योगको फाइदैफाइदा

४ मंसिर २०७७, बिहीबार मा प्रकाशित


योगको शाब्दिक अर्थ जोड्नु हो । आत्माको परमात्मासँगको जोडलाई नै योग भन्ने गरिन्छ । योग शब्दको सामान्य अर्थ सम्बन्ध पनि हो । पतञ्जलिको सिद्धान्त अनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । वास्तवमा हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा–नराम्रा वृत्ति उत्पत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।

रोगीका लागि योग चिकित्सा पद्धती हो भने निरोगीका लागि जीवन पद्धती हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्वलताबाट सबलता, जीवनबाट ब्रह्मतर्फ, प्रत्यक्षबाट परोक्ष एवम् सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् । संक्षेपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।

अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । त्यसैले योग एउटा जीवनशैलीको रुपमा हेर्नुपर्छ र बनाउनुपर्छ ।

खानपिन ब्यस्त जीवनले गर्दा योगको महत्व दिनानुदिन बढिरहेको छ । हाम्रो शरीरभित्र अनेक बिषादि तथा विकारहरु शरीरमा प्रवेश गरिरहेको छ । जसले गर्दा हाम्रो शरीरको रोग प्रतिरोधात्मकमा ह्रास आइरहेको छ । पहिले–पहिले उमेर कटेपछि मात्र योग तथा ध्यान गर्नुपर्छ भन्ने मान्यता थियो । अहिले सानो उमेरदेखि नै यसमा आकर्षण बढेको देख्न सकिन्छ । कोरोना भाइरस आएदेखि यसबाट बच्न र शरीरको रोग प्रतिरोध क्षमता बढाउन मान्छेहरु यसमा तल्लीन भएको देखिन्छ ।

शरीर स्वास्थ शान्त मन विभिन्न रोगहरु बच्न यसको अभ्यास गर्न जरुरी छ । २० मिनेटको अभ्यासले हाम्रो मानसिक र भावनात्मक रूपमा परिवर्तन ल्याइदिन्छ । सकारात्मक ऊर्जा, एकाग्रता, मन शान्त, स्फूर्त–पÞmुर्तिलो योग गरेपछिको अवस्था हो । अहिले मान्छेहरु व्यस्त जीवनशैली अपनाइरहेका छन् । पैसा कमाउने घर–घडेरी जोड्ने एश आरामको जीवनको खोजीमा भौतालिएका छन् । सुखको खोजीमा आफैंभित्र रहेको खुशी शान्तिलाई चिन्न सकिरहेका छैनन् । आफैंलाई नियाल्ने समेत फुर्सद नभएपछि मान्छेहरु तनाव बेचैन छट्पटिएका छन् । बालबालिकाको उमेर मै डिप्रेशनको शिकार भएका छन् । मान्छेभित्र यति धेरै तनाव बढेको छ । मान्छेभित्र यत्तिकै रिस पलाउँदै गएको छ ।

योगलाई आमरूपमा शारीरिक अभ्यासको वा आसनरूपको रूपमा मात्र बुझ्ने गरिएको छ । तर, योगलाई जीवनको सबै आयामसँग जोडेर बुझ्नुपर्छ । योगका शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक पक्षहरू छन् । तसर्थ, योग समग्र जीवनको विज्ञान हो । योगले एकातिर सांसारिक जीवनमा स्वस्थ्य, खुशी, ऊर्जाशील, सिर्जनशील, तनावरहित जीवन बाच्नका लागि मद्दत गर्दछ भने अर्कातिर योग साधनाकै मार्गबाट आध्यात्मिक जागरणको ढोका खोल्न सकिन्छ । तर, यी दुई भिन्न उद्देश्यका लागि गरिने योग अभ्यासहरू फरक–फरक हुन्छ ।

आम मानिसले आफू कुन उद्देश्यका लागि योग अभ्यास गर्दैछु भन्ने कुरामा प्रष्ट हुनुपर्छ । योग जीवन बिताउन थालेपछि आध्यात्मको बाटो खुल्छ । खरानी लगाएर हिँड्नु अथवा मन्दिरमा गएर भजन गाउनु मात्र होइन । आध्यात्मिक जीवन भनेको मनमा उठेको भावनाप्रति सजग हुनु पनि हो । हाम्रो जीवनमा भएको सकारात्मक र नकारात्मक पक्षमा विचार गर्नु पनि हो । हाम्रो घर–परिवारमा योग ध्यान गर्ने भविष्यमा साधु सन्त जोगी नै हुन्छ भन्ने गलत धारणा छ । स्वास्थ शरीर, शान्त मनका लागि योग जीवन लागि अपहार्य छ । आजको भागदौडको समयमा खुशी, तनावरहित, रोगरहित जीवन जिउनको लागि यसको महत्व बढेको हो ।
योगका प्रकार

ज्ञान योग :

ज्ञान योगको बारेमा गीतामा शिक्षाद्वारा आफ्नो सम्पूर्ण जगतमा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ । ज्ञानभन्दा शुद्ध चिज संसारमा केही छैन् । आत्मज्ञानले ब्यक्तिलाई समाधिसम्मको यात्रा गराउँछ ।

कर्म योग :

भागवत गीतामा कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । कर्म नै पूजा हो । आराधना हो । निष्काम कर्म नै गीताको मुख्य एकमात्र सार हो । श्रद्धा र भक्ति आस्थाले गरेको पनि योग हो भनिएको छ । हामी आफ्नो जीवनको लागि जुन कर्म गर्छौ त्यसमा भक्तिपूर्वक हुनुपर्छ । खराब कर्म र असल कर्मले यसले फरक पर्दछ ।

भक्ति योग :

भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवानको सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्छन्, उही योगी परमसिद्ध हुन्छ्न्, भगवानसँगको साक्षात्कारको लागि भक्तियोगको मार्ग अवलम्बन गर्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here