असैद्धान्तिक र व्यक्तिकेन्द्री खिचातानीको दलदलमा नेकपा

८ मंसिर २०७७, सोमबार मा प्रकाशित

राणाशासनको अन्त्यकालमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायणबिलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठले २००६ साल बैशाख १० अर्थात् सन् १९४९, अप्रिल २२ तारिख लेनिन जयन्तीका दिन भारतको कोलकाताको श्यामाबजारमा नेपालमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने लक्ष्यका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पार्टीमा वि.सं. २००८ सालदेखि नै विजातीय, अस्वस्थ र असैद्धान्तिक अन्तरसंघर्ष शुरु भएर २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनपछि टुक्रा–टुक्रामा विभक्त हुन पुगेर पार्टीको दुःखद् इतिहास रचना भयो । बीसको दशकको मध्यसम्ममा नेपाल कम्युनिस्ट पार्टी २५ बढी स–साना भँगालामा बाँडियो । बीसको दशकको उत्तराद्र्ध र तीसको दशकको पूर्वार्धमा कम्युनिस्टहरु दुई धु्रबमा धु्रुवीकृत हुन शुरु गरे । एकातिर झापा विद्रोहको पृष्ठभूमिमा को–अर्डिनेशन केन्द्र हुँदै २०३५ साल पुस ११ मा माओ जन्मजयन्ती अवसरमा सीपी मैनाली, गोविन्द न्यौपाने, मुकुन्द न्यौपाने, माधव नेपाल, झलनाथ खनाल अमृत बोहरा, रत्नकुमार बान्तवा, ईश्वर पोखरेल, मदन भण्डारी, प्रदीप नेपाल, जीवराज आश्रित लगायतको पहलमा नेकपा (माले) को स्थापना भयो ।

नेकपा मालेलाई झापाली राजबन्दीहरु केपी ओली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, नरेश खरेल, घनेन्द्र बस्नेत, डा. नारद वाग्ले लगायत र नेपाली प्रगतिवादी साहित्याकाशका उज्ज्वल नक्षत्र, वामपन्थी चिन्तक मोदनाथ प्रश्रितको सहानुभूति र समर्थन थियो । यो धारले माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै माओत्सेतुङ विचारधारा वा माओवादलाई परित्याग गर्दै अन्ततः नेकपा एमाले बन्यो । अर्कोतिर तीसको दशकको शुरुवातमा मोहनविक्रम सिंह, निर्मल लामासहितको पहलमा केन्द्रीय न्युक्लियस बनाइएको थियो र पछि नेकपा चौथो महाधिवेशन गठन गरिएको थियो । यो धारमा बेग्लाबेग्लै समयमा मोहन बैद्य, हरिबोल गजुरेल, सीपी गजुरेल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल (प्रचण्ड) सामेल भए । यो धार विभिन्न पटक विभाजन र एकताका श्रृंखला पार गर्दै अन्ततः नेकपा माओवादी बनेर १० वर्षे जनयुद्ध सञ्चालन गर्न पुग्यो ।

को–अर्डिनेसन केन्द्रको धार र केन्द्रीय न्युक्लियस धारबीच लगभग तीन वर्षअघि सहकार्य र तालमेल शुरु भएर अहिले एकीकृत नेकपा बन्न सफल भएको छ । फेरि एकीकृत पार्टी विभाजनको संघारमा पुगेको छ । मुलुकमा राजनीतिक स्थिरता र जनपक्षीय राजनीति पक्षधरका लागि दुर्भाग्यपूर्ण परिस्थिति सृजना हुँदैछ । अहिले भइरहेका पार्टीका गतिविधि र पार्टीभित्र झाँगिदै गएका अस्वस्थ, असैद्धान्तिक र व्यक्तिवादी सोच र सो अनुरुपका आत्मघाती र विध्वंसात्मक क्रियाकलापले नेपाली कम्युनिस्टमा फुट र विभाजनको पुरानो रोग दबिएको र मौका पाउना साथ उजागर हुने पुष्टि भएको छ । नेपाली कम्युनिस्टहरुको स्कुलिङमा खोट भएको अनुमान गर्न सकिन्छ । स्कुलिङमा पार्टी विभाजन गर्ने, विरोधको राजनीति गर्ने, विपक्षी बेञ्च रुचाउने, क्रान्ति भनेको हिंसा हो भनेर सिकाइने गरेको पुष्टि भएको छ ।

नेकपामा विवाद यति बढेर गएको छ कि यसले पार्टी विभाजनको सम्भावनालाई सन्निकट बनाएको छ । यतिबेला लाग्छ– नेकपा विभाजन रोक्न प्रयत्नशील तमाम कार्यकर्ता, समर्थक, शुभेच्छुकको पहल र कामना पनि विफल हुनेछ । वि.सं. २००६ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीको मूल प्रवाह नेकपा शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छ । तर, यो पार्टी हरेक हिसाबले पार्टी नभएर अलग–अलग घटकहरुको मोर्चा जस्तो लाग्छ । सबै गुट–उपगुट र घटकको भागबण्डा हुनुपर्ने र त्यो हुन नसके स्वार्थ टकराउने हुँदै आएको छ । यो एकीकृत पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर तीन वर्षअघि बनेको हो । तर, एकताका धेरै कार्यभार अझै बाँकी छन् । पार्टीमा विचारमा एकरुपता छैन । एकताको महाधिवेशन सुनिश्चित गर्नको सट्टा शक्तिको केन्द्रीकरणमा शीर्ष नेतृत्वमा अस्वस्थ होडबाजी छ । अब चाँडै मतभेद र खिचातानीको सैद्धान्तिकीकरण गरिनेछ र कार्यकर्ता धु्रबीकरणको चपेटामा पर्नेछन् । नेकपाका कार्यकर्ता लुरुलुरु आफ्नो पार्टीको विभाजनको मलामी हुन तयार छन् र शुभेच्छुक टुलुटुलु विग्रह र विनाशको नाटक हेर्न अभिषप्त छन् । यो फुट र बिग्रहको नाटक मञ्चन पार्टी शीर्ष तहबाट नै भएको हो, तर दोषको भागीदार कार्यकर्ता पनि हुन् । जाग्रत कार्यकर्ताले प्रश्न उठाउँछ । अहिले कार्यकर्ता अनुगामी छन्, आदेशको पालनकर्ता भएका छन् । गुट हेरेर बोल्ने र नेता हेरेर सही वा गलत बुझ्ने कार्यकर्ता बहुमतमा छन् नेकपामा ।

माक्र्सवाद लेनिनवाद मार्गनिर्देशक सिद्धान्त र समाजवादउन्मुख जनताको जनवाद पार्टीको मुख्य कार्यक्रम पार्टीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । यो पार्टीको नेतृत्वमा दुई तिहाइ हाराहारीको बहुमतसहितको सरकार छ । आफ्नो चुनावी घोषणापत्रमा विकास, समृद्धि र सुशासनको प्रतिबद्धता जनाइएको थियो, ‘समृद्ध नेपाल सुखी नेपाली’ को अति आकर्षक नारालाई जनताको अपार समर्थन रहेको थियो तर सत्ता सञ्चालनको मध्यतिर आउँदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरमराउन शुरु गरेको छ । पार्टीभित्रबाटै सरकारका कार्यशैलीलाई लिएर प्रश्न उठाइएको छ । दुई वर्षसम्म सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेपालको संविधान २०७२ को प्रावधानको कारणले दुई वर्षसम्म अपेक्षाकृत सहज र शान्तरूपमा सरकार सञ्चालन भयो तर २०७६ को फागुनदेखि केपी नेतृत्वको सरकार ढाल्ने प्रत्यक्ष–परोक्ष, बाह्य–आन्तरिक खेल शुरु भएका छन् । यो कुरा घामजत्तिकै प्रष्ट छ कि पार्टीभित्रका विवाद मुलुक र मुलुकवासीको हितमा छैन, यो त प्रधानमन्त्री र मन्त्री पदका लागि हो । नेकपा शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा पार्टीको जीत हुने र सरकार बनाउन सकिने विश्वास हराउँदै गएको छ ।

मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक रुपान्तरणका लागि नेकपालाई जनताको अभिमत प्राप्त भएको साँचो हो । तर, राजनीतिक अस्थिरताको शुभारम्भ गरेको अपजसको एकमात्र भागिदार नेकपा बन्दैछ । राणाशासन पछि नेपालमा कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् र पूरा गर्न दिइएको छैन । यतिबेला पनि त्यही अस्थिरताको पुनरावृत्ति गरिँदैछ । आगामी चुनावमा पार्टीका आम कार्यकर्ता जनतासामु राजनीतिक अस्थिरताको खलनायकीय पात्रको रुपमा चित्रित भएर शिर झुकाएर मत माग्न जानुपर्ने परिस्थिति बन्दैछ । नेकपाका उपल्ला तहका नेताहरु प्रधानमन्त्री र राष्ट्रपति बन्न नै यो विवाद र खिचातानी भएको उदाङ्ग भएको गोपनीय कुरा अर्थात् ‘ओपन सिक्रेट’ हो ।

पार्टीभित्रको यो विवादको अन्तर्य जनहितभन्दा पनि व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा भएको अनुमान गर्न जोकोहीलाई अप्ठेरो छैन । नेकपा विभाजन भनेको जनादेशमाथिको घात हुनेछ, मतादेशको घोर अपमान हुनेछ । २००७ सालदेखि नै सरकार बनाउने र गिराउने खेलको दुश्चक्रमा परेको नेपाल फेरि संयुक्त र मिलिजुली सरकारको बाटोमा लाग्न अभिषप्त हुँदैछ । नेकपामा नीतिभन्दा नेता प्राथमिकतामा पर्न थाल्नु र पार्टी गुटबन्दीले थलिनु नेपाली लोकतन्त्रको लागि अति दुःखद् पक्ष हो । पार्टीको नेतृत्व व्यक्तिकेन्द्रित हुनु र राज्यका स्रोतसाधन दलभित्रका गुटका लेनदेनको विषय बन्नु विधि र पद्धतिभन्दा बाहिर जानु हो । खुला छलफल र चिन्तन नगर्ने परिपाटीले कार्यकर्तालाई समेत नेताहरुको गतिविधिबारे प्रश्न गर्न दिँदैन । कार्यकर्ताले भेला, बैठक, सम्मेलन वा महाधिवेशन मार्फत प्रश्न गर्ने हो । तर, जब प्रश्नहरू निषेध हुन्छन्, तब निरंकुशता हावी हुन्छ र दासता मौलाउँछ । अहिलेका अभ्यासहरूले नेकपा कमजोर भएको छ, कार्यकर्ता निरीह पछुवा भएका छन् र नेता बलिया भएका छन् । जहाँ विधि र पद्धतिले काम गर्छ, त्यहाँ नयाँ नेतृत्व जन्मिन्छन् । नेकपामा पन्पिएको यस्तो प्रवृत्तिले विचारले खारिएका, केही गरौं भन्ने युवा नेताहरूलाई पार्टी नेतृत्वमा पु¥याउन सक्दैन ।

नेकपाका दोस्रो, तेस्रो र चौथो तहका नेताहरु पार्टीको मूल नेतृत्वमा आउने सम्भावना अति नै न्यून छ । आश्चर्यजनक कुरा यो छ कि आजका मितिसम्म नेकपाका दोस्रो, तेस्रो र चौथो तहका नेताहरूले नेकपा हाँक्ने हिम्मत देखाउन सकेका छैनन् । पाका पुस्ताका नेताहरु नेतृत्व छोडेर सल्लाहकार बन्न तयार छैनन् । नेपालमा नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टी र राप्रपामा वर्षौंदेखि नेतृत्वहरू दोहोरिएका छन्, जहाँ युवा नेता पाका नेताका पछुवा मात्र भएका छन् । यी दलका युवालाई आफूले नेतृत्व पाउँला भन्ने नै लाग्दैन । तिनले मुख्य नेतालाई यसको बाधक मान्छन्, जसले दशकौंसम्म देश र दललाई स्वार्थअनुकूल निरंकुश उपयोग गरिरहे । नेपालका राजनीतिक दलहरू गुटका पुञ्ज जस्ता छन् । नेकपा विभाजन गरी अन्य दलसँग गठबन्धन गरी संयुक्त सरकार बनाउने इरादा र गतिविधिले मुलुक असहज र अलमलको अवस्थामा फँस्दैछ ।

नेकपा नेतृत्वमाथि राजनीतिक अस्थिरताको बिजारोपण गरेको संगीन आरोप लाग्नेछ । इतिहासले नेकपा नेतृत्व सत्तास्वार्थ, शक्ति आर्जन र पदलोलुपताको गोलचक्करमा फँसेर विवेकशून्य भई आफ्नो खुट्टोमा आफै बञ्चरो हानेको र नेपाली जनताले कम्युनिष्टप्रति देखाएको सद्भावमाथि तुषारापात गरेको भनी कलंकको टीका लगाइदिनेछ । सम्भावित नेकपा विभाजनले सबैलाई घाटा पुग्ने निश्चित छ । नेकपा नेतृत्वलाई आफ्नो घरमा आगो झोंसेर खरानीको टीका लगाएको आरोप पखाल्न प्रशान्त महासागरको पानी पनि पर्याप्त हुँदैन । डा. केशरजङ्ग रायमाझी लगायत कतिपय नेपाली कम्युनिष्ट नेताहरुमा पार्टीलाई दरबारमा बुझाएको आरोप अहिले पनि लागीरहेको छ । पार्टी फुटाउने कलंक पनि इतिहासमा कहिले मेटिने छैन ।

जनपक्षीय काम गरेर आगामी चुनाव पनि जित्नुपर्ने कम्युनिष्ट नेताहरु स्वार्थान्धताले पागल बनेर आत्मघाती कदम चाल्न तयार छन् । जोडेर जानुपर्नेमा फोडेर हिँड्न खोजेपछि दुर्घटनामा त अवश्य पुगिन्छ । नेकपा विभाजनबाट कम्युनिष्ट आदर्शप्रति आशावान युवाहरुमा नैराश्य बढ्छ, आक्रोश झाँगिन्छ र उनीहरुको रगतमा विद्रोह सल्बलाउन थाल्छ । त्यसले अराजकताको बाटो लिन्छ र मुलुक राजनीतिक दुर्घटनामा पर्छ । यदि नेकपा विभाजन भयो भने सबैभन्दा बढी नोक्सान मुलुक र मुलुकबासीलाई हुन्छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच भएको गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थिरता र विकास हुने अपेक्षा थियो र छ । मतदाताको नजरमा न सरकारका काम प्रभावकारी देखिएका छन्, न त पार्टी एकता नै मजबुत हुन सकेको छ, न पार्टी नेतृत्वले सरकारलाई सहयोग गरेको नै छ । परिणामस्वरुप मतदाताहरु सरकार र नेकपाप्रति असन्तुष्ट देखिन थालेका छन् ।

सरकारले काम गर्न नसक्नुमा सम्पूर्ण पार्टी नेतृत्व जिम्मेवार छ । हाल नेकपामा देखिएको खिचातानी केबल पदका लागि हो र यसका लागि मुख्यतः शीर्ष नेतृत्व नै जिम्मेवार छ । पटक–पटक दश वर्षभन्दा पनि बढी समय पार्टीको मुख्य पद अध्यक्ष वा महासचिव भइसकेका, पटक–पटक मन्त्री र प्रधानमन्त्री भइसकेका नेताहरु नै पटक–पटक झम्टी–झम्टी सोही पदमा जान आफ्नै पार्टीको सरकार गिराएर, पार्टी विभाजनको वातावरण तयार गरेर अघि बढ्न खोज्नु अत्यन्तै दुःखद् पक्ष हो । समाजवादउन्मुख राज्यव्यवस्थाका आर्थिक, सामाजिक, कानूनी, शैक्षिक लगायतका आधारहरुको खाका बनाउन दलको भूमिका न्यूनीकरण गरिनु नेपाली राजनीतिको सबैभन्दा कालो र निराशलाग्दो पक्ष हो । तर प्रश्न छ– यस्ता गतिविधि कहिलेसम्म भइरहन्छन् ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here