आफन्तबाटै असुरक्षित: शारीरिक अपाङ्गता भएका ६ जना बालिका बलात्कृत, बहुअपाङ्गता भएकी १५ वर्षीया गर्भवती किशोरीलाई पुनस्र्थापना गरिने

६ मंसिर २०७७, शनिबार मा प्रकाशित

बिनोद सापकोटा/नरेन्द्र ढकाल,
झापा।

देशभर बालिका तथा किशोरीहरु बलात्कारको घटना बढिरहेका बेला झापामा शारीरिक अपाङ्गता भएका किशोरी र युवतीहरु आफ्नै घर परिवारका सदस्य र नजिकैका छिमेकीबाट असुरक्षित रहेको खुलासा भएको छ । किशोरी र युवती सहोदर बाबु, दाजुभाइ र नजिकैका छिमेकीबाट यौन शोषणमा पर्ने गरेको खुलेको हो । महिला बालबालिका र अपाङ्गता भएका बालबालिकाको पक्षमा काम गर्ने अधिकारकर्मीले यस्तो खुलासा गरेका हुन् ।

झापाको कनकाई नगरपालिका वडा नम्बर १मा रहेको सुस्त मनस्थिति सरोकार समाजमा आफन्त र छिमेकीको बलात्कारको सिकार भएर जन्मिएका १० जना बालबालिका छन् । ती सबै परिवारको तिरस्कारपछि सडकमा आएका बालबालिका हुन् । आफ्ना बाबु–आमाको पहिचान उनीहरु संग छैन । घर परिवारबाट अपहेलना भएर सडकमा आएका बालवालिकालाई प्रहरीले फेला पारेर यस्ता पुन स्र्थापना केन्द्रमा राख्ने गरेको छ ।

सुस्त मनस्थिति सरोकार समाजकी अध्यक्ष शान्ता पोख्रेल भनिने भगिरथा चापागाईले–१ नम्बर प्रदेश सरकारको आग्रहमा सडक बालबालिकाको यहाँ पुनस्र्थापना हुने गरेको छ । कतिपय स्थानीय तहको सिफारिसमा पनि बालगृहमा बालबालिका ल्याइने गरिएको छ । हाडनाता करणी तथा कतिपय स्थानमा छिमेकीको बलात्कारबाट जन्मिएका बालबालिका भने केन्द्रमा नआउने गरेको चापागाईंले बताएकी छन् । यस्ता कतिपय घटनालाई घरमै सुटुक्क मेलमिलाप गर्ने भएकाले अपराधका यस्ता घटना बाहिर नआएको पनि अध्यक्ष चापागाँईले बताएकी छन् ।

हेरचाह गर्ने व्यक्ति, दिनैपिच्छेको हिमचिम र उत्तेजनात्मक क्रियाकलापका कारण सुस्त मनस्थिति, अपाङ्गता भएका बालबालिका, किशोरी र युवती बलात्कृत हुने गरेको चापागाँईले बताइन् । चापागाँई आवद्ध बालगृहमा रहेकामध्ये बाबु–आमाको पहिचान नभएका ९ जना बालबालिका रहेका छन् ।

त्यस्तै बौद्धिक अपाङ्गता, शारीरिक अपाङ्गता र बहुअपाङ्गता भएका ६ जना गर्भवती युवती पनि बालगृहमा रहेका छन् । गर्भावस्थामा उनीहरुको स्वास्थ्यमा उचित हेरचाह नहँुदा कतिपयले ज्यानै गुमाउनु परेको छ । शारीरिक अवस्था नै कमजोर भएका बालिका तथा किशोरीहरु गर्भवती भएर सुत्केरी हँुदा आमा र बच्चा दुवैको अवस्था जटिल बन्ने गरेको चिकित्सकहरुले बताएका छन् ।

भोजपुरकी बौद्धिक अपाङ्गता भएकी १४ वर्षीया किशोरी आफ्नै छिमेकीबाट बलात्कृत भइन् । १ नम्बर प्रदेशको सामाजिक मन्त्रालयको आग्रहमा ती किशोरीले सो बाल गृहमा पेटभित्रको ८ महिनाको बच्चा हुर्काइरहेकी छन् । केन्द्रमा उनी दुई महिना अघि मात्र आएकी हुन् । आफन्तले किशोरी बलात्कृत भएको घटना जति बेला थाह पाए त्यतिबेला ६ महिनाको गर्भ हुर्किरहेको थियो । किशोरीलाई बलात्कार गर्ने छिमेकी हाल जेलमा रहेका छन् ।

उदयपुरकी अर्की युवती पनि आफन्तबाटै बलात्कृत भइन् । उनको पनि सो बालगृहले पुनस्र्थापना गरेको छ । आफन्त र समाजको अपहेलनापछि बालगृहमा आएकी उनको भने गर्भपतन गरिएको थियो । कानूनले हाडनाताबाट रहन गएको गर्भपतन गर्ने अख्तियारी गरेको छ । यसरी जन्मिएका बालबालिकाको जन्म दर्ता र नागरिकतामा भने बाबु आमाको नाम नरहँदा चुनौति रहेको बालगृहकी अध्यक्ष चापागाँईले बताइन् । बाबुको पहिचान नभएका बालबालिकाको जन्मदर्ता गर्दा स्थानीय तहका प्रमुख सूचक र केन्द्रकी अध्यक्ष संरक्षक रहने प्रावधान बनाइएको छ । यसरी नै नागरिकता पनि बन्ने गरेको उनले बताइन् ।

झापामा १० वर्ष यता ६ जना शारीरिक अपाङ्गता भएका बालबालिका बलात्कृत भएका छन् । केन्द्रकी अध्यक्ष चापागाँईका अनुसार सबै जना आफन्त र छिमेकीबाट बलात्कार भएका हुन् । उनीहरुमध्ये ४ वटा घटनाका पीडकले कानूनी कारवाही अनुरुप जेल सजाय भोगी रहेका छन् भने दुई वटा घटनाका आरोपित फेला नपरेको प्रहरीले जनाएको छ । फेला पर्न नसक्नुको कारण बौद्धिक अपाङ्गता भएका बालबालिका बलात्कारको शिकार भएकै कारण हो, जसले बोल्न र आँखा देख्न सक्दैनन्– अध्यक्ष चापागाँईले भनिन् ।

यी दुई वटा त १ नम्बर प्रदेशका प्रतिनिधि घटनामात्र हुन् । अपाङ्गता भएका बालिका बलात्कारको घटना कैयांै लुकाइने गरिएको छ । केही घटना बाहिर आए पनि पहुँच भएकाले सामसुम पार्ने गरेका अधिकारकर्मीले बताएका छन् । जिल्ला बाल न्याय समन्वय समिति झापाका सदस्य नारायणप्रसाद भट्टराईले अपाङ्गता भएका बालबालिकाको परिवारमा सचेतना अभावले यस्ता घटना घट्ने गरेको बताए ।

बहुअपाङ्गता भएकी बाह्रदशीकी एक गर्भवती युवतीको पुनस्र्थापना कनकाई नगरपालिका वडा नम्बर– १को सुस्त मनस्थिति सरोकार समाज नेपालले गर्ने भएको छ । पूर्वाञ्चल दैनिक लगायतका सञ्चारमाध्यममा बहुअपाङ्गता भएकी १५ वर्षीय युवती गर्भवती भएको समाचार आएपछि सो संस्थाले पुनस्र्थापना गर्ने भएको हो । संस्थाकी अध्यक्ष चापागाँईले बाह्रदशीमा १५ वर्षदेखि ओच्छ्यानमा रहेकी युवतीको बलात्कारपछि गर्भमा हुर्कदै गरेको बच्चाको पुनस्र्थापना सुस्त मनस्थिति सरोकार समाज नेपालले गर्ने बताइन् ।

१ नम्बर प्रदेशको सामाजिक मन्त्रालय र अपाङ्गता भएका व्यक्तिको पक्षमा काम गर्ने हाम्रो बाह्रदशी अपाङ्गता अभियानको आग्रहमा संस्थाकी अध्यक्ष चापागाँईले बाह्रदशी स्थित युवतीको घरमा पुगेर उनको शारीरिक अवस्था बुझेकी थिइन् । उनले भनिन्– जीवनको यो अवस्थासम्म आउँदा यस्तो कहालिलाग्दो अवस्थाको घटना देख्न त के सुनेको पनि थिइन् । सरकारले किशोरी तथा बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन गरेर विभिन्न कार्यक्रम सञ्चालन गरे पनि त्यस्तो प्रभावकारिता देखिएको छैन् ।

हरेक विद्यालय तहमै यौन शिक्षाको विषयमा जानकारी दिने र कुनै पनि बालिका तथा सुस्त मनस्थिति भएका बालिका तथा किशोरीको सुरक्षामा सरकारले ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । ८ नगरपालिका र ७ वटा गाँउपालिका रहेको झापामा स्थानीय सरकारले नै कडा कानून बनाएर यस्ता अपाङ्गता भएका बालिका तथा किशोरीको संरक्षणमा ध्यान दिनुपर्ने यस क्षेत्रमा कार्यरतहरुको भनाइ छ । यता प्रहरीले सडकमा अलपत्र अवस्थामा रहेका बालबालिकाहरुको उद्धारमा पहल गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here