बाह्रदशीमा १५ शय्याको अस्पताल निर्माणमा जुटे स्थानीय: झापामा ११ वटा अस्पताल बन्दै

७ मंसिर २०७७, आईतवार मा प्रकाशित

राजगढ । बाह्रदशी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका लागि स्थानीयवासी जुटेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रदशी–२ राजगढमा रहेको राजगढ स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माणका लागि अनुमति दिएसँगै स्थानीयवासी अस्पताल निर्माणमा जुटेका हुन् ।

जिल्लाकै विकट र अविकसित क्षेत्र भनेर चिनिने बाह्रदशी गाउँपालिकामा ७ वटा वडा रहेको र ३ वटा मात्रै स्वास्थ्य चौकी तथा २ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेपनि निजी, सामुदायिक र सरकारी अस्पताल नभएपछि गाउँपालिकाले अस्पताल निर्माणका लागि पहल थालेको थियो । स्थानीयस्तरमा अस्पताल नहुँदा त्यहाँका स्थानीय वासिन्दा स्वास्थ्य सेवा लिन मेची अस्पताल भद्रपुरसहित बिर्तामोड, विराटनगर, धरान लगायतका स्थानमा जान बाध्य थिए । पछिल्लो समय निजी स्तरबाट राजगढमा एस्तर अस्पताल सञ्चालनमा आए पनि सबै सेवा नहुँदा दक्षिण क्षेत्रका स्थानीयवासी स्वास्थ्य उपचारका लागि अहिले पनि अन्यत्र जान बाध्य छन् ।

संघीय सरकारले हरेक स्थानीय तहमा एक÷एक वटा अस्पताल बनाउने अवधारणा अघि सारेसँगै अहिले देश भरका हरेक स्थानीय तहमा अस्पताल निर्माण भइरहेका छन् । बाह्रदशी गाउँपालिका–२ राजगढमा रहेको राजगढ प्राथमिक स्वास्थ्य चौकीमा यसअघि अन्य स्वास्थ्य चौकीमा सरह सेवा प्रवाह गरिँदै आए पनि अब स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै अस्पताल निर्माण गरिएसँगै त्यस क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवा लिन अन्यत्र जानु नपर्ने गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नति भएसँगै सबैभन्दा बढी त्यस क्षेत्रका विपन्न समुदायका नागरिक लाभान्वित हुने अध्यक्ष राजवंशीको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाह्रदशीका अध्यक्ष तोयानाथ पोखरेलले वाह्रदशीमा हरेक वडामा स्वास्थ्य संस्था निर्माण हुँदै आए पनि अस्पताल निर्माण भएसँगै कचनकबल गाउँपालिकाको केही भाग र झापा गाउँपालिकाको पश्चिमी वडाका स्थानीयवासिन्दा समेत लाभान्वित हुने बताए ।

यसैबीच झापाका ११ वटा स्थानीय तहमा १०देखि १५ शय्याका अस्पतालको शिलान्यास हुँदैछ । मंसीर १५ गते भित्र सबै अस्पताल शिलान्यास गरिसकिने कार्यक्रम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ गर्न लागेको हो । झापाका १०सहित देशका ३९६ स्थानीय तहका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै अस्पताल निर्माणका लागि पत्राचार गरिएको छ  ।

कोभिड–१९को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मंसीर १५ गते एकैसाथ शिलान्यास गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ । देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५,१० र १५ शय्याको अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा समेत भइरहेको मन्त्रालय जानकारी दिएको छ ।
यस अनुसार झापाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको हो । बिर्तामोडस्थित अनारमनी स्वास्थ्य चौकी, गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकी, कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल निर्माण हुन लागेका हुन् । त्यस्तै बाह्रदशी गाउँपालिकाको राजगढ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल निर्माण गरिँदैछ भने बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकी, झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीलाई १०÷१० शय्याको अस्पताल बनाइँदैछ ।

यता कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शय्या, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्या र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शय्याको अस्पताल निर्माण हुन लागेको हो । मन्त्रालयले लागत इस्टीमेट तयार गरी थप ३० प्रतिशत बजेट सम्बन्धित पालिकाले व्यहोर्ने व्यवस्था गरेको छ ।
यता हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शय्याको अस्पताल बनाउनका लागि बजेट विनियोजन भएर आएपनि अस्पताल निर्माणका विषयमा विवाद रहेको छ । हल्दिबारी–१को गोलधापमा रहेको गोलधाप स्वास्थ्य चौकी र जलथल स्वास्थ्य चौकीलाई अस्पताल बनाउने भन्ने विषयमा विवाद छ ।

अस्पताल बनाउन ५७ अर्ब ९७ करोड

झापा । सरकारले ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि करिब ५८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकम स्थानीय तहलाई अर्थ मन्त्रालयले सोझै पठाउने भएको छ ।

कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्रालयले विभिन्न आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले आगामी दुई वर्षभित्र ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

अर्थ मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ विभिन्न स्थानीय तहमा पठाइसकेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here