‘गोल्ड मेडलको ऋण चुक्ता गर्न नेपालको सेवा गरेरै छोड्छु’

५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

डा. कृष्णबहादुर थापा मगर, अमेरिकाको टेक्सासस्थित डालासमा बस्छन्। मेची खोला किनारमा पर्ने इलामको पूर्वी गाउँ सलकपुरदेखि डालाससम्मको यात्रामा मगरले थुप्रैपल्ट हन्डर–ठक्कर खाएका छन्। तर, समस्यासँग कहिल्यै हार नमान्ने उनको स्वभाव। त्यसमा परिवारजनको सदैव दरिलो आडभरोसा।

Advertisement

यी सबै कुराको योगफल हो, मगरको लोभलाग्दो सफलता। उनी अमेरिकामा अध्यापन गर्छन्। विद्यार्थीले धेरै रुचाएका शिक्षकमध्ये एक र सहकर्मीले बढी चाख राख्नेमा पनि एक। सबैको प्रिय हुनुमा उनको सरल मिजास पहिलो कारण हुन सक्छ।

आफ्नो घरको के कुरा, जग्गा जमिनै नभएको परिवारमा जन्मेका थिए कृष्ण। अहिले अमेरिकामा आफ्नै कमाइले घर किनेका छन्। जहाँ उनले सलकपुरबाट बुवा भक्तबहादुर र आमा मनकुमारीलाई ल्याएर छ महिनासम्म राखे। त्यो नै उनको एउटा सबैभन्दा खुसीको क्षण हो।

कमजोर आर्थिक अवस्थाले गाँज्नुसम्मै गाँजे पनि लेखपढमा भने बच्चैदेखि तीक्ष्ण। कतिसम्म भने आठ कक्षा अध्ययन गर्दा सात कक्षाका बिद्यार्थीलाई ट्युसन पढाएर खर्च जुटाउन सक्षम। सहपाठी सबैजसोले पढाइमा हार मान्दा पनि अघि बढिरहने मेहनती।

गणितमा ‘गोल्ड मेडल’ पाएका कृष्ण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा कुनै बेला ‘रोल मोडल’ थिए। २०६२–०६४ सालको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएर त्रिभुवन विश्वविद्यालयमै डेढ बर्ष अध्यापन गरेका उनले पछि अमेरिकालाई कर्मथलो बनाए।

प्रस्तुत छ, यसपल्ट उनै कृष्ण थापा मगरसँग गरिएको ‘नेपाल टच’ अन्तरंग।

‘गोल्ड मेडल’समेत सुटकेसमा हालेर अमेरिका उड्नुपर्ने रहर कि बाध्यता थियो?

त्यो न रहर थियो, न बाध्यता। करिअर बनाउनेक्रमकै एउटा निरन्तर यात्रा थियो भनौं। जसरी इलामको करफोक माविबाट एसएलसी सकेर आइएस्सी पढ्न धरान गएको थिएँ। उसैगरी कीर्तिपुरबाट मास्टर्स गरेर अझै पढ्न अमेरिका आएको हुँ।

सन् २००९ मा ‘फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी’बाट पिएचडीको छात्रवृत्ति पाएर आएको हुँ। पिएचडी सकियो। जागिर पाइयो। यतै बसिएको छ। भविष्य त जे पनि हुन सक्छ, कसले जानेको छ र! खास कुरा यति नै हो।

धेरै बर्ष भयो नि, फर्किएर नेपालकै सेवा गरौं भन्ने लाग्दैन ? घर गाउँको अपेक्षा पनि त्यस्तै होला।

आफू जन्मेको ठाउँसँगको नाता जहाँ पुगे पनि टुट्दैन। ११ बर्षदेखि अमेरिका छु। फ्लोरिडा, न्यु मेक्सिको हुँदै अहिले टेक्सासमा आइपुग्दा पनि आँखामा सलकपुर, करफोक, धरान, खुदुनावारी, काठमाडौ नाचिरहन्छन्। आउजाउ भइरहेकै हुन्छ। प्रविधिले पनि सम्पर्क बाक्लो बनाएको छ। मेरो सानो परिवार यतै छ। तत्कालै सबै कुरा छोडेर फर्किने होइन, जहाँ छु त्यहींबाट गाउँ, जिल्ला र सिंगो नेपाललाई सकेको सहयोग गर्छु।

सलकपुरको झुपडीमा हुर्केर टेक्सासको कलेजमा प्रोफेसर हुन कति सजिलो भयो ?

कहिल्यै पनि ठूला सपना र योजना लिएर चलिनँ। गाउँमा छँदै अमेरिकाको सपना देख्या भए सायद पूरा हुन्थेन। स्कुलबाटै स–साना सपना थिए। यस्तो गर्न पाए हुन्थ्यो, यति चैं गर्न पाए हुन्थ्यो भन्ने। स्कुलमा हुँदा कलेजसम्म पुग्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो। कलेज टेकेपछि आइएस्सी चैं सक्न पाए भन्ने भो।

आमा बुवाले थोरै भएको जग्गा बेचेरै नि खर्च जुटाउनुभो। आइएस्सी सकेर खुदुनाबारीमा शिक्षक भएँ। फेरि ब्याचलर सक्न पाए कस्तो होला भन्ने भो। काठमाडौं गइयो।एउटा बोर्डिंग स्कुलमा पढाउदै ब्याचलर मात्र होइन बिस्तारै मास्टर्स नै सकियो। पछि अमेरिका आइयो। सजिलो पक्कै भएन। हात उठाउने खालको अप्ठ्यारो पनि भएन।

यो शैक्षिक सफलता आफ्नै मेहनतको फल मात्र हो या अरु केही ?

मलाई पढेर कसरी पास हुने भन्ने कहिल्यै चिन्ता हुन्थेन। पढ्दा डेरा भाडा कसरी तिर्ने, के खाएर पढ्ने, कुन पैसाले कापी, कलम, किताब किन्ने भन्ने मात्र चिन्ता हुन्थ्यो। अहिलेको अवस्थामा आइपुग्न जानिँदो नजानिँदो गरी थुप्रै कुरा जोडिएका छन्।

आफ्नो मेहनत त अवश्य नै भइहाल्यो। दुस्खमा हुर्किएको बाल्यकालको इख पनि होला। बुवा आमाको प्रेरणा। जसले आफू निरक्षर जस्तै भएर पनि मलाई पढाउन कुनै कसर बाँकी राख्नु भएन। पछि श्रीमति भएर भित्रिएकी जुनीले पनि निरन्तर हात दिइन्।

यी सबै कुराको सार के हो भने केही गरेर देखाउने इच्छाशक्ति छ भने दुर्गम, अभाव, गरिबी, जात आदि कुराले नरोक्ने नछेक्ने रहेछ। एउटा हुटहुटी हुनुपऱ्यो र त्यसलाई सिद्ध गर्ने जाँगर। मेरो हकमा त्यही भएको हो।

बुवा आमाले अमेरिकामा छोरा बुहारीसँग बस्दा घुम्दा कस्तो महसुस गर्नुभयो ?

छक्कै पर्नुहुन्थ्यो नि। घरमा बस्दा त सामान्य हुन्थ्यो, जब घुमाउन लैजान्थे अनि साहै्र खुसी हुनुहुन्थ्यो। मैले क्यालिफोर्निया घुमाउँदा आँखा, अनुहार, भावमा खुसी प्रष्टै देखिन्थ्यो। अझ रमाइलो त के भने गाउँ फर्केपछि मोवाइलमा भिडियो देखाउँदै धेरै दिनसम्म रमाउनु भएछ। बुवाले ‘अमेरिकामा यस्तो हुन्छ, उस्तो हुन्छ…’ भन्दै मोवाइलमा भिडियो देखाउँदै गाउँ डुलेको कुरा सुन्दा मलाई साह्रै खुसी लाग्छ।

कहाँ अध्यापन गर्नुहुन्छ र कमाइ कस्तो हुन्छ ?

टेक्सासकै डालासको ‘कलिन कलेज’मा हो। यो यहाँ सबैतिर गर्दा साठी हजार जति विद्यार्थी भएको सामुदायिक कलेज हो। मैले अध्यापन गर्ने युनिभर्सिटीअन्तर्गतकै विद्यार्थीका लागि तयार पारिने पहिलो चरणको कोर्स हो। यो दुई बर्षको हुन्छ। यहाँ दुई बर्ष पढाएपछि उनीहरु विश्वविद्यालयमा ट्रान्सफर हुन्छन्। आफूले चाहेको खण्डमा धेरै कोर्स पनि पढाउन पाइन्छ। ओभरटाइमको सुविधा छ।

अमेरिकाको कमाइबारे के भनौं खै। यहाँको कमाइ सापेक्षिक हुन्छ। क्यालिफोर्निया र टेक्सासको कमाइ तुलना हुँदैन। यहाँ थोरै कमाएर नि धेरै बचाउन सकिन्छ, उता धेरै कमाउँदासमेत थोरै बचाउन मुस्किल। अंकमै भन्नुपर्दा बार्षिक एक लाख डलरभन्दा बढी नै कमाइ हुन्छ। खर्च पनि फेरि उत्तिकै हुन्छ।

अमेरिकामा शिक्षक–विद्यार्थीबीच के के कस्तो सम्बन्ध हुँदोरहेछ ?

अनुशासनका दृष्टिले हेर्दा नेपालमा शिक्षकमाझ एउटा भनाइ नै छ, ‘१० कक्षासम्म पढाउन सजिलो, कलेज चाहिँ गाह्रो।’ अमेरिकामा चाहिँ उल्टो हुँदोरहेछ। यहाँ १२ कक्षा अर्थात् स्कुल लेभलसम्म पढाउन धेरै अप्ठ्यारो। नेपालमा जस्तो गाली गर्न, पिटपाट गर्न मिल्दैन। राम्ररी बोल्दा विद्यार्थीले टेर्दैनन्।

कलेज र युनिभर्सिटी तहमा पुगेका विद्यार्थी चाहिँ परिपक्व भइसकेका हुन्छन्।बरु कक्षाकोठा शान्त भएर केहि बोल भन्नु पर्ने अवस्था आउछ कहिलेकाही। प्रविधिको भरपूर उपयोग गरेर पढाउन पाइन्छ। दोहोरो छलफल र अन्तर्किया हुन्छ। विद्यार्थीले एकैनासले पढे मात्र उत्तीर्ण हुन्छन्, अन्तिम परीक्षा मात्र राम्रो गरेर हुन्न। शिक्षकका हातमा सम्पूर्ण अधिकार हुन्छ तर दुरुपयोग गर्दैनन्।

गणित त धेरैलाई हाउगुजी हुन्छ, तपाईंलाई चाहिँ कसरी रस बस्यो ?

संसारभरको अवस्था हेर्ने हो भने गणित साँच्चै धेरैलाई हाउगुजी नै हुन्छ। गणितप्रति विद्यार्थीहरुको नकारात्मक धारणा बढी पाइन्छ। यसलाई ‘अंकको खेल मात्र हो’ र ‘जीवनमा उपयोगी होइन’ भन्ने अल्पबुझाइ भएकाहरुले गणितको अपव्याख्या गरेका हुन्।

रुचि नहुनेले जसरी गणितको ग सुन्न मान्दैनन्, रुचि भएकाले भने फेरि साहै्र ध्यान दिएर गणितमा रमाउँछन्। म दोस्रो किसिमको परें। बच्चैदेखि गणितमा रस बसेको हो। जहिलेदेखि गणितमा रम्न थालें, अनि झन् धेरै ध्यान दिएर पढ्न थालें। आज अमेरिकामा यही गणित नै मेरो पहिचान र पेशा बन्यो।

मान्छेको जीवनमा गणितको किन महत्व छ? जोड, घटाउ, गुणा मात्र गणित हो कि अरु पनि? अनि यो जान्ने र नजान्नेमा के अन्तर हुन्छ?

जोड, घटाउ, गुणा र भागा पनि गणित हो। त्यही भएर गणित नजान्ने त यो संसारमा कोही हुँदैनन्। तर जति धेरै माथिल्लो स्तरको ज्ञान भयो त्यति नै राम्रो। दैनिक जीवनमा आउनेदेखि लिएर पैसासम्बन्धी कारोबारमा गणित बुझेको मान्छेलाई धेरै सजिलो हुन्छ नि।

विज्ञानले गरेका हरेक आविस्कारमा गणितको ठूलो भूमिका छ जसको कारणले हाम्रो जीवन यति सहज भएको छ। अझ भविष्यमा कस्तो कस्तो कुरा आविस्कार हुने हुन् ती आविस्कारक तपाई हाम्रै वरिपरि पो हुर्किरहेका छन् कि। त्यै भएर गणित त सिक्नु सिकाउनु परिहाल्यो नि।

नेपाल कत्तिको सम्झना हुन्छ ?

त्यो त जहिले पनि हुन्छ नि। नहुने कुरै भएन। जहाँ पुगे पनि सम्झना आइरहन्छ।

नेपाल राम्रो कि अमेरिका ?

भौतिक रुपमा अमेरिका राम्रो भए पनि प्राकृतिक अनि आत्मीयताको कारणले नेपाल नै राम्रो अनि रमाइलो।

नेपालको बढी के के ‘मिस’ हुन्छ ?

परिवार, आफन्त, गाउँ, साथीभाइ, खानेकुरा। समग्रमा सिङ्गो नेपाल नै मिस हुन्छ। हाम्रो आफ्नै खाले मौलिक संस्कृति छ। संस्कार अनि चाडपर्वहरु छन्। ती सबै हाम्रो नशा नशामा बसेका हुन्छन्। जहाँ पुगेर बसे पनि, त्यहीँको संस्कारमा आफूलाई अभ्यस्त बनाउन खोजे पनि आफ्नोपन त सधैँ याद आइरहन्छ।

खासगरी कुन बेला बढी सम्झना आउँछ ?

सम्झना त सधैँ नै आउँछ। यसको कुनै निश्चित बेग्लै समय भन्ने कहाँ हुन्छ र। विभिन्न प्रसंग, सन्दर्भहरुमा सम्झना निरन्तर हुन्छ। तैपनि खासगरी चाड पर्व अनि विशेष दिनहरुमा चाहिँ धेरै नै मिस हुन्छ।

गइहालौं जस्तो पनि लाग्छ कहिलेकाहिँ ?

किन नलाग्नु नि। कहिलेकाहिँ फुत्तै आफ्नो गाउँ ठाउँ पुगौं जस्तो लाग्छ। तर फेरि आफ्नो करिअर अनि त्योसँग जोडिएको कुरा सम्झ्यो चित्त बुझायो।

नेपालमा आफन्त, साथीसंगीसँग सम्पर्क हुन्छ ?

आफन्तसँग त सधैं सम्पर्क भइरहन्छ। साथीसंगीसँग पनि हुन्छ बेलाबेलामा कुराकानी हुन्छ। आजकाल त आफ्नो गाउँघरतिर पनि इन्टरनेटको सुविधा पुगेको छ। सानो बेलाको साथीहरुसँग पनि गफ हुनु भ्याउँछ।

भान्सामा बढी के पाक्छ ?

नेपाली खाना नै हो। मेरी श्रीमती शाकाहारी भएकाले सागसब्जी बढी पाक्छ।

नेपाली खानाका परिकारको कत्तिको याद आउँछ ?

एकदमै धेरै। तर जे होस् डालासमा धेरै नेपाली रेस्टुरेन्टहरु भएकाले मन लागेका बेला आफ्नै इच्छाको परिकार खान पाइन्छ र अलि न्यास्रो मेटिन्छ।

बढीजसो नियमित खाना के हुन्छ ?

दिनको एकचोटि त दाल भात तरकारी नै खाइन्छ। अरु बेला भने फरक फरक खाले परिकार चल्छ। यताको खान्की पनि खानै पर्यो।

चाडपर्वमा सामुहिक सहभागिता कतिको हुन्छ ?

नियमित जस्तो भेला भएर रमाइलो गर्ने चलन थियो। तर यसपटक चाहिँ कोरोना भाइरसको संक्रमण जोखिमका कारण सीमित हुनुपरेको छ। जथाभावी हिँडडुल गर्नु भएन। तर पनि परिवारबीच रमाइलो गर्ने त छँदैन।

घरमा नेपाली कि अँग्रेजीमा बढी कुरा हुन्छ ?

नेपालीमै हो नि। बच्चासँग चाहिँ मिसौरे भाषामा। यताको भाषा पनि सिकाउनु पर्यो उनीहरुलाई अनि आफ्नो भाषा पनि बिर्सन दिनुभएन भन्ने लाग्छ।

कुनै अपर्झट अवस्था आइपरेको छ घर जाने ?

अहिलेसम्म चाहिँ छैन।

नेपालका कुन–कुन ठाउँ घुम्न मन छ ?

धेरै छन् घुम्नुपर्ने ठाउँहरु। प्राकृतिक सुन्दरताको खानी नै हो हाम्रो देश। जहाँ गए पनि फरक हावापानी र विशेषता पाइन्छ। आफ्नै खाले मौलिक खानपिन अनि संस्कृतिसँग साक्षात्कार हुन पाइन्छ। म पूर्वको भएकाले धेरैजसो ठाउँ घुमेको छु। त्यही भएर विशेषगरी पश्चिम नेपालका धेरै ठाउँ घुम्न पाएको छैन। मौका मिले पश्चिमी नेपालको फन्को मार्ने इच्छा छ।

फुर्सदमा के कस्ता सामग्री अध्ययन गर्नु हुन्छ ?

काम नै अध्ययन अध्यापन भएकाले फुर्सदमा त अध्ययन गर्दिन। बरु समाचार हेर्छु, खेलकुद हेर्छु, परिवारसँग समय बिताउँछु।

ड्राइभ गर्दा कस्ता गीत बजाउनुहुन्छ ?

नेपाली हिन्दी अंग्रेजी सबैखाले चल्छ।

मनपर्ने नेपाली गीत कुन कुन हुन् ?

नारायण गोपालदेखि अहिलेका चर्चित भीटेनसम्मका युट्युबमा आउने नयाँ पुराना नेपाली गीतहरु प्रायः सबै सुन्छु हेर्छु । खासमा सेन्टिमेन्टल गीत चाहिँ निकै मन पर्छ।

पछिल्लो पटक हेरेको नेपाली फिल्म कुन हो ?

युट्युबमा आएको त प्रायः हेरिन्छ। यहाँ त हलमै पनि लाग्छ नयाँ नेपाली फिल्म। ‘कबड्डी कबड्डी कबड्डी’ हलमै हेरेको पोहोर साल।

मनपर्ने नेपाली फिल्म ?

तुलसी घिमिरेका फिल्महरु राम्रा हुन्छन्। पछिल्लो समय बनिरहेका फिल्महरु पनि धेरै राम्रा हुन थालेका छन्।

मनपर्ने अभिनेता, अभिनेत्री ?

धेरै छन्। दयाहाङ राईको अभिनय चाहिँ धेरै उत्कृष्ट लाग्छ।

भर्खरै पढेको नेपाली किताब कुन हो ?

पुरै किताब पढ्न चाहिँ मलाई अल्छी लाग्छ। बरु लामो यात्रामा युट्युबमा भेटाइने वीपी कोइरालाको ‘सुम्निमा’ जस्ता कथा अनि उपन्यास वाचनहरु सुनेको छु।

घरमा नानीबाबुले पनि नेपालीमा लेखपढ गर्छन् ?

सानै छ अहिले (३ बर्ष)। नेपाली पढाउने इच्छा चाहिँ छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here