छठी माताले सबैको कल्याण गरुन्

५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

नेपालीले मनाउने सर्वाधिक ठूलो पर्व दशैं र त्यसपछि आउने तिहारको समापन भएको छ । तिहारपछिको ठूलो र महत्वको चाड छठले समेत नेपालीलाई आनन्द प्रदान गर्दछ । वैदिक सनातन धर्मका सम्पूर्ण पर्वहरु प्रकृतिको वरिपरि घुमेका छन् । अर्थात् वैदिक संस्कृतिले प्रकृतिलाई पूजा गर्न सिकाएको छ । त्यसकै आधारमा हाम्रो जीवन प्रारम्भ भएको छ भने प्राणी जगतको बाँच्ने आधार पनि प्रकृति नै हो । त्यही कारण प्रकृति पूजक जाति भनिने सनातनी सभ्यताका अनुचरहरुले विभिन्न समय विभिन्न चाडपर्वहरु मनाउँछन् । तिनैमध्ये पर्ने छठ षष्ठी तिथिको अपभ्रंश मानिन्छ । शुरुमा तराईबासीहरुले मनाउने गरेको छठ हिजोआज हिमाल, पहाड, तराई र उपत्यकाबासीको साझा पर्व बनिएको छ । सद्भाव, भ्रातृत्व र स्नेहको पर्वका रुपमा समेत मनाइने यो पर्वले मूलतः सूर्यको पूजा आराधना गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

Advertisement

त्यसो त पृथ्वी स्वयम् प्रकृति हो भने ब्रह्माण्डमा रहेका सबै ग्रह–उपग्रहहरु पनि प्रकृतिकै अंश हुन् । त्यसमाथि सूर्य सर्वाधिक ठूलो ग्रह हो जसले पृथ्वीबासीलाई प्रकाश, ताप, न्यानोपन र वर्षा दिएर सम्पूर्ण प्राणी र वनस्पतिलाई जीवन दिन्छ । त्यहीकारण सूर्यलाई शक्तिको मूलस्रोत मानिएको छ । वैदिक सनातन धर्मका सबै चाडपर्वहरु पृथ्वी र ऊर्जाको वरिपरि घुमेका छन् जसको वैज्ञानिक महत्व छ । छठ पर्व सूर्य देवको अनुष्ठान गर्ने पर्व भएको र सूर्यसँग मानव अस्तित्व जोडिएकाले यो साझा पर्वमा नदी, ताल, पोखरीहरुलाई सफा पारिन्छ । त्यस्तै पूजास्थलसम्म पुग्ने सडक सफाई गर्नुका साथै नदी किनारमा भएका झारपात उखेलेर, केराका थम्बा गाडेर, बत्तीले सजाएर सुन्दर बनाइन्छ । कात्तिक शुक्ल चतुर्थीबाट शुरु हुने पर्व षष्ठीका दिन अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएर समापन हुन्छ ।

यो वर्ष वैश्विक महामारी कोभिड–१९ का कारण मानव अस्तित्व नै संकटमा परेको छ । यसका कारण हाम्रा चाडपर्वहरु मात्र होइन जीवन पद्दति नै अनियमित भइरहेको छ । त्यसको संक्रमणबाट जोगिन सरकारले स्वास्थ्यको मापदण्ड निर्धारण गरेको छ । जसअनुसार भीडभाड गर्न, अनावश्यक हिँडडुल गर्न रोक लगाइएको छ । त्यहीकारण यसपटकको छठ पर्व पनि विगतको जस्तो नदी, तलाउ, कुण्डहरुमा धुमधामका साथ मनाइने छैन । कोभिड संक्रमणबाट जोगिए आउँदो वर्ष हर्षोल्लासपूर्वक मनाउने संकल्प गरौं । सूर्यको ताप, प्रकाश र ऊर्जा सदा प्राप्त भइरहोस् । प्रकृतिलाई पूजा गर्ने र प्रकृति र मानव जातिकाबीचको गहिरो सम्बन्ध बलियो होस् । सूर्यले पृथ्वीका साथै सम्पूर्ण प्राणी र वनस्पति जगतको रक्षा गरुन्, छठी माताले सबैको कल्याण गरुन्, छठ पर्वको सबैलाई शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here