मानवता र संवेदना मर्न नदिऔं

७ मंसिर २०७७, आईतवार मा प्रकाशित

प्राणीमध्येको सर्वश्रेष्ठ भनिने मानव जाति यतिबेला कलंकित हुन थालेको छ । यसो हुनुको पछि मानिसमा मर्दै गरेको मानवता र हराउँदै जान थालेको संवेदना नै मुख्य कारक रहेको मान्नुपर्छ । दिनुहुँ सार्वजनिक भइरहेका बालबालिका, युवतीहरु माथि भइरहेको यौन शोषण, दुव्र्यवहार र दुराचारका घटनाले मानवीय संवेदना हराउँदै र मर्दै गरेको प्रमाणित गरिरहेका छन् । अझ फरक क्षमता भएका अबोध बालिका तथा किशोरीहरु बलात्कृत भइरहेका समाचारले आज मानिसबाट आदर्श, नैतिकता, मानवीय मूल्य र मान्यताहरु स्खलन भएको प्रमाणित गरेको छ । त्यसभन्दा पनि ठूलो अपराध शारीरिक तथा बौद्धिक अपाङ्ग भएका बालिका र किशोरीहरु माथि परिवारकै सदस्य तथा छिमेकीहरुबाट भएको यौन शोषणलाई लिन सकिन्छ ।

महिला, बालबालिका र अपाङ्गता भएका व्यक्ति तथा बालिकाको पक्षमा काम गर्दै आएका अधिकारकर्मीहरुले यस्ता कतिपय घटना सार्वजनिक नहुने गरेको बताएका छन् । झापाको कन्काई नगरपालिकामा रहेको सुस्त मनस्थिति सरोकार समाजमा आफन्त र छिमेकीहरुबाट बलात्कृतहरुबाट जन्मिएका दश जना बालबालिका संरक्षित छन् । घरबाट अपहेलित भई सडकमा पुगेका त्यस्ता बालबालिकालाई प्रहरीले फेला पारेर यस्ता बालगृह र पुनस्र्थापना केन्द्रमा बुझाउने गरेको छ । बौद्धिकरुपले अपाङ्गता भएका किशोरीहरु कति बोल्न र कति देख्नै नसक्ने भएकाले दोषीको पहिचान हुन नसक्ने गरेको प्रहरीको भनाइ छ । शारीरिक तथा बौद्धिक अपाङ्गता भएका बालिका, किशोरी र युवतीहरु आफ्नै बाबु, दाजु, भाइ र नातेदारहरुबाटै असुरक्षित रहेको भन्दै यस क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले चिन्ता प्रकट गरेका छन् ।

देशभर बढ्दै गएको हिंसाका यस्ता घटनाले मानवता स्खलनको उत्कर्षमा रहेको देखाएको छ । यसो हुनुका पछि प्रविधिको व्यापकता पनि कारकतत्व हुनसक्छ । एकातिर यसो हुनुका पछि प्रविधिको व्यापकता पनि कारकतत्व हुनसक्छ । एकातिर समाजमा गरिबी व्याप्त छ । त्यसकै कारण कतिपयले वैदेशिक रोजगारीलाई बाध्यतापूर्वक रोज्नु परेको छ । अभावकै बीचबाट अपराध जन्मिने प्रमाणित तथ्यहरुलाई नबिर्सिने हो भने अपराध न्यूनीकरणका लागि सरकारको गम्भीर ध्यानाकर्षण हुनु पर्दछ । अर्थात् सरकारले देशमै रोजगारीको सृजना गर्नुपर्छ र शारीरिक तथा बौद्धिक अपाङ्गता भएकाहरुको पुनस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नु पर्दछ । झापामा यस्ता अपराधका घटनाहरु दिनहुँ बढ्दै जान थालेको सन्दर्भलाई स्थानीय सरकारका प्रतिनिधिहरुले गम्भीरतापूर्वक लिनु पर्दछ । झापाको बाह्रदशीको बहु अपाङ्गता भएकी एक किशोरीको गर्भावस्थाको घटनाले पुरुष जातिको शिर झुकाएको छ । आफूले केही गर्न नसक्ने ती किशोरीलाई कन्काईमा रहेको सुस्तमनस्थिति सरोकार समाजले पुनस्र्थापना गर्ने भएको छ । समाजकी अध्यक्ष शान्ता पोखरेलले ती किशोरीको गर्भमा हुर्कदै गरेको शिशुको पुनस्र्थापना गर्ने बताएकी छन् । मानव जाति र सभ्यतामाथि कलंकको कालो दाग लाग्ने अबोध र अक्षम बालिका, किशोरी तथा युवतीहरु माथि भएका यस्ता जघन्य अपराधका दोषीलाई पहिचान गर्दै कार्वाहीको दायरामा ल्याउन समाजले अग्रसरता देखाउनु पर्दछ । अन्यथा मानिस र पशुमा भेद रहने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here