कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म

२९ कार्तिक २०७७, शनिबार मा प्रकाशित

नारायण न्यौपाने/काठमाडौँ,

नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग गर्दै आएको छ ।

इमान्दार र गुनिलो जातका रुपमा परिचित कुकुर भैरवको वाहन मानिन्छ । घरको विश्वसनीय पहरेदार कुकुर धेरै मानिसका घरहरुमा पालिने भए पनि वर्षको एकपटक यमपञ्चकको दोस्रो दिनमात्र पूजा गरिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धानमा दर्जासमेत दिएर कुकुर प्रयोग गरेको धेरै वर्ष भइसकेको छ भने नेपाली सेनाले १८ वर्षदेखि शान्ति स्थापना कार्यमा लैजाने गरेको छ ।

महाभारतका अनुसार पाण्डवहरु स्वर्ग जाँदा एउटा कुकुर पनि सँगै गएको थियो । रुसले ‘लाइका’ नामक कुकुर अन्तरीक्षमा पठाएको थियो जुन पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो जनावर बनेको थियो । नेपालमा जङ्गलमा सिकार गर्न भोटेकुकुर लाने पनि चलन छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा ‘शान’ र ‘गामिनी’ नामक दुई कुकुर समावेश गरेको थियो । लाइबेरिया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगिसकिएको छ । लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विस्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिबियामा पनि परिचालन गरेको हो ।

कुकुर पनि क्वारेन्टिनमा

नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पु¥याउँदै आएका छन् । त्यहाँ खासगरी हातहतियार र विस्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षामा कुकुर समावेश गरिएको छ । पछिल्लोपटक लिबियामा गत यही कात्तिक १४ गते ‘किलो’ नामक कुकुर पठाइएको छ भने लिबियाबाट हालै फिर्ता भएको ‘माइकल’ नामक कुकुरलाई सेनाको क्वारेन्टिनमा राखिएको छ ।

सरकारले २०५५ सालमा सेनामा तालीमप्राप्त सैनिक डग राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ सालदेखि तालीम दिइएको थियो । गट्ठाघरस्थित भैरव वाहन गुल्मको डग केनलमा हाल जर्मन सेफेर्ड २३, लेब्राडोर ५४, ककर स्पाइनल पाँचवटा कुकुर तथा मालिनोइज जातका तीन साना छाउरा रहेको गुल्मपति सञ्जीवसिंह सिजापतिले जानकारी दिनुभयो ।

कुकुरमा तीन किलोमिटर टाढासम्मको गन्ध थाहा पाउने शक्ति हुन्छ भने एक पटक सुँघेको कुरा एक घण्टासम्म स्मरण गर्न सक्छ । एउटा कुकुरका लागि तालीम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन रु ३७३ खर्च छ । शान्ति सेनामा सुरक्षा र गस्तीमा खटिने प्रतिजोडाले ८९० र खोज तथा उद्धारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५ अमेरिकी डलर भत्ता प्राप्त हुने उक्त गुल्मले जनाएको छ ।

सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । सामान्यतया एउटा स्वस्थ्य कुकुरले आठ वर्षका उमेरसम्म पूर्णरुपमा काम गर्ने बताइन्छ । यसका अतिरिक्त सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर दुई र जर्मन सेफेर्ड एक तथा चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारी नियन्त्रणका लागि मालिनोइज र लेब्राडोर दुई जातका कुकुर रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले कुकुरलाई समयानुकूल तालीम प्रदान गर्न डग हाण्डलरलाई भारत, पाकिस्तान र बङ्गलादेश पठाउने गरेको छ । सुरक्षा फौजले सञ्चालन गर्ने विभिन समारोहमा समेत खेलकूद र मनोरञ्जनका लागि कुकुर प्रयोग गरिँदै आएको छ । सो गुल्ममा आज सेनाले कार्य जिम्मेवारीमा खटिँदा कुकुरले गर्ने कार्य जिम्मेवारीको नमूना अभ्यास प्रस्तुत गर्नाका साथै कुकुरको सामूहिक पूजा कार्यक्रमको आयोजना ग¥यो ।

‘जोजो’ को मूल्य रु ६ लाख ५० हजार

नेपाल प्रहरीमा पनि वरिष्ठ उपरीक्षकको नेतृत्वमा डग केनेल महाशाखा छ । सो महाशाखा मातहत काठमाडौँ उपत्यकामा ५० सहित मुलुकभर ९६ कुकुर छन् । आठ प्रजातिका कुकुर रहेको उक्त महाशाखामा ‘जोजो’ नामको कुकुर बेलारुसबाट दुई वर्षअघि रु ६ लाख ५० हजारमा खरिद गरी ल्याइएको हो । त्यही कुकुरको सहायतामा गङ्गबँुमा गत वर्ष साउनमा भएको हत्याकाण्डको घटनामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी सफल भएको थियो ।

महाशाखामा रहेका केही कुकुर आफ्नै उत्पादन तथा केही विदेशबाट किनेर ल्याइएका हुन् । विसं २०२६ मा स्थापित सो महाशाखामा कुकुरलाई तालीम दिन तथा हेरचाहका लागि १६५ जनशक्तिको व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणका कारण महाशाखाले यसपालि विगतको जस्तो औपचारिकरुपमा कुकुर तिहार नगरी सामान्य पूजा विधि गरेको थियो ।

सुरक्षाकर्मीले कुकुरको सहायतामा विशिष्ट व्यक्तिको सुरक्षा, हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध बरामद, अपराध अनुसन्धान, प्राकृतिक प्रकोप तथा विपद्का घटनापछिको खोजी एवं उद्धार, वन्यजन्तु चोरी सिकार नियन्त्रण र कार्यक्षेत्रको सुरक्षामा असरदार नतिजा हात पर्दै आएको छ । अर्काे सुरक्षा फौज सशस्त्र प्रहरी बल, नेपालसँग पनि तालीमप्राप्त चार प्रजातिका ३० कुकुर छन् । ती कुकुर खासगरी सीमा नाकाबाट हुने अवैध गतिविधि रोक्न तथा अपराधका घटना पत्ता लगाउन एवं खोज उद्धारमा प्रयोग हुँदै आएको जनाइएको छ ।

विसं २०६२ मा स्थापना भएको उक्त सङ्गठनको पशु स्वास्थ्य तथा डग हेण्डलर सेन्टरलाई भारत र अमेरिकाबाट पनि केही उपहारस्वरुप कुकुर प्राप्त भएको सशस्त्र प्रहरी बलका नायब निरीक्षक रमेश पोखरेलले जानकारी दिनुभयो । सुरक्षा फौजले कुकुरलाई आधारभूत तालीम प्रदान गरेपछि उसको क्षमता पहिचान गरी त्यसका आधारमा विषयगत तालिम दिँदै आएको छ ।

यसैबीच यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ । द्वारपालका रुपमा रहने, घरघर परिवारलाई भरपर्दाे सुरक्षा प्रदान गर्ने तथा आदेशपालक सन्तोषी घरपालुवा जनावर कुकुरलाई माला लगाई मीठो परिकार दिएर पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here