वैदेशिक रोजगारी र चुनौतिका पक्ष

५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

जुनसुकै देशको ऊर्जाशील जनशक्ति भनेको त्यो देशको युवा हो, जसको अभावमा देशको महत्वपूर्ण मानिने धेरै क्षेत्रहरु प्रभावित हुने गर्दछन् । हाम्रो देशमा रहेको मुख्यतः अस्थिर राजनीति र वेरोजगारीका कारण युवा जनशक्ति विदेशिने क्रम विगतदेखि वर्तमानसम्म रोकिएको छैन भन्ने हामी सबैलाई थाहा नै छ । रोजगारीको सिलसिलामा देश छोडेर विभिन्न देश जानेक्रम कहिलेदेखि शुरु भयो भन्ने एकिन नभए पनि निकै धेरै बर्ष अघिदेखि यसको शुरुवात भएको हो भन्ने अनुमान गर्न गाह्रो छैन ।

विशेषतः देशमा रहेको ५० प्रतिशतभन्दा बढी युवा जनशक्ति देश छोडेर बाहिरिएपछि त्यसले देशमा पारेको प्रभावका बारेमा पछिल्लो समय बेला–बेलामा बहस र छलफल हुँदै आए पनि प्रतिफल भने निरर्थक देखिन्छ । मुख्यतः वेरोजगारका कारण विदेशिने यो जनशक्तिसँग गाँसिएका अन्य अनेकौं कारणहरु रहेका छन् । शुरुवाती दिनहरुमा अति नै पातलो मात्रामा रोजगारीमा जाने यो संख्या आज त्यसको हजारौं गुणाले वृद्धी हुँदा धेरै क्षेत्रमा प्रभाव परेको छ । बहस र छलफलमा वास्तविक रुपमा उठने गरेका यस क्षेत्रका सामान्यदेखि जटिल समस्या र समाधान केवल क्षणिक चर्चाका विषयमात्र बन्न पुगेका छन् । यसलाई समाधान गर्नका निमित्त दिर्घकालीन एकमात्र ठोस उपाय भनेको देशमा रोजगारीको सृजना गर्दै विदेशिएको ऊर्जाशील युवा जनशक्तिलाई स्वदेश फर्काउनु हो । अनि, देशको विकास र समृद्धिको निमित्त पसिना बगाउन अभिप्रेरित गर्नु हो । तर, यो सत्यतालाई कहीँकतैबाट गहन रुपमा लिँदै दिर्घकालीन समाधानका निमित्त योजना बनाएर अघि बढेको भने पाइँदैन, पाइन्छ त केवल चर्का भाषण अनि खोक्रा आश्वासनहरु । यसैकारण आज पनि दिनहुँजसो नेपाली युवा–युवतीहरु अनेकौं समस्याहरुलाई झेल्दै अन्तर्राष्ट्रिय बजारमा सस्तो मूल्यमा आफ्नो श्रम बेचिरहेका मात्र छैनन् । स्वदेशदेखि विदेशका गल्लीहरु हुँदै पार्कसम्म बिचल्ली परेका छन्, निरर्थक पसिना बगाइरहेका छन् ।

यही विदेशिएको जनशक्तिले बगाएको पसिनाबाट आज लाखौंको रेमिट्यान्स देशमा भित्रिएको छ र यो नेपाल सरकारको आम्दानीको राम्रो स्रोत समेत बन्न पुगेको छ । तर, त्यसको सही सदुपयोग न त उनीहरुका घरपरिवारबाट भएको छ न त देशको सरकारबाट । वैदेशिक रोजगारीबाट धेरैले आफ्नो परिवारको गर्जो त टारेका छैनन् सँगसँगै केही न केही उन्नति र प्रगति पनि गरेका छन् । तर, अरुको माटोमा पोखेको श्रमले आज धेरै नेपालीले आफ्नो जीवनस्तरमा सुधार ल्याउन सफल भए पनि जे हुनुपर्ने त्यो भने भएको छैन । आज धेरैले विदेशमा भए÷रहेका आधुनिक प्रविधिहरुलाई नजिकबाट नियालेका छन् । त्यसबारे धेरै–थोरै ज्ञान अनि सिप पनि हासिल गरेका छन्, अनुभव बटुलेका पनि छन् । त्यसलाई आफ्नो देशमा प्रयोग गर्ने केही जनशक्ति नेपालमै क्रियाशील भए रहेको पनि कतै न कतै कुनै न कुनै रुपमा देखिँदै, सुनिँदै आएको नै छ । तर, देशमा बारम्बार हुने राजनीतिक अस्थिरताको खेल सँगै राज्यबाट हुनुपर्ने आवश्यक सहयोग र हौसलाको अभावमा केही गरौं भन्ने सिप र ज्ञान बोकेर विदेशबाट फर्किएको सानो हिस्सा समेत निराशामा रुमल्लिएको तितोसत्य कतै खोज्न गइरहनु पर्दैन ।

सामान्यतयाः सरसर्ती हेर्दा नदेखिने वा गौण देखिने वैदेशिक रोजगार तथा यसले सृजना गरेका केही गहन बिषयहरु पछिल्लो समयमा निकै डरलाग्दो समस्याका रुपमा देखिन थालेको छ । यो समस्या भित्रभित्रै दिनानुदिन बढ्नु आम वैदेशिक रोजगारीमा रहनेको चिन्ताको बिषय त हो नै सँगै राज्यको समेत चिन्ताको बिषय हो । कुनै पनि काम वा सिप नसिकी जे पनि गर्न तयार हुनेगरी र जसरी पनि वैदेशिक रोजगारीमा छिटो जान चाहने आकांक्षाले एकातिर वैदेशिक रोजगारीमा जानेहरु विभिन्न समस्यामा फस्ने क्रम जारी छ भने अर्कोतिर खुलेआम दलाल एजेन्टदेखि मेनपावर मार्फत कालोधन्दा गर्नेहरु फस्टाइरहेका छन् । अझ पछिल्लो समयमा खुलेआम रुपमा दलालहरुको भिजिट भिसा र विमानस्थलको सेटिङ मार्फत हुने गैरकानूनी धन्दाबाट धेरै देशहरुमा पुगेका नेपालीहरु विचल्ली र भोकभोकै पर्न थालेका छन् । यसतर्फ विभिन्न ढंगले सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गरिए पनि त्यसको उपलब्धिमा पटक्कै सन्तोष गर्ने ठाउँ छैन । हुन्छ त केवल आश्वास्त पार्ने काम जो शुरुका दिनदेखि आजसम्म घनिभूतरुपमा भएको छ । अन्ततः त्यो हिस्सालाई देशले खासगरी राज्य सञ्चालन गर्ने राजनीतिक दलहरुको कुर्सीको लडाइँले पुनः राहदानी बोकाएर दलाल, एजेन्ट, मेनपावर हुँदै कानूनी र गैरकानूनी ढंगबाट समेत विदेश नै लखेटिरहेको छ ।

त्यसो त वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले समेत आफू जाने देशको कानूनको बारेमा, सम्बन्धित कामको न्यूनतम् ज्ञान तथा अन्य आवश्यक जानकारी लिनु अपरिहार्य हो । तर, यस कुरामा रोजगारीमा जान चाहनेले समेत पटक्कै हेक्का राखेको पाइँदैन भने श्रमिक पठाउने सम्बन्धित व्यक्ति तथा निकायहरुले अनिवार्यरुपमा गर्नुपर्ने यो कार्य अति नै न्यून मात्रामा पूरा गरेको पाइन्छ । जसको अभावमा रोजगारी गर्न गएको सम्बन्धित देशमा तोकिए अनुसारको पारिश्रमिक नपाउने, भाषा नबुझ्ने, तोकिए अनुसारको काम तथा कम्पनि नपाउने, कठिन काममा ज्यानको जोखिम मोल्नुपर्ने, सम्झौता अनुसारको अन्य सेवासुविधा नपाउने, अनावश्यक विभिन्न किसिमका समस्याहरु झेल्नुपर्ने आदिका कारण वैदेशिक रोजगारीमा जानेहरुले विदेशी भूमिमा व्यहोरेका कष्टपूर्ण दुःखहरु हजारौं रहेका छन् । यस्तै र अरु धेरै समस्याहरुका कारण आफू र परिवारको सपना बोकेर वैदेशिक रोजगारीमा आएका नेपालीहरु मध्ये कोही न कोही दिनहुँजसो बाहिरपट्टि कभरमा पासपोर्ट टाँसिएको रातो बन्द बाकसमा फिर्ता भएका कारुणीक दृश्यहरु हाम्रै अगाडि छन् । विदेशमा नै विभिन्न कारणले जेलमा रहेका, बिना काम र तलब अलपत्र परेका, काम गर्ने ठाउँमा नै कैदी भएका, बलात्कार भएका, यातनामा परेका अनि शोषण गरिएका लगायतका नेपालीहरु पनि प्रशस्त रहेका छन् । यसतर्फ सरोकारवालाले केही हदसम्म काम गर्न खोजे पनि पूर्ण इच्छाशक्ति लगाएको भने देखिँदैन जसका कारण तल्लो निकायदेखि माथिल्लो निकायसम्म सेटिङ नै मिलाएर हुने गरेका अवैध क्रियाकलाप मौलाइरहेकै छन् र अपराधीहरु रातारात धनाढ्य महाजनमा परिणत हुँदैछन् ।

अर्कोतिर आजभोलि बढ्दै गएको अर्को चिन्ताको विषय वैदेशिक रोजगारीमा रहेका अधिकांश व्यक्तिहरुले आफ्ना परिवार गाउँबाट विस्थापित वा स्थानान्तरण गर्दै शहरकेन्द्रित स्थानहरुमा राख्ने चलन हो । गाउँको हातमुख जोर्न पुग्ने भएको उत्पादनशील जमिन बाँझै छोडेर अथवा अरु कसैलाई रुगालु राखेर वा बिरुवा रोपेर अथवा जमिनको उपयोगिता बिर्सेर सामान्य परिश्रमलाई समेत आत्मासाथ नगरी शहरकेन्द्रित भएर बस्दा क्षणिक सुख र आनन्द अनि सुविधा आदिले थोरै हाइसञ्चो त होला तर यस्ता अल्पकालीन फाइदाभन्दा दिर्घकालीन बेफाइदाले व्यक्तिलाई विस्तारै जञ्जालभित्र घेरिरहेको छ । वैदेशिक रोजगारीको कमाई केही समयको कमाई मात्र हो अथवा यो कमाई दिर्घकालीन वा स्थायी रहँदैन भन्ने सबैले बुझेकै बिषय हो, यसमा अनेकौं कारणहरु छन् । यसलाई नबुझी अथवा बुझेर पनि बेवास्ता गर्दै क्षणिक आम्दानीको आबेगमा आफ्नो वास्तविक धरातल बिर्सेंर धेरै ठूला–ठूला सपना देख्दै सुखसयल भोग्न चाहने र सुखसयल दिन चाहने दुबैथरी पछुताउने क्रम पनि शुरु भएको छ र यो अनुपात हिजोभन्दा आज दोब्बर बढेर गएको छ ।

वैदेशिक रोजगारीमा रहेको आम्दानी गर्ने गार्जन अथवा श्रीमान्–श्रीमती र परिवारका सदस्य विदेशमा पसिना बगाउने, स्वदेशमा रहने श्रीमान्–श्रीमती र परिवारका सदस्य शहरमा विस्तारै अरुको सिको गर्दै विलासितातर्फ उन्मुख हुने, सम्बन्धलाई भुलेर विभिन्न अनैतिक कार्य गर्ने, घरको आन्तरिक व्यवस्थापन जानाजान वा अञ्जानमा लथालिङ्ग पार्ने आदि कारणले प्रवासमा भएको धेरै–थोरै कमाई बचत हुन सक्ने अवस्थामा गम्भीर संकुचन हुँदै गइरहेको छ । शहरको बढ्दो महँगी, भड्किलो रवाफ र खर्चिलो बन्दै जाने आदत तथा अन्य विभिन्न कारणहरुले पनि संकुचनमा मद्दत गरेको छ । यहीकारण घरायसी सम्बन्धमा मनमुटाव र दरार उत्पन्न भएका घटनाहरु समाजमा आजभोलि दिनहुँजसो यत्रतत्र देखिन थालेका छन् । त्यतिमात्र होइन कतिपय वैदेशिक रोजगारीमा रहने व्याक्तिहरु र स्वदेशमा रहने परिवारबीच आपसी असमझदारी बढ्दा उत्पन्न हुने मनोवैज्ञानिक असर, शत्रुतापूर्ण दुश्मनी, गैर–जिम्मेवारीपन, मानसिक चिन्ता, हृदयघात आदिका कारण हाम्रै समाजमा हाम्रै निकट वरिपरि अकल्पनीय घटनाहरु समेत भइरहेका छन्, जसको जिउँदो साँक्षी हामी सबै छौं ।

स्वभाविक रुपमा रोजगारिका निमित्त परदेशमा अनेकौ दुःखकष्ट सहेर कमाएको दुई–चार पैसा जोगाएर आफ्नै मातृभूमिलाई नै कर्मभूमि बनाएर केही गरौं भन्ने चाहना अधिकांश वैदेशिक रोजगारीमा रहेकाहरुको हिजोदेखि आजसम्म रही आएको छ । तर, यस चपेटाभित्र त्यो चाहना पछिल्ला दिनहरुमा नजानिँदो गरी आफंै निमोठिँदै गएको छ जुन अत्यन्तै दुःखद् पक्षमात्र होइन चिन्ताको विषय पनि हो भन्दा अन्यथा नहोला । अझ भन्नुपर्दा पछिल्लो समयमा स्वदेश तथा विदेश दुवैतिर रहेका श्रीमान्–श्रीमती तथा अन्य व्यक्तिहरुका यौन जीवनसँग सम्बन्धित रहेका इच्छा अनि आवश्यकताले उत्पन्न गरेका समस्याहरु समेत छताछुल्ल भई नै रहेका छन् । यसमा लोग्ने–स्वास्नीबीचको असमझदारी, मायाप्रेममा गिरावट, बेवास्ता, लामो समयसम्म घर नफर्कनु, जिम्मेवारीलाई बिर्सनु, संगतका कारण लठ्ठीनु आदि कारणहरुले मलजल गरेको पाइन्छ । जसका कारण धेरै व्यक्तिहरुको घर–व्यवहार तहस–नहस मात्र बनेको छैन कतिको त व्यक्तिगत तथा पारिवारिक दुबैखाले परिचय त समाप्त भएको छ नै सुन्दर जीवन समेत नर्क बनेको छ, समाप्त भएको छ ।

त्यसो त रोजगारीका निमित्त परदेशमा रहेका सबै व्यक्तिहरुमा सबल र राम्रा पक्षहरु मात्र छन् अनि गलत र दुर्बल पक्ष तथा कमजोरीहरु चाहिँ केबल स्वदेशमा रहने घर–परिवारका मात्र हुन्छन् भन्दा ठूलो अन्याय हुन जान्छ । पक्कै पनि परदेशिएका व्यक्तिहरुमा कैयौं कमजोरीहरु अनि समस्याहरु रहेका छन् । परदेशमा भएपछि आफूले जे गरे पनि कसैले नदेख्ने भन्ने चरम स्वतन्त्रताको भावना बोकेर परदेशिएका धेरै जनमानसहरुमा विभिन्न मनशाय रहेको पाइन्छ र यसैलाई आधार मानेर कतिपय कुबाटोतर्फ लागेको तितो अनुभव पनि हामीमाझ रहेको छ । कतिपयले आफ्नो परिवार र जिम्मेवारीलाई भुल्दै जानाजान घरायसी जिम्मेवारी र वास्तविकता भुल्ने, विभिन्न कुलतमा फस्ने, अनैतिक सम्बन्धमा लट्ठ हुने, अत्यधिक मात्रामा मादकपदार्थ सेवन गर्ने, गैरकानूनी काम तथा धन्दा गर्ने, यौन प्यासका निमित्त कोठी खोज्ने, लामो समयसम्म पनि घर नफर्कने आदि थुप्रै गलत कार्यहरुका कारण उनीहरुको व्याक्तिगत जीवन तहस–नहस भएको छ नै सँगै स्वदेशमा रहेका परिवारजनको स्थिति समेत नाजुक बन्न पुगेको छ । यसैकारण धेरै व्यक्तिहरुको परिवारको घर–गृहस्थी चौपट भएको पनि छ । कतिपय व्यक्तिहरु गलत संगतका कारण विभिन्न मुद्दाहरुमा फस्ने, सम्बन्धित देशको कानूनको खिलाफमा कार्य गर्नेर पक्राउ पर्ने, व्यक्तिगत रुपमा आफूले अपनाउनुपर्ने सतर्कता तथा सावधानी नअपनाउने जस्ता घटनाहरु पनि बारम्बार उजागर हुँदै आएका छन् ।

वैदेशिक रोजगारीमा रहेका यस्ता अनेकौं प्रकारका समस्याहरुलाई नजिकबाट नियाल्ने र त्यसलाई समाधान गर्न उचित नीति अख्तियार गर्ने एवम् रोजगारदाता देशसँग कुटनीतिक सम्बन्धलाई दरिलोरुपमा विस्तार गर्नका निमित्त धेरैजसो देशहरुले सम्बन्धित देशमा आ–आफ्ना दूतावास स्थापना गरेका हुन्छन् । हाम्रो देश नेपालको सन्दर्भमा पनि वैदेशिक रोजगारीमा नेपालीहरु रहेका विभिन्न देशहरुमा सोही प्रयोजनका लागि नेपाली दूतावासहरु रहेका छन् । तर, दुःखको कुरा हाम्रा नेपाली दूतावासहरु रहेको मुलुकमा रोजगारी गरिरहेका नेपालीहरुका सामान्य प्रकृतिका समस्याहरुमा दूतावास बेखबर हुने गरेको त छ नै कतिपय गम्भीर किसिमका समस्याहरुमा समेत दूतावास लामो समयसम्म जानकार रहने गरेको छैन । सम्बन्धित देशमा रहेका नागरिकहरुले आफू त्यस देशमा रहेर श्रम गरिरहेको जानकारी आफ्नो दूतावासमा गराउनुपर्ने दायित्व त हो नै तर न त श्रम पोख्न आएका नागरिकहरुले यसलाई महत्वको विषय ठान्दछन् न त दूतावासले आफ्ना देशका कति नागरिक आवत–जावत हुँदैछन् । कतिले काम गरिरहेका छन्, कति समस्यामा परेर विभिन्न मुद्दा तथा जेलमा रहेका छन्, अनि कति मातृभूमि फर्किसके भन्ने एकिन तथ्यांक राख्न नै सकेको पाइन्छ ।

यसरी वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु र त्यहाँ रहेको दूतावासबीचमा नङ–मासुको अभिन्न सम्बन्ध नभएका कारण पनि नेपालीहरुले दुःख पाइरहेका छन् । श्रमिकहरु रहने ठूला–ठूला क्याम्पहरुमा दूतावासले चेतनामूलक जानकारी मात्र पाक्षिक अथवा मासिकरुपमा आवश्यकता अनुसार पायकपर्ने ठाउँहरुमा गर्ने हो भने पनि यो समस्या निकै समाधान हुन सक्दछ । साथै विभिन्न उद्देश्य बोकेका सामाजिक तथा गैर सामाजिक संघ–संस्थाहरुले गर्ने कार्यक्रमहरुमा मात्र दश मिनेट यहाँको कानून र पछिल्लो समयमा भएका घटनाको दृष्टान्त दूतावासको समन्वयमा प्रस्तुत गर्दै जानकारी प्रवाह गर्ने हो भने पनि त्यो निकै उपलब्धिमूलक हुने कुरामा दुईमत छैन । यस्तै समस्याहरुको समाधान अथवा न्यूनीकरणका उपायहरु खोज्ने हो भने अरु पनि हुन सक्दछन् । तर, यसमा कसैको खासै चासो रहेको पाइँदैन ।
तथापि यतिका समस्याहरुदेखि बाहेक अन्य धेरैखाले समस्याहरु दुबैतर्फ रहे पनि वैदेशिक रोजगारीका निमित्त विभिन्न देशहरुमा कार्यरत् व्यक्तिहरुका समस्याहरु वा स्वदेशमा रहने उनीहरुका परिवारका समस्याहरु समाधान गर्ने प्रधान व्यक्ति भनेको आफू स्वयम् हो । व्यक्ति आफूले वास्तविकतालाई ध्यानमा राखेर आफ्नो जिम्मेवारीबोध गर्न सके र अञ्जान विषयहरुमा आवश्यक जानकारी लिने कोशिसका साथ सचेतता अपनाउन सके स्वदेश तथा विदेश दुबैतर्फका धेरै उल्झनहरुलाई हल गर्न सकिन्छ भन्ने कुरामा कुनै दुईमत नहोला । समस्याका कतिपय समाधान केवल सरकारको तदारुपतामा मात्र सम्भव छ । यसलाई सरकारले ढिलो चाडो हेर्नैपर्नेछ सँगै समस्या निराकरण गर्ने जिम्मेवारी सम्हालेका दूतावास हुन अथवा अन्य सरोकारवालाले आफ्नो दायित्वबाट सधैँभरि मौन रहन भने मिल्दैन भन्दा अत्युक्ति नहोला ।

(शिवाकोटी रिट्रनी माइग्रेंन्ट नेपाल प्रदेश नं. १ का सचिव हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here