अर्जुनधारामा नयाँ अभियान : दलितका घरमा ब्राम्हण पुरोहित

0
1169

अमित खम्बू ,अर्जुनधारा।

जातको आधारमा कथित दलित भएकै कारण वैदिक कर्मकाण्डिय पद्धतीबाट संस्कार गर्नुहुँदैन भन्ने मान्यतालाई परिवर्तन गर्न झापाको अर्जुनधारामा हिन्दुवादी युवाहरु आबद्ध संस्थाहरुबाट अभियान सुरु भएको छ ।

हिन्दु जागरण नेपाल, राष्ट्रियता संरक्षण युवा मञ्च नेपाल, साई शक्ति नेपाल, एटीएफ फोर्स नेपाल(वीर गोर्खाली), राष्ट्रवाद केन्द्र नेपाललगायतको संयुक्त नेतृत्वमा अर्जुनधारा–९स्थित हेमराज र टीका लिम्बू शिवाको छोराको वैदिक कर्मकाण्डिय पद्धतीबाट नामाकरण संस्कार(न्वारान) गर्दै उक्त अभियान सुरु भएको हो ।

हेमराजका दाई भक्त शिवाका अनुसार भतिजको नामाकरण संस्कार वैदिक कर्मकाण्डिय पद्धतीबाट गर्न पुरोहित खोजी गर्ने क्रममा कोही विदामा बसेको, कोहीले कोरोनाका कारण पठाउन नमिल्ने र कोहीले दलित समुदायमा पठाउने नगरेको भन्ने जवाफ आफूले पाएको उनी बताउँछन् ।

सोहीक्रममा स्थानीय राष्ट्रियता संरक्षण युवा मञ्चका अध्यक्ष रञ्जन देवकोटाको सम्पर्कमा पुगेपछि शनिबार एक कार्यक्रमकोबीच भतिजको नामाकरण संस्कार सम्पन्न भएको थियो । हर्षित मुद्रामा देखिएका उनी भन्छन्–“अब जातकै कारण हाम्रो संस्कार गर्न रोकटोक रहेनछ र आफ्नै समुदायको पुरोहित चाहिने भन्ने होइन रहेछ।” त्यस्तै आफूहरुको इच्छा र संस्कार अनुसार वैदिक कर्मकाण्डिय पद्धतीबाट भतिजको नामाकरण संस्कार सफलतापूर्वक सम्पन्न भएकोमा उनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

दलितको घरमा ब्राम्हण गुरुहरुबाट कुनैपनि संस्कार नगर्ने गलत परम्परालाई चिर्न र संविधानले पनि जातीय छुवाछुतलाई दण्डनीय कार्य मानेको अवस्थामा अब उप्रान्त गुरुहरुले त्यस किसिमको कार्य नगर्न जागरणसँगै चेतना दिने उद्धेश्यले सो अभियान सुरु गरिएको हिन्दु जागरण नेपाल झापाका अध्यक्ष खगेन्द्र निरौला बताउँछन् ।

त्यस्तै ब्राम्हण ब्रम्हत्वमा आधारित हुन्छ र ब्राम्हणले सबैका कर्महरु गराउनुपर्छ हिजो सप्तऋषीहरुले पनि गएर सबैको वैदिक पद्धतीबाट कर्महरु गराएको हुँदा दलित भएकै कारण कर्म नगराउने ब्राम्हणहरु बारे जानकारी दिन र त्यस किसिमको कार्यहरु भएको भेटीएमा आवश्यक कार्वाहीका लागि पहल गर्ने अध्यक्ष निरौला दावी गर्छन् ।

संसारको सबैभन्दा पूरानो वैदिक पद्धतीबाट गरिने संस्कारमा जाती र दलितको नाममा हुने विभेद, विकृती र विसंगतीहरुका कारण बाध्य भई हुनसक्ने धर्म परिवर्तनको कार्य अन्त्य होस् भन्ने अभियानको अर्को उद्धेश्य रहेको मञ्चका अध्यक्ष देवकोटाले बताए । सबैको लागि खुल्ला रहेको वैदिक संस्कारको नियममा बस्न चाहने जो सुकैको जन्मदेखि मृत्युसम्मको संस्कार गुरुजीहरुले गर्नुपर्दछ भन्ने सिद्धान्त मञ्चको रहेको उनले स्पष्ट पारे ।

एउटै जाती, धर्म र संस्कार मान्ने हामीलाई श्रमको आधारमा दलित भनेर हाम्रै संस्कार अनुसार कर्महरु गराउन पुरोहितहरु इच्छुक नहुनु दुःखद भएको अर्जुनधारा नगर कार्यपालिका सदस्य रमेश त्रिखत्री बताउँछन् । सबै संस्थाहरुको प्रयासमा नवजात शिशुको नामाकरण संस्कार वैदिक पद्धतीबाट हुनु उदाहरणीय कार्य भएको हुँदा आगामी दिनमा यसको निरन्तरताको लागि आफूले पनि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

गत कात्तिक २६ गते जन्मिएका नवजात शिशुको नाम सो संस्कारबाट ‘टेकबहादुर’ जुरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here