‘नेकपाभित्र कोरोना जस्तो समस्या छैन’

४ मंसिर २०७७, बिहीबार मा प्रकाशित

भद्रपुर ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेकपा पार्टीभित्र कोरोनाभाइरस जस्तो समस्या नरहेको बताएका छन् ।

प्रेस संगठन झापाद्वारा आयोजित कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले पार्टीको स्वास्थ्य अवस्था राम्रो नभएको भन्दै रातभरि १०४ डिग्रीभन्दा माथि ज्वरो आएको र रुघाखोकी लागेकोले ज्वरो अझै बढ्दै जाने हो कि चिन्ता रहेकोमा नेकपाका हितचिताउने नेताहरूले पानीपट्टी लगाउने काम गरेकाले अहिले ज्वरोको घटेको बताए ।

‘पार्टीभित्र मौसमी ज्वरो र रुघाखोकी लागेको हो, कोरोना भाइरस भने होइन– उनले भने– ‘मौसमी ज्वरो र रुघाखोकी जस्तै पार्टीभित्र समस्या देखिएकोले मौसम परिवर्तनसँगै यो समस्या पनि परिवर्तन हुन्छ ।’ बिर्तामोडस्थित नेकपाको पार्टी कार्यालयमा बुधवार आयोजित प्रेस सङ्गठन जिल्ला कार्यसमिति झापाको शपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सङ्कट अझै समाप्त भइ नसकेको बताए । उनले पार्टीका उच्च तहका नेताहरूले मात्र होइन, देशभरका पार्टी कार्यकर्ताहरूले पनि यसलाई महसुस गरेर पार्टी फुटाउनु भन्दा पनि एकताकै पक्षमा रहेको बताए ।

उनले भने– ‘यस्तो सङ्कटको अवस्थामा हामीसँग दुईवटा हात छ, दुइटै हातमा पेट्रोल बोक्ने होकि पानी बोक्ने हो ? आगो अलिअलि बलेकै छ, पेट्रोलले तत्काल केही ऊर्जा दिन्छ, तर पानीले ऊर्जाको जीवन दिन्छ, यो कुरा पार्टीका नेता र कार्यकर्ताले बुझ्नु पर्छ ।’

प्रेसको प्रसङ्गमा बोल्दै मन्त्री भट्टराईले अहिले प्रेस जगत पुँजीवादीहरुको कब्जामा रहेको आरोप लगाए । ‘देशमा कम्युनिस्ट पार्टी आएकोमा, सरकार बनेकोमा उनीहरूको असन्तुष्टि, आक्रोश र छटपटी प्रेसमा छताछुल्ल देखिन्छ –उनले भने– ‘एउटा पत्रकार बामपन्थी र स्वतन्त्रताको पक्षमा जतिसुकै राम्रो लेखोस्, ऊ त एउटा नेकपाका सदस्य पत्रकार भनिन्छ । तर पत्रकारको ‘नम्स’ जान्ने पत्रकार व्यवसायिक पत्रकार हुन्छ ।’

प्रेस सङ्गठन झापाका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित सदस्यहरूलाई प्रेस सङ्गठन प्रदेश नम्बर १ का संयोजक राजन केडीले शपथ ग्रहण गराएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here