झापामा कोभिडबाट ६५ जना स्वास्थ्यकर्मी संक्रमित, ५४ जनाले कोरोना जिते

0
977

लक्ष्मी उप्रेती,काँकरभिट्टा । 

मुलुकमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित फेला पर्न शुरु भएयता उपचारका लागि अग्रपंक्तिमा रहेका झापा जिल्लाका ६५ जना स्वास्थ्यर्मी संक्रमित भएका छन् ।

तर, झापामा संक्रमितको उपचारमा खटिएका कुनै पनि स्वास्थ्यकर्मीले ज्यान गुमाउनु नपरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दैनिकजसो कोभिड १९ को संक्रमितहरुको उपचारका लागि अग्रपंक्तिमा खटिने ६५ जना स्वास्थ्यकर्मी आफै संक्रमित भएको र ५४ जना कोरोना जितेर काममा फर्किएका छन् ।

कुल संक्रमित स्वास्थ्यकर्मीमध्ये ५४ जनाले कोरोना जितेर काममा फर्किएको कार्यालयका फोकल पर्सन जीवन चैलागाईँले जानकारी दिनुभयो । बाकी ११ हजना स्वास्थ्यकर्मी अझै पनि होमआइसोलेसनमा रहेका छन् । सेवाको भावले झापाली स्वास्थ्यकर्मीहरु उपचारमा खटिएको उहाँको भनाई छ ।

स्वास्थ्य मापदण्ड अप्नाएरै सुरक्षित लुगा पीपी सेट, फेस मास्क, ग्लोब्स सेनिटाइजरलगायतका सुरक्षा सामग्री प्रयोग गरी उपचारमा सक्रिय रहेपनि अन्य व्यक्तिको तुलनामा बढी स्वास्थ्यकर्मी संक्रमित भएको चौलागाईँको भनाई छ । आफ्नो कर्तव्य पालन गर्ने क्रममा स्वास्थ्यकर्मीमा गम्भीर रुपले बिरामी हुने जोखिम बढिरहेको उहाँको भनाई छ । हालसम्म संक्रमणमा परेका ६५ जना स्वास्थ्यकर्मीमध्ये ९ जना चिकित्सक रहेको कार्यालयले जनाएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा मात्रै त्यहाँ कार्यरत ३ चिकित्सकसहित ३० जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डक्टर पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

३ जना चिकित्सक निको भएर दैनिक काममा आए पनि अस्पतालका संक्रमित कुल स्वास्थ्यकर्मीहरुमध्ये ५ जना अझै होमआइसोलेसनमा रहेको अस्पतालले जनाएको छ । यसैगरी, आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एकजना चिकित्सकमा समेत संक्रमण पुष्टि भएपनि उहाँ पूर्णरुपमा निको भएर कामा फर्किसकेको आम्दाले जनाएको छ ।

एकजना चिकित्सकका अनुसार गम्भीर रुपमा संक्रमित बिरामीको ज्यान जोगाउने प्रक्रियाअन्तर्गत अत्यन्त नजिकमा स्वास्थ्यकर्मी हुन्छन्, ती बिरामीहरुमा उच्च मात्रामा कोभिड १९ को भाइरस हुन्छ वा बढी भाइरस लोड भएका बिरामीको नजिक रहँदा स्वास्थ्यकर्मीबढी जोखिममा देखिएका हुन् । निक्कै समयसम्म निरन्तर खटनुपर्नेलगायतका बाध्यताले समेत चिकित्साकर्मी बढी संक्रणमा पर्ने गरेको बताइएको छ ।

अझै पनि चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु नोवल कोरोना भाइरस कोभिड १९ को भाइरससँग सिधा युद्घ लडिरहेको भएपनि राज्यबाट पाउने थप सेवा सुविधा नपाएको गुनासो गरेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चैलागाईँ अझै पनि अस्पताल तथा स्वास्थ्य कार्यालयमा खटिरहेका स्वास्थ्यकर्मीले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएको बताउनुहुन्छ । यसबाट स्वास्थ्यकर्मीहरु निराशा बनेको र काम गर्न समेत उत्साह नथपेको चौलागाईँको भनाई छ ।

झापाली स्वासथ्यकर्मीहरु राज्यको प्रोत्साहन र सुविधाका कारण नभई विशुद्घ मानवीय भावनाले आफ्नो काममा खटिएको उनीहरुको भनाई छ । तर यस्तो बेलामा राज्यले स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने थप सेवा सुविधामा कमि आउन दिन नहुने चौलागाईँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here