बिर्तामोड।

बिर्तामोड नगरपालिका–१ मा कित्ता नम्वर नै हेरफेर गरेर जग्गा हडप्ने कार्यमा वडा कार्यालयको कुनै संलग्नता नरहेको बताइएको छ । बिर्तामोड–१ मा पर्ने जग्गाको सिफारिसबारे वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
पाण्डे विज्ञप्ति निकालेर अन्योलता र भ्रम छरिन गएकोले स्पष्ट पारिएको जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा वडा नम्बर १ स्थित सिने प्लाजानजिकै रहेको ७ कठ्ठा जग्गाको विषयमा वडाले गरेको सिफारिसलाई लिएर केही व्यक्तिहरुले आरोप लगाएजस्तो अवस्था नरहेको र वडाले नापी शाखाको नाप नक्साको आधारमा सिफारिस गरेको प्रस्ट पार्न चाहन्छु ।’
सो कित्ताका निवेदकको मागदाबी, जग्गाको नक्सा र अरु आवश्यक प्रमाणका आधारमा नै सिफारिस गरिएको पाण्डेले जनाएका छन् । जग्गा बिक्रिका लागि सिफारिस गर्दा कतै पनि फिल्डमा गएर हेर्ने प्रचलन नभएको र विज्ञप्तिमा उल्लेख छ ।
पाण्डेले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘वडाले हेर्ने प्रमाण भनेकै नापी शाखाबाट प्रमाणित उपलब्ध जग्गाको नक्सा आर्थिक वर्षको मालपोत तिरोतिरेका रसिद सम्बन्धित जग्गाधनीले दिएको निवेदन, नागरिकताको फोटोकपी र धनीपूर्जाको फोटोकपी हो । यद्धपी, त्यहाँको कित्ता नम्बर ५४७ लाई ६२२ बनाइएको बारेमा वडा कार्यालय जानकार हुने कुरा पनि होइन ।’
नापी कार्यालय झापाका कर्मचारीले ५४७ नम्बरको कित्तालाई ६२२ बनाएको देखिएको विज्ञप्तिमा जनाइएको छ । नापी शाखाका कर्मचारीले नक्सामा कित्ता नम्बर परिवर्तन गरेको कुरा नापी कार्यालयले नै स्वीकार गरिसकेको छ । यसैबीच, घटनालाई लिएर बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले नगरपालिकाको तर्फबाट नापी शाखामा सो नक्साको कित्ता फेरबदल गर्ने कर्मचारीलाई कारबाही गर्न पत्र पठाएका छन् ।
पुराना प्रमाणित नक्सालाई सामेल गरी ५४७ कित्ता नम्बर कायम गर्न सिफारिस गरिएको छ । पाण्डेले यो कार्यमा संलग्न कर्मचारीहरुमाथि कारबाहीको माग पनि गरेका छन् ।




























