२६ औं वर्ष प्रवेशमा : हाम्रो अपेक्षा र प्रतिबद्धता

१ मंसिर २०७७, सोमबार मा प्रकाशित
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

विषेश सम्पादकीय,

Advertisement

हामी आजदेखि २६ औं वर्षमा प्रवेश गरेका छौं । गत वर्ष रजत महोत्सव मनाएर तन्नेरी भएको सुखद सन्देश र अभिलेख प्रकाशन तथा लोकार्पण गर्नुबाहेक आफैंद्वारा गरिएको प्रतिबद्धता पूरा गर्न हामी असमर्थ रह्यौं । नयाँ रुप रङ् र कलेवरमा पूर्वाञ्चल दैनिकलाई पाठकहरु समक्ष प्रस्तुत गर्न नसक्नुमा वैश्विक महाब्याधी कोराना भाइरस प्रमुख कारण रह्यो । विश्वका सबै ठूला र समृद्ध देशहरुलाई समेत महाविपत्ति बनेर आएको अदृष्य प्रकोपको चपेटामा हामी जस्ता साना, निर्वल र आर्थिक रुपले पछौटे देशको अर्थ व्यवस्था र जीवन पद्धत्ति धरासायी हुनु अनौठो पनि भएन । झण्डै एक वर्ष भइसकेको छ तर पनि त्यसलाई नियन्त्रण गर्न असफल भइरहेको सन्दर्भले मानव सभ्यता नै जोखिममा परेको छ । अझ विकासका पूर्वाधारहरुको निर्माणमा समेत पछि रहेका हामी र हाम्रो देशमा कोरोना कहरले उत्पन्न गरेको मानसिक, आर्थिक, भौतिक क्षति तत्काल पूर्ति हुने सम्भावना पनि छैन ।

यस्तो विषम परिस्थितिमा राज्यको चौथो अंग भनिएको सञ्चार जगतले भोग्नु परेको अतिशय पीडा कल्पनातीत रह्यो । ठूल्ठूला सञ्चार गृहहरु नै आर्थिक मन्दीको चपेटामा परे । श्रमजीवी सञ्चारकर्मीहरु त्यसको शिकार बने, पेशाबाट बेदखल भए र बेरोजगारी बढ्यो । कतिपय प्रकाशन संस्थाहरु अनियमित भए, कतिले जसोतसो उपस्थिति जनाए । बन्द व्यापार, उद्योगधन्दा प्रभावित भए परिणाम सञ्चार संस्थाले समेत त्यसको मार खप्नु प¥यो । सञ्चार क्षेत्र समाजका तीनै अवयवहरुको सुसञ्चालन, आपसी सम्बन्ध, सहयोग र हातेमालोबाट व्यवस्थित हुने सत्यलाई अस्वीकार गर्न मिल्दैन । त्यही कारण सञ्चार क्षेत्रका छापा तथा विद्युतीय माध्यमहरु पनि प्रभावित हुन पुगे । त्यसकै परिणाम हो कि हामी आफूले गरेको बाचा पूरा गर्न असमर्थ भयौं ।

श्रीअन्तु प्रकाशन प्रालिको प्रकाशनको रुपमा जन्मिएको पूर्वाञ्चल दैनिकले मोफसलबाट प्रकाशन हुने अन्य समाचारपत्रहरुको जस्तै अनेक आरोह—अवरोहहरु झेलेको छ । अत्यन्त कष्टकर क्षणमा समेत “अबोलाको बोली” बनेर समाजलाई सुसूचित गर्दै विद्यमान विकृति र विसंगतिविरुद्ध खबरदारी गरेको छ । आफ्नो व्यवसायिक, धर्म निर्वाह गर्ने क्रममा अनेक हण्डरहरुको सामना गरेको छ । त्यही कर्मनिष्ठता र निरन्तरताको प्रतिफल ठानेका छौं कि हामी हाम्रा शुभेच्छुक, विज्ञापनदाता, पाठक तथा सहयोगीहरुको सद्भावले पुलकित छौं ।

सञ्चार क्षेत्रमा भएका पछिल्लो उपलब्धिहरुलाई उपयोग गर्दै लेटरप्रेसबाट अपसेट प्रविधिमा रुपान्तरण भई आफ्नो आकार र मात्रा बढाउँदै पूर्वी नेपालका साथै भारतीय सीमान्त क्षेत्रहरुमा समेत पुग्न सफल भएका छौं । हजारौं पाठकहरुको स्नेहासिस प्राप्त गर्दै अनलाइन प्रविधिबाट विश्व समाज समक्ष आफ्नो उपस्थिति जनाउन सकेका छौं । यही स्नेह, सद्भाव र सहयोगबाट अभिप्रेरित हुँदै रंगिन कलेबरमा प्रकाशन गर्ने प्रतिबद्धता कोरोना कहरकै कारण पूरा गर्न नसकेको प्रति क्षमा याचना गर्दै लक्ष प्राप्त गर्ने अठोट र संकल्प पूरा गर्न कटिबद्ध रहेन प्रण गर्दछौं । हाम्रा सामान्य चुनौतिहरु पनि थुप्रै छन् तर हाम्रो सामुहिकता र आपसी अग्रसरताले ती सबै चुनौतिहरुको सामना गर्ने हाम्रो विश्वास छ । त्यसकै नतिजा हो कि हामी कस्तै विपतमा पनि हराएका छैनौं, सुस्ताएका छैनौ बरु अझै उर्जाशील र संघर्षशील बनिँदै सामुहिकतामा रमाएका छौं ।

समाज रुपान्तरण गर्न सामाजिक चेतना जाग्रत हुनै पर्छ । विभिन्न जात जातिको भाषा, साहित्य र संस्कृतिको उत्थानबिना समाज रुपान्तरण हुन सक्दैन । त्यसका लागि सहिष्णुता, सद्भाव, सहयोग र समभाव आवश्यक हुन्छ । हाम्रो पाइला त्यसतर्फ पनि लक्षित छ । अनेकताबीचको एकताले समाज सुदृढ हुन्छ, भाषा साहित्यको संरक्षण र उत्थानले जातीय पहिचान कायम गर्न सकिन्छ । त्यही उद्देश्यले यही वर्षदेखि विभिन्न भाषा र साहित्यको सम्वद्र्धन गर्न मोफसलमै पहिलोपटक एउटा चौतारी निर्माण गरेका छौं । त्यसको शुरुवात किराँत श्रीजङ्घा लिपिको सूचना, समाचार र सामग्री प्रकाशन गर्ने सुखद सन्देश सम्प्रेषण गर्न पाउँदाको आनन्द प्रकट गर्दछौं ।

प्रकाशनको २६ औं वर्ष प्रवेशको यो सुखद क्षणमा अपसेट प्रविधि भित्र्याउने इतिहास निर्माण गरेको पूर्वाञ्चल दैनिक आज पर्यन्त प्रेस काउन्सिलद्वारा क श्रेणीमा वर्गिकृत भइरहन यहाँहरुको साथ, सहयोग, शुभेच्छा र सद्भाव सहायक रहेको हाम्रो विश्वास छ । या क्षणमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, अग्रज तथा सञ्चारकर्ममा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पु¥याउनु हुने सबैप्रति उच्च सम्मान प्रकट गर्दै त्यसको निरन्तरताको अपेक्षा गर्दछौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here