कोरोना महामारीमा छठ

५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

Advertisement

मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्य देवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व नेपालीका घरघरमा शुरु भएको छ । हरेक वर्षको कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्य देवको आराधना, उपासना र पूजाको पर्व छठ बुधबारबाट मनाइरहेका छन् । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो । सूर्यको उपासना गर्ने र शुद्धताको प्रतिक भएकाले तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व हाल पहाड र हिमाली क्षेत्रसम्म पनि मनाउन थालिएको छ । सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् ।

सर्वप्रथम छठीमाताले सूर्य देवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्य देवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ । अत्रिमुनिकी पत्नी अनुसुयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ ।

सूर्य पूजा र दर्शन गरी विवाहित महिला पुरुषले पति–पत्नीको दीर्घायू एवम् अविवाहित केटाकेटीले सुयोग्य वर–वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पति प्रेम प्राप्त भएपछि अरुले पनि छठ मनाउने परम्पराको शुरुवात भएको अनुयायीको भनाइ छ । कात्तिक शुक्लपक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण विगतका वर्ष जस्तो यस वर्ष छठको रौनक छैन र पनि मिथिलाञ्चल सँगसँगै नेपाल, भारत लगायत विभिन्न मुलुकहरुमा छठ पर्व मनाइँदैछ ।

सूर्यलाई कुष्ठरोग लगायत धेरै किसिमका रोगबाट मुक्ति दिलाउने जिउँदो देवताका रुपमा पुजिन्छ । महाभारतकालमा द्रौपदीले पनी आफ्ना परिवार र सन्तानका लागि छठ मनाएको उल्लेख छ । तिहार सकिएलगत्तै मिथिलाञ्चलसँगै देशभरि नै छठ पूजा सामग्री किनमेल अनि घर–घरमा छठका मैथिली लोकगीतको धुन सँगै छठको व्रत भइरहेको छ । पहिला मिथिलाबासीले मात्र गर्ने पर्वको रुपमा हेरिए पनि अहिलेको समयमा यो महापर्व एउटा मात्रै समुदायमा सिमित छैन । हिमाल, पहाड, तराईसँगै सबै जातजाति अहिले छठ पूजा गर्न थालेका छन् । छठ पर्व गर्दा सबै मनोकामना पूरा हुने सन्तान प्राप्ति हुने विश्वासले गर्दा पनि यो पर्वको लोकप्रियता बढ्दो छ । एक पुस्ताबाट अर्को पुस्तालाई हस्तान्तरण गर्ने विधि हाम्रो घरमा पनि आमाले लगभग ५१ वर्षअघि हजुरआमाबाट यो व्रत गर्ने संकल्प लिएपछि शुरु भएको ५० वर्ष लामो संस्कारलाई एक वर्षअघिदेखि मेरी जीवन संगिनीले आमाबाट व्रत गर्ने संकल्प लिएकी छिन । तर, यसपाली छठ पर्व केही निरश हुने चिन्ताले सताएको छ ।

किनभने पछिल्लो वर्षहरुको तुलनामा यसपाली केही भिन्न हुने भएर हो । बिल्कुलै सात्विक अनि शुद्ध तरिकाले गरिने यो व्रत कात्तिक शुक्ल चतुर्थीका दिनबाट शुरु भई कात्तिक शुक्ल सप्तमीको दिन सम्पन्न हुन्छ । व्रतको पहिलो दिन जसलाई नहाय खाय भनिन्छ अर्थात् कात्तिक शुक्ल चतुर्थीको दिन बिहानै व्रतालुहरु आफ्ना नङ्ग काटी नुहाइ–धुवाइ गरी सात्विक भोजन ग्रहण गरी व्रत शुरु गर्छन् । वर्तको दोस्रो दिन कात्तिक शुक्ल पञ्चमी अर्थात् खरना यो दिन व्रतालुहरु दिनभर निराहार व्रत बसी बेलुकी पूजा–उपासना गरेर राति सक्खर अनि विशेष किसिमको (साठी)चामलबाट बनाइएको खिर, रोटी अनि फलफूल चढाइ इष्टदेवतालाई अर्पण गरी सपरिवार ग्रहण गरिन्छ । व्रतको तेस्रो अनि मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीको दिन व्रतालुहरु दिनभर भोकै बसी बाँसबाट बनाइएको ढाकी र कोनियामा प्रसाद राखेर नदी, पोखरी वा तलाउमा बनाइएको घाटमा भेला भई अस्ताउँदो सूर्यलाई सध्या अघ्र्र्य दिएर रातभरि नदी किनार मै जाग्राम बसी भजनकिर्तन गरी मनाउँछन् ।

व्रतको चौँथो दिन कात्तिक शुक्ल सप्तमी अर्थात् पारण यो दिन व्रतालुहरु बिहानै उदाउँदै गरेको सूर्य देवलाई अघ्र्र्य दिएर यो वर्त को समापन गर्छन् । यसरी चार दिन लामो यो कठिन व्रत व्रतालुहरुले आफ्ना सम्पूर्ण परिवार अनि सन्तानको दीर्घजीवन आयु, आरोग्य अनि सदैव मंगलको कामना गर्दै समापन गर्छन् । शुद्ध घ्यूबाट बनाइने ठेकुवा, भुसुवा (कसार), मिठाइ अनि केरा, नरिवल, उखु, स्याउ, सुन्तला, अनारस, भोगटे, पातसहितको अदुवा, बेसार पान, सुपारी जस्ता फलफूल र कन्दमुल यो पर्वको एउटा विशेष प्रसाद हो जुन एकदमै अग्र्यानिक छ । यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मंसीर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मंसीर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्र्य दिइन्छ ।

विगत वर्ष हरुमा श्री छठ समाज सेवा समिति बिर्तामोडले दुर्गापुरस्थित बिरिङ्ग नदीको किनारमा हजारौं व्रतालु अनि श्रद्धालुहरुको उपस्थितिमा भव्यरुपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छठ पूजा यसपाली सरकारले जारी गरेको कोरोना सम्बन्धी गाइडलाइनलाई मध्येनजर गरी आयोजना नगर्ने निर्णय गरेको छ । साथै सबै व्रतालु भक्तजनहरुलाई यस वर्ष आ–आफ्नो घरमै सुरक्षित रही पूजा गर्नका लागि अनुरोध गरेको छ । मैले पनी यसपाली घरकै छतमा पोखरी बनाइ पूजा गर्ने तयारी शुरु गरेको छु । कोरोना महामारीले गर्दा यो वर्ष नयाँ अनुभव हुने भयो, आश गरौं सबै कुरा सामान्य रहे अर्को वर्ष फेरि छठ पूजा हामी सबैले नदी किनारमै भव्यरुपमा मनाउन पाउने छौं । हाम्रा आउने पुस्तालाई २०७७ सालको छठ पूजा एउटा इतिहास बनोस् । यस वर्ष भने कोरोना महामारीका कारण छठ स्थलमा विधिमात्र पूरा गर्न प्रशासनले आह्वान गरेको छ । सबैमा आस्थाको महापर्व छठ पर्वको शुभकामना ।

(रौनियार छठ समाज सेवा समिति बिर्तामोडका महासचिव हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here