नमस्कारको आध्यात्मिक अर्थ र महत्व

९ मंसिर २०७७, मंगलवार मा प्रकाशित
  • 81
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares

हाम्रो पूर्वीय दर्शनको महत्वपूर्ण अंगको रुपमा रहेको अभिवादन गर्ने संस्कार निकै पुरानो र बोधगम्य छ । साना, ठूला, साथीभाइ, गुरु, माता–पिता, आफन्त, कुटुम्ब, इष्टमित्र, छरछिमेकी सबैलाई सम्बन्ध र उमेर अनुसारको अभिवादन गर्ने चलन रहेको छ । अभिवादन गर्ने धेरै प्रकारका तरिका र प्रचलन रहेता पनि नमस्कार वा नमस्ते नै सबैभन्दा प्रचलित र सर्वमान्य प्रकृतिको रहेको छ । नमस्कार आम रुपमा सबैले कुनै न कुनै समयमा कसै न कसैलाई गरेको सामान्य विषय हो तथापि आज आलेख मार्फत प्रक्तिकारले नमस्कार वा नमस्तेको आध्यात्मिक महत्ता उजागर गर्न खोजेको छ । आध्यात्मिक दृष्टिकोणमा नमस्कारको अर्थ र महत्वलाई प्रष्ट पार्न खोजिएको छ ।

नमस्कार वा नमस्ते भारतीय महाद्धीपमा अभिवादन गर्ने एक प्रचलित चलन हो । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा विदाइ गर्ने समय दुबैमा प्रयोग गरिन्छ । नमस्कार गर्ने समय व्यक्तिको पीठ अगाडि तर्फ झुकी छातीको मध्यमा हात एकआपसमा जोडी, औँलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथसाथै व्यक्ति नमस्ते वा नमस्कार शब्द उच्चारण गर्दै अभिवादन गर्दछ । हात र शरीरको यो मुद्रालाई नमस्कार गरेको भनिन्छ ।

नमस्कार एक संस्कृत शब्द हो जुन संस्कृत भाषाको नमः शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु भन्ने हुन्छ । हाम्रो हिन्दू धर्म संस्कृति अनुसार हामी प्रत्येक प्राणीभित्र ईश्वरीय शक्ति रहेको हुन्छ, जसलाई हामी आत्मा भन्दछौँ । नमस्कार गर्दा एक व्यक्तिको आत्माले दोस्रो व्यक्तिको आत्मालाई अभिवादन गरेको विश्वासका आधारमा हामी नमस्कार गर्ने गर्दछौँ ।

नमस्कारको आध्यात्मिक शोध गर्दा एक व्यक्तिले अर्को व्यक्तिलाई नमस्कार गर्दा आध्यात्मिक रुपले प्रशस्त लाभ र सात्विक अभ्यासको विकास हुने रहेछ । कसैलाई नमस्कार गर्नु भनेको उक्त व्यक्तिमा दैवीरुप देख्नु हो अतः यसको अभ्यासले जीवमा दैविक चैतन्य आकर्षित भई आध्यात्मिक भावको बास हुन्छ । जुन भावबाट हामीमा कृतज्ञता र भक्ति उत्पन्न भई अध्यात्मको विकास हुन्छ ।

हामीले नमस्कार गर्ने संस्कारको पालना गर्दा हामीमा विनम्रता बढ्ने र अहमताको अन्त्य हुँदै जाने हुन्छ । किनकि नमस्कार गर्दा हामीमा यस्तो विचार उत्पन्न हुन्छ कि जसलाई नमस्कार गरिन्छ । उक्त व्यक्तिप्रति श्रद्धा बढ्दछ र तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईको अधिनस्त छु, म भन्दा ज्ञानी र सर्वज्ञ हुनुहुन्छ भन्ने भावनाको श्री गणेश भई अहंकार कम हुँदै जान्छ ।

केही शास्त्रार्थीहरुको विचारमा पूर्वीय दर्शनको अनमोल धनको रुपमा रहेको नमस्कार गर्ने मुद्रा दैवी चैतन्यभन्दा देहमा अवशेषित रहन्छ भनेका छन् । नमस्कार वा नमस्ते शब्द उच्चारण गरी मुद्रा धारण गर्नाले आकाशतत्वको आह्वान हुन जान्छ । पृथ्वीतत्वको पनि आह्वान हुन्छ । त्यस्तै सृष्टीका पाँच तत्व पञ्च महाभूतको आह्वान हुन्छ र मानव देह सकारात्मक आध्यात्मिक स्वरुपमा विकसित हुँदै जान्छ ।

त्यतिमात्र आजको वैज्ञानिक युगमा समेत उच्च कोटीको अभिवादनको स्वरुप मानिएको नमस्कारले व्यक्ति–व्यक्तिबीच हुने शारीरिक सम्पर्क कम गराउँदछ, जसले गर्दा अर्को व्यक्तिमा भएको नकारात्मक ऊर्जा प्रवाहलाई न्यून गराउँदछ । साथै विज्ञानको विकाससँगै भित्रिएका विभिन्न सरुवा संक्रामक रोगहरुबाट बच्न मद्दत गर्दछ । यसरी नमस्कार गर्ने दुवै व्यक्तिहरु बीचको नकारात्मक स्पन्दन कम भई सात्विक स्पन्दनको लाभ प्राप्ति हुन्छ ।

नमस्कारबाट उत्पन्न हुने सूक्ष्म ज्ञानबारे शोधकर्ता कु. प्रीयंका लोटलीकरले अति सक्रिय छैठौँ इन्द्रीयको प्रयोग गरी नमस्कार गर्दा पैदा हुने आध्यात्मिक ज्ञानको आवृत्ति दर्शाउन नमस्कारबाट उत्पन्न हुने स्पन्दनको सूक्ष्म चित्रको विकास गर्नुभएको छ । जसअनुसार जसलाई नमस्कार गरिएको छ उसको आध्यात्मिक स्तर ५० प्रतिशत हुन्छ भने जसले नमस्कार गर्दछ उसको आध्यात्मिक स्तर ३० प्रतिशत हुन्छ भनिएको छ ।

उनका अनुसार जब एकव्यक्ति अर्को व्यक्तिलाई नमस्कारसहित अभिवादन गर्दछ ऊ सँग यस्तो भावनाको उत्पत्ति हुन्छ कि म सक्षम व्यक्तिको आत्माप्रति आफ्नो श्रद्धा प्रकट गरिरहेको छु । तब त्यस व्यक्तिभित्र भावको एउटा चक्रको निर्माण हुन्छ ।

सामान्यतया हामी एक हातले अथवा दुवै हात नजोडी, मुखले नमस्कार उच्चारण गरेर मात्र अथवा अन्य विभिन्न तरिकाले नमस्कार अभिवादन गर्ने गर्दछौँ । तर, रितपूर्वक नमस्कार गर्न अन्तकरणदेखि आँखा बन्द गरेर, दुबै हातमा कुनै पनि वस्तु नराखी, शरीरको मध्य भागभन्दा माथि र गर्धनभन्दा तल, शरीरबाट नजिकको दूरीमा राखी नमस्कार गरिएको व्यक्तिसँग स्पष्ट हुने गरी नमस्कार उच्चारणको साथ गर्नुपर्दछ ।

सारांशमा संसारभरि चलेका अभिवादनका सबै प्रकारहरुमध्ये नमस्कार वा नमस्तेलाई Spiritual Science and Research Foundation ले सर्वाधिक सात्विक र उत्कृष्ट अभिवादनको विधि भन्दै यसलाई सकेसम्म व्यवहारमा प्रयोग गर्न सुझाएको छ ।

यो एक प्रकार साधना वा योगको प्रकार समेत भएको भन्दै उक्त संस्थाले कसैको संस्कार वा प्रथामा नमस्कारको चलन छैन भने शुरु गर्नसम्म भनेको छ । भावपूर्ण नमस्कारले अनुशासन, साधना, भक्ति, श्रद्धा र व्यक्तिमा सकारात्मक सोचको उदय गराउँदछ । तर, निरन्तर यसको अभ्यासमा कमी आउँदै गरेको हाम्रो समाजमा आजकालका आधुनिक मानिएका व्यक्तिहरु हाँसो र मजाकको विषय बनाउने गरेका छन् । कतिपयलाई त नमस्कार वा नमस्ते भन्न लाज लाग्छ समेत भन्ने गरेका छन् । वास्तवमा हाम्रो संस्कार र संस्कृति भनेको नमस्कारबाट शुरु हुन्छ, जसको मूर्त दृष्टान्त हरेका दिनको शुरुवात सूर्य नमस्कारबाट गरिनु पनि हो ।

हामीले आजैदेखि हाम्रा कलिला बालबालिकालाई सरकारी विद्यालय र गुरुकुलमा पढ्ने÷पढाउनेले मात्र नमस्कार भन्नुपर्छ, हामी अंग्रेजी माध्यम पढ्ने÷पढाउनेले गुड मर्निङ र गुड इभिनिङ भन्ने हो खालको विचार नसिकाई नमस्कारलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सबै ठाउँमा प्रयोग गरिने अभिवादनको विशिष्ट स्वरुप हो भनेर सिकाउन जरुरी भइसकेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here