केराको मूल्य आकाशियो

४ मंसिर २०७७, बिहीबार मा प्रकाशित

लक्ष्मी उप्रेती,काँकरभिट्टा ।

दशैं र तिहार सकिए लगत्तै अहिले अर्को महत्वपूर्ण पर्व छठको चहलपहल शुरु भइसकेको छ । यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मंसीर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मंसीर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । खासगरी छठमा फलफूलको बढी प्रयोग हुने गर्दछ ।

बजारमा छठमा प्रयोग हुने फल केरा किन्नेहरुको भीड लागेको छ । तर, मूल्यमा बृद्घि भएकाले सर्वसाधारणहरु भने मारमा परेका छन् । छठ पर्वको मुख्य दिन चाहिने केराको मूल्य एक्कासी बृद्घि हुँदा मारमा परेको सर्वसाधारणले बताइरहँदा विक्रेताहरु भने आफूहरुले मंहगो मूल्यमा खरिद गरेका कारण विक्री पनि सोही अनुसार गर्नुपर्ने बताउँछन् ।

छठका बखत बजारमा केराको मूल्य बढेको बताउँदै फलफूल व्यवसायी जयनारायण सहनीले आफ्नो खरिद नै मंहगो भएकाले मंहगो मै विक्री गर्नु परेको बताए । अहिले कोरोना भाइरसका कारण माग अनुसारको केराको आपूर्ति नहुँदा समस्या भएकोले उपभोक्ताहरुले दोब्बर मूल्य तिरेर केरा किन्न बाध्य भएको उनको भनाइ छ । यसअघि प्रति घरी साढे तीन सय रुपैयाँ पर्ने केराको मूल्य बढेर ६ सय रुपैयाँसम्म पुगेको एस एम के फ्रुट्स ट्रेडर्सका सञ्चालक विनोद सहनीले बताए ।

नगरमा छठ पर्वको लागि चम्पा केरा, मिर्चमान केरा र गोपाल केरा आउने गर्दछ । तर यस पटक गएको वर्षभन्दा करिब ३० देखि ५० प्रतिशतले केराको आयातमा कमी आएको फलफूल व्यवसायीको भनाइ छ । फलफूल व्यवसायी जयनारायण यादवले यसपटक केराको बजार मूल्य अत्यधिक बढेको स्वीकार गरे । उनका अनुसार बजारमा माग अनुसारको केराको आपूर्ति नभएको र छठ पर्व परेका कारण पनि बजारमा केराको मूल्य बढेको हो ।

छठ पर्वमा प्रसादका रुपमा प्रयोग हुने भोगटे, केराको घरी, नरिवल, उखु, बेसार, अदुवा लगायतका फलफूलको विक्री बढेको व्यापारीहरु बताउँछन् । बजारमा कोनिया, ढाकी, केरा, नरिवल, भोगटे, माटोका घैला, पालालगायत छठका लागि आवश्यक सामग्रीको कारोबार बढेको छ । सर्वसाधारणले भने यी सामग्रीहरुको विक्री बढेसँगै मूल्यसमेत बढेको गुनासो गरेका छन् । अन्य समयभन्दा ३ गुणा बढी मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ ।

उनीहरुका अनुसार अन्य समयमा १ सय ५० रुपैयाँ पर्ने नाङ्लोलाई अहिले बजारमा १ सय देखि २ सय रुपैयाँ, यस्तै कोनियालाई ८० रुपैयाँ र ढाकीलाई २ सयदेखि ३ सय रुपैयाँसम्म पर्ने गरेको छ । छठमा माटोबाट बनाइएका सामग्रीहरुको समेत विक्री बढेको छ । माटोको घैंटो, दीप, ढकना, हात्ती, सरवा लगायतका सामग्रीको विक्री बढेको हो ।

तर, मेचीनगर नगरपालिकाले अघिल्ला वर्ष झै यस वर्ष खोलानाला, तलाउ र जलाशयमा गएर अस्थायी मण्डप बनाएर छठ नमनाउन आग्रह गरेका कारण नगरमा पहिलाको जस्तो छठको रोनक छैन् । मेचीनगरमा मात्र होइन कोरोनाका कारण झापामै विगत वर्षजस्तो छठको रौनक छैन । यस वर्ष भने कोरोना महामारीका कारण छठस्थलमा विधिमात्र पूरा गर्न प्रशासनले आह्वान गरेको छ । कोरोना फैलन सक्ने भएकाले छठस्थलमा रात नबिताउनसमेत प्रशासनले निर्देशन दिएको छ ।

खोलानाला र जलाशयको सरसफाईको काम समेत शुरु भएको छैन् । छठमा खोला, नदी, पोखरी तथा जलाशयहरुमा गएर सूर्य (छठी माता)को पूजाआराधना गरिन्छ । अरु समय फोहोरले दुर्गन्धित हुने नदीनाला तथा जलाशयहरुमा घाट निर्माण गर्न अहिले भ्याइनभ्याई हुन्थ्यो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here