अब हतारमा फिल्म बनाउँदिनँ : एलिजा गौतम

५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

काठमाण्डौ,

एलिजा गौतमले बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना फिल्म ‘अनुराग’ बाट पूरा गरिन् । दुई सन्तानकी आमा भएपछि अभिनयमा होमिएकी उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्मले हलमा पानी भन्न पाएन । न त एलिजाको अभिनयकै वाहवाही भयो । फिल्ममा उनका श्रीमान ऋषि धमलाको लगानी थियो । पहिलो फिल्मले असफलता भोगेपछि एलिजा निराश भएकी थिइन् ।

‘अनुराग’ टाँट पल्टिएपछि एलिजाले नयाँ फिल्म निर्माण बनाउने आँट गरेकी छैनन् । न त उनको हातमा बाहिरी ब्यानरको फिल्म नै परेको छ । बरु, लकडाउनयता उनलाई म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । उनले पहिलो पटक अभिनय गरेको ‘आधी कपाल’ बोलको गीत हिट भएपछि उनको म्यूजिक भिडियोमा माग बढेको हो । यसैले उनी लकडाउन आफूलाई फापेको बताउँछिन् ।

गएको चार महिनाको अवधिमा उनले एक दर्जन म्यूजिक भिडियोमा ठुम्का लगाइसकेकी छन् । उनी भन्छिन्, ‘लकडाउनमा प्रायः सबै कलाकार फुर्सदिला थियौं । त्यही बेला मलाई म्यूजिक भिडियोबाट अफर आयो । पहिलो गीत हिट भएपछि म्यूजिक भिडियोलाई निरन्तरता दिएको छु । ऋषिजीलाई कोरोना भएपछि ६/७ वटा भिडियो छाडेँ । अब गीत छनोटमा गम्भीर भएको छु ।’

फिल्मबाट अफर नभएपछि उनले म्यूजिक भिडियो गर्न थालेको टिप्पणी पनि हुने गरेको छ । तर, यसलाई उनी नकारात्मक रुपमा लिन्नन् । ‘अनुराग’ पछि आफूले कुनै फिल्म साइन नगरेको एलिजा धक नमानी बताउँछन् । राम्रो स्क्रिप्ट र टिमबाट प्रस्ताव आए आफू बाहिरी ब्यानरको फिल्म गर्न तयार रहेको उनको भनाई छ । उनी आफैं भने तत्काल फिल्म बनाउने सोचमा छैनन् ।

‘मैले ‘अनुराग’ हतारमा बनाएँ । त्यो म स्वीकार गर्छु । मैले फिल्म निर्माणको बारेमा धेरै बुझेको थिइनँ । यो अवधिमा धेरै कुरा बुझेँ । फिल्म बनाउन कस्तो टिम चाहिँदो रहेछ, के कुरामा ध्यान दिनुपर्ने रहेछ भन्ने बुझ्न र सिक्न पाएँ’, उनले अगाडि भनिन्, ‘एक/दुईवटा बाहिरी ब्यानरको फिल्म गरेपछि मात्र आफ्नै लगानीमा फिल्म बनाउने सोचमा छु । अब हतारमा फिल्म बनाउँदिनँ ।’-फिल्मीखबर

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here