घरमै बनाएको कुण्डबाट अस्ताउन लागेको सूर्यलाई अघ्र्य

५ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापामा छठ पर्व मनाउने अधिकांश व्रतालुहरुले शुक्रबार बेलुकी घरमै बनाएको कुण्डबाट अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिएका छन् ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घरआँगनमा कुण्ड बनाई पूजाआजा गरी छठ मनाउन आग्रह गरेका कारण छठका व्रतालुहरुले शुक्रबार बेलुकी घरमै बनाएको कुण्डबाट अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिएका हुन् ।

उनीहरुले घरमै बनाएको कुण्डमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गरेका थिए ।

 

नेपालमै दोस्रो ठूलो छठ पर्व मनाइने झापाको भद्रपुरस्थित मेची नदी, पूर्वी नाका नेपाल भारतलाई छुट्याउने मेची नदी, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अन्धुवा, माई र रतुवा लगायतका नदी तथा खोलाहरूमा यस वर्ष छठको रौनक सुनसान देखिएको थियो । नदी नजिकका एकाध व्रतालु छठ मनाउन नदीहरुमा गए पनि अधिकांशले घरमै कुण्ड बनाएर छठ मनाएका छन् ।

अघिल्ला वर्षहरू यी नदीमा छठ पूजा आउने १५ दिन अघिदेखि नै धुमधामका साथ तयारी गरेपनि यस वर्ष नदी, खोला तथा पोखरीहरूमा कुनै चहलपहल नदेखिएको बताइएको छ ।

विगतका बर्षहरुमा झापाका विभिन्न स्थानमा रहेका नदीहरुमा छठ पर्वका लागि सरसफाई, घाट बनाउने र सजाइए पनि यस बर्ष कोरोनाका त्रासका कारण थोरै ब्रतालुहरुले मात्र नदीका घाटहरुमा छठ पर्व मनाएका छन् ।

बिर्तामोडका अधिकांश ब्रतालुले घरमै कुण्ड बनाएर छठ पर्वको मनाएको छठ समाज सेवा समिति बिर्तामोडका महासचिव मनोज रौनियारले जानकारी दिए ।

समितिमा आवद्ध तथा बिर्तामोडमा चार सय १० परिवारले छठ पर्व मनाउँदै आएकोमा यस बर्ष ९०प्रतिशतले घरमै कुण्ड बनाएर छठ पर्व मनाएको उनले बताए । छठ पर्व अन्तर्गत आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको समापन हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here