार्यको थालनीमा दीपलाई कर्मको साक्षी बनाउने सभ्यताको विकास भएको हो ।
ब्रह्ममहापुराणमा दीप प्रज्वलनको वैशिष्ट्यलाई यसरी प्रष्ट पारिएको छ ।

दीपदाता नरो नित्यं ज्ञानदीपेन दीप्यते ।।३६।।
(प्रतिदिन दीप प्रज्वलन गर्ने व्यक्ति ज्ञानी बन्दछ, विस्तारै अज्ञानका प्रवृत्तिहरु विलय हुदै जान्छन् ।)
दीपं ददाति यो नित्यं देवतायतनेषु च ।
चतुष्पथेषु रथ्यासु रुपवान् सुभगो भवेत् ।।३७।।
( देवताका मन्दिर, चौबाटो, मार्ग आदिमा दीप वाल्ने व्यक्ति सौभाग्यशाली, सुखी र रुपवान् वन्दछ ।
भवेदुध्र्वगतिर्दीपो न कदाचिदधो गति ।
दाता दीप्यति चाप्येवं न तिर्यग्गतिमाप्नुयात् ।।४०।।

नित्य दीप प्रज्वलन गर्ने व्यक्तिले अधोगति वा नरक जानु पर्दैन, उसका लागि स्वर्गको ढोका खुल्ला हुन्छ । ऊ सधै ज्ञानको प्रकाशले प्रकाशित भएर रहन्छ उसले तिर्यक्योनिमा समेत जानु पर्दैन ।

ज्वलमानं सदा दीपं न हरेन्नापि नाशयेत् ।
दीपहर्ता नरो बन्धं नाशं क्रोधं तमो व्रजेत् ।।४१।।

बलेको दीप हरण गर्नु हुदैन, निभाउनु समेत हुदैन । दीप निभाउने हरण गर्ने व्यक्ति अज्ञानको बन्धनमा पर्छ, ज्ञान नाश हुन्छ, क्रोधी बन्दछ, अज्ञानरुपी अन्धकारमा पुग्दछ ।

दीपदा यान्ति यानैश्च दीपयन्तो दिशो दशः ।
आदित्यसदृशैर्यानैर्दीप्यमाना यथाग्नयः ।।३५।।

यज्ञ, कर्म, आदिमा दीप प्रज्वलन गर्ने व्यक्तिहरु दिशा विदिशा सवै तिर प्रकाशित गर्दै दिव्य सूर्य जस्तै जाज्वल्यमान विमानमा चडेर दिव्यलोक जान्छन् ।
( ब्रह्म म. २१६ अध्याय )
उपर्युक्त ब्रम्हमहापुराणका कथन अनुसार दीप प्रज्वलन गर्ने व्यक्तिलाई आध्यात्मिक ज्ञान प्राप्त गर्न सक्ने क्षमता प्राप्त हुन्छ । प्रतिदिन सन्ध्यामा दीप प्रज्वलन गर्ने व्यक्तिको घरमा लक्ष्मीको वास हुने र दुःख, कष्ट, दरिद्रता जस्ता संकटबाट मुक्त हुने कुरा पद्म महापुराणमा उल्लेख गुरिएको छ ।

 

अझै कार्तिक महिनामा बालिएको दीपको महत्त्व धेरै गाइएकाले आकाशदीप प्रज्वलन गर्ने प्रचलन समाजमा आज पनि व्याप्त छ । भगवान् शिवका मन्दिरमा दीप बाल्न सबैलाई प्रेरणा गर्दै आफूले पनि प्रतिदिन मन्दिरमा दीपामाली गर्नाले कुवेर धनका मालिक भएको कुरा शिव महापुराणमा उल्लेख गरिएको छ ।

शिव मन्दिरमा मात्र नभएर समस्त देवी देवताका मन्दिरमा दीप वाल्नाले अनिष्ट निवारण भई सुख शान्ति प्राप्त हुने कुरा उल्लेख भएको छ । “गृहं हि मन्दिरं प्रोक्तम्” घर पनि मन्दिर नै हो । किनभने घरमा इष्ट देवता, कुल देवता, र ईश्वरकै अंश सचेत प्राणि मानव बस्दछ । त्यसैले घरमा सन्ध्यामा दीप बाल्नु उत्तम मानिएको छ ।

यिनै शास्त्रीय प्रमाणिक मूल्य मान्यताका कारण दीप प्रज्वलनको सभ्यता आर्ष सनातन सभ्यता हो भनी ठम्याउन सकिन्छ ।
कार्तिक कृष्ण अमावश्यका दिन सांझमा धन दौलतकी अधिष्ठातृ देवी भगवती लक्ष्मीलाई आमन्त्रण र पूजनका लागि दीपावली गर्ने प्रचलन पौराणिक कालदेखि नै चलिआएको छ ।

दीपावलीमा हजारौं दीप वाले पनि पहिले सल्काएको दीप केवल एउटा मात्र हुन्छ । एक दीपबाट अनन्त दीप सल्काए झैं ज्ञान पनि एक गुरुबाट अनेकन शिष्यमा विस्तार गर्न सकिन्छ भन्ने दीपावलीले गहन रहस्य उद्घाटन गरेको छ । त्यसैले तिहारलाई दीप र फूलको चाडका रुपमा लिइन्छ ।

धार्मिक, राजनैतिक, सामाजिक जस्ता कार्यक्रमकहरुमा पनि दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्ने गरिएको छ । यी सवै कार्यमा दीप प्रज्वलन गर्नु कार्य सफल भई धन दौलत, सुख, शान्ति, समृद्धि हासिल होस् भन्नका लागि नै हो ।

राजनीति कर्मीहरु समेत कसैको अथवा कुनै कार्यको विरोधार्थ सडकमा निस्कदा विरोधलाई उत्कर्षमा लान कहिले काही टायर जस्ता स्वास्थ्यका लागि हानिकारक वस्तु समेत वाल्ने गर्दछन् । सीमा रक्षार्थ खटिएका सुरक्षाकर्मीसँग विष्फोटक गोलीवारुद साथमा हुन्छ ।

उनीहरुले भयाक्रान्त अवस्थालाई सहज वनाउन फायर गर्दछन् । फायर भनेको नेपाली भाषामा आगो हो । पहिले पहिले विद्युतीय उपकरण पर्याप्त नभएका समयमा रातमा हिड्डुल गर्नु परे हातमा अगुल्टो बोकेर हिड्ने चलन थियो । यसको रहस्य हो हामीलाई आगोले निर्भयता प्रदान गर्दछ तर गलत प्रयोग भए विनाश पनि गर्न सक्छ ।

अग्नि प्रज्वलनले मनमा उत्साह , भयमा निर्भयता प्रदान गर्दछ भने सकरात्मक भावले विधिपूर्वक वालिएको दीपले मानवमा रोग, शोक र अव्यक्त पीडाको मनोवैज्ञानिक त्रासलाई निष्सन्देह विनाश गर्दृछ । यसरी हेर्दा दीप ज्ञानको प्रतीक, रोग शोक भय विनाशक र कर्म साक्षी समेत भएकाले हाम्रा सचेत पूर्वजहरुले हरेक कर्मको प्रारम्भमा दीप वाल्ने प्रचन चलाएका हुन् ।
यसरी हाम्रो सभ्यता दीप वाल्ने सभ्यता हो । घर, मठ, मन्दिर, चौबाटो, वर, पीपल, शमी जस्ता पवित्र वृक्षहरुको फेद, नदी, सरोवर, तालहरुका कीनार जस्ता ठाउहरुमा समेत समय, सन्दर्भ र प्रसङ्गवस दीप वाल्दछौ । पाठ पूजामा त कर्मसाक्षी मानेर प्रथम पूजा दीपकै गर्ने हाम्रो शास्त्रीय र सनातनी परम्परा छ ।

हाम्रो दीपसभ्यताको प्रभाव विश्वका अधिकांश धर्म र अन्य क्रियाकलापमा परेको देखिन्छ । आज वर्थ डे को नाममा वती निभाउने गलत परम्परा हाम्रो गाउ घरमा भित्रदै छ । हाम्रो सभ्यतामा जन्मोत्सवको उदात्त संस्कृति धेरै पहिले पौराणिक युगबाट नै चलेको पाइन्छ ।

जन्मोत्सवमा स्नान गरी पवित्र वस्त्र धारण गरेर विधिपूर्वक अष्टचिरञ्जीवीको पूजन यजन गर्ने, दान गर्ने, गुरु, माता, पिता र मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने गरिन्छ । जन्मोत्सवमा घर अथवा मन्दिरमा दीपप्रज्वलन गरी उत्सव मनाउने समेत परम्परा पाइन्छ ।

यस सन्दर्भमा आफ्नो उदात्त संस्कृति भूली जन्मोत्सवमा ज्ञानको प्रतीक दीप निभाउने र केक काटी जुठो कोचाकोच गर्ने गलत आयातीत परम्परा अगाल्नु आजको सांस्कृतिक अन्वेषणात्मक युगमा कत्ति पनि सान्दर्भिक होइन भन्ने कुरा सचेत मानवले बुज्न आवश्यक छ ।

आधुनिकताका नाममा आफ्नो सांस्कृतिक र सभ्यतागत धरातललाई नजान्नु वा जानेर नमान्नु महामूर्खपन भन्दा अरु केही हुन सक्दैन । त्यसैले कुनै पनि परम्परा छोड्नु र नयाँ शैली अगाल्नु पूर्व तत्परक रहस्यको चिन्तन मनन गर्नु पर्दछ ।
यसरी हेर्दा हरेक कार्यको प्रारम्भमा दीप प्रज्वलन गर्न पूर्वीय वैदिक परम्पराले नै सिकाएको हो । मानव उज्यालो वा प्रकाशमा रमाउने प्राणी हो । दीपले केवल उज्यालोको प्रतिनिधित्व मात्र नगरी ज्ञानको प्रतीकात्मक नेतृत्व पनि गरेको हुन्छ ।

अन्धकारले मानवलाई मनोवैज्ञानिक त्रास पैदा गर्दछ भने गाढा अन्धकारमा वालिएको दीपले मानोवैज्ञानिक त्रास हटाई मानसिक उत्साह प्रदान गर्दछ । उत्साह सफलताको वीज हो । जति विरोध गरे पनि अन्धकार आफै भाग्दैन वरु दीप प्रज्वलन गरे अन्धकार विलय भएर जान्छ ।

त्यसैले अन्धकारबाट उज्यालो तिर उन्मुख हुने वैदिक औपनिषधिक निर्देशनका कारण वैदिक कार्य एवं समस्त वैदिक परम्परामा दीप प्रज्वलनको परम्परा चलिआएको हो । अज्ञानबाट प्राप्त दुर्दान्त दुःख निवारण गर्न एकमात्र उपाय ज्ञान प्राप्त गर्नु हो ।

हाम्रो समाज त्यति खेर मात्र सुखी वन्न सक्दछ, जव ज्ञान एवं सकरात्मक सुज वुजले युक्त बन्दछ । यस सास्वत् सत्य कुरालाई युगौंयुग प्रतीकात्मक रुपमा बोध गराउन दीप प्रज्वलनको परम्परा हाम्रा पूर्वजहरुले चलाएको हुनुपर्दछ । यो पूर्वीय गरिमामय दीप वाल्ने प्रचलन बुद्धधर्म लगायत अर्वाचीन धर्महरु र संस्कारहरुमा आज विश्वभर फैलिएको पाइन्छ ।

सन्ध्यामा दीप प्रज्वलन गर्ने व्यक्तिको घरमा दुःख कष्ट दरिद्रता नरहने शास्त्रीय मान्यताका कारण सन्ध्यादीपको निकै ठूलो महत्त्व छ । वर पीपल समी जस्ता पवित्र वृक्षका फेदमा र चौबाटो चौतारा, देवालयमा दीप प्रज्वलन गर्नाले दुःख निवारण भई धन दौलत प्राप्त एवं मनमा शान्ति हुने भएकाले यस कार्यलाई उत्तम मानिएको छ ।

आत्मिक ज्ञानज्योति जगाउन समेत दीप प्रज्वलनले मनोवैज्ञानिक प्रभाव पारेको हुन्छ । त्यसैले हाम्रो दीप वाल्ने उदात्त सभ्यताको मर्म बुजि जन्मदिन (वर्थ डे) जस्ता कार्यक्रममा दीप निभाउने आयातित गलत परम्परालाई अङ्गाल्नु मूर्खता एवं सभ्यतागत वैमानी हो ।
निष्कर्षमा वैदिक सनातन धर्ममा तुलसी वर पीपल, समी डुम्री, पाख्री जस्ता झार वृक्षहरुको संरक्षण संवद्र्धन र पूजन यजन गरिन्छ । पशु पक्षीहरुको पनि समय सन्दर्भ अनुरुप पूजन यजन परिन्छ । त्यसैले वैदिक सनातन धर्म प्रकृतिका सवै प्राणीमा समभाव प्रवृत्ति भएको विश्वको एक मात्र धर्म हो ।

यसको उदाहरण शनिबार पीपलको पूजा,ठूली एकादशीमा तुलसी पूजा, नागपञ्चमीमा सर्पपूजन, तिहारमा काग, कुकुर,गाइ र गोरु पूजनले स्पष्ट पार्दछ । हाम्रो तिहार चाडले वनस्पति,फूल र पशुपक्षिसँगको तादात्म्य जोड्नाले युगौयुगदेखि प्राकृतिक प्रेम जगाएको पाइन्छ ।

दाजु भाइलाई दिदी वहिनीहरुद्वारा लगाइने टीकाले भातृत्व स्नेह एवम् देउसी भैली र नाचले सामाजिक सद्भाव जगाउने गर्दछ । लक्ष्मीपूजाको दिन दिपावलीले हर्ष र उत्साह जगाउदछ । उत्साह प्रगतिको वीज हो । दीप ज्ञानको प्रतीक हो । अन्धकारको भयलाई दीपको प्रकाशमय आलोकले हटाए झैं अज्ञानको दुर्दान्त पीडालाई ज्ञानले मात्र हटाउन सक्छ भन्ने गहन रहस्यबोध गरेर हाम्रो वैदिक सनातन धर्ममा दीपलाई कर्मसाक्षी मानिएको हो ।

विश्वका धर्म संकृति,संस्कार र सामाजिक कार्य शैलीमा दीप वाल्न सिकाउने हाम्रै पूर्वीय वैदिक सभ्यता हो । सभ्यताप्रति गर्व गरौं, दीप बालौ तर नियतवश दीप न निभाउ ।

२०७७ को तिहार एवम् दीपावली पर्वले सुख, शान्ति समृद्धि, धैर्य, रोगप्रतिरोधात्मक क्षमता र उत्साह सबैमा वृद्धि भएर जाओस् सम्पूर्ण इष्टमित्र, मान्यजन, गुरुजन एवम् सबै सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here