महिला हिंसाको अन्त्य गरौं

0
1131

संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सन् १९९९ को सो महासभाले घोषणा गरे अनुरुप २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना बढाउन विभिन्न कार्यक्रमको आयोजना गरिँदै आएको छ । यस अनुसार आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइन्छ । कार्यक्रम मनाइए पनि, जनचेतना जगाइए पनि हिंसाको क्रम रोकिएको छैन मात्र होइन पछिल्लो समय बालिका र वृद्धा समेत हिंसा र हत्याको शिकार हुन थालेका छन् । महिलाबिना न परिवार हुन्छ न त घरकै अस्तित्व रहन्छ । त्यहीकारण वैदिक सनातनी संस्कृतिमा नारीको पूजा हुने ठाउँमा मात्रै देवता डुल्छन् भनिएको हुनसक्छ । देवी, शक्ति, संस्कार र सभ्यताका पर्याय भनिने तिनै मातृशक्तिमाथि भइरहेको दुव्र्यवहार, हिंसा, भेदभाव र उनीहरुको संवेदनामाथि ठेस पु¥याउने घटना र कुराहरुको अन्त्य नहुञ्जेल सभ्य समाजको निर्माण हुनै सक्दैन ।

मानव समाज र यसको विकास क्रममा महिला जातिले गरेको त्याग, सेवा र समर्पणले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जंगली मानव जातिलाई परिवार र समाजको हार्दिक, सद्भाव र स्नेहाशिक्त स्पर्शले बाँधेर मायालु वातावरण बनाइदिने महिला जातिको निःस्वार्थ सेवा कुनै अर्थमा अवमूल्यन हुनुहुँदैन । तर, महिला हिंसाका बारेमा गरिएका अध्ययनहरुमा विश्वभरका पैंतीस प्रतिशत महिलाहरु आफ्नो जीवनकालमा शारीरिक वा यौनजन्य हिंसाको शिकार भएको देखाइएको छ । त्यस्तै अर्को अध्ययनमा विश्वका प्रत्येक तीन जनामध्ये एकजना महिलाले उनीहरु निकटका, प्रेमी, विश्वासपात्र वा जीवनसाथीबाट हिंसा भोगेको तथ्यांक सार्वजनिक गरिएको छ । पछिल्लो समय भौतिक विकासले शिखर टेकेको छ । यसकै परिणामस्वरुप अनेकौं विलाशितापूर्ण, मनोरञ्जन तथा सुखभोगका वस्तुहरुको प्रयोग बढ्दै छ । यसैले महिलालाई ‘भोग्य वस्तु’का रुपमा उपयोग गर्ने मानसिकता हुर्काउँदैछ । जुन मानवअधिकारका विरुद्ध छ र जीवनदायिनी मातृ जातिका सृष्टिको निरन्तरताप्रतिको दानवी आक्रमण पनि हो ।

शक्तिकी स्रोत, ऐश्वर्यकी प्रतिमूर्ति र जीवित देवीका रुपमा पुजिने महिलाप्रति आदर, सम्मान र कृतज्ञता जाहेर गर्न वैदिक संस्कृतिले सिकाएको छ । तर, त्यही जाति आज अमानवीय हिंसाको शिकार भइरहेको छ । हामीकहाँ कानूनको निर्माण गरी महिला हिंसा नियन्त्रण गर्न खोजिएको छ । तर, अझै कतै दाइजोको नाममा, कतै रुढीवादी कु–संस्कारका नाममा र कतै जातीय विभेदका रुपमा हिंसा जारी छ । दिनहुँ प्रकाशित र प्रशारित हिंसाका घटनाहरुले पनि सम्पूर्ण मानव जातिलाई लज्जित पारेको यो समय महिला हिंसाविरुद्धको दिवसले बालिका, किशोरी, वृद्धा मात्र होइन सम्पूर्ण नारी जातिप्रति सम्मान, संरक्षण र सहअस्तित्वको भाव जागृत गराओस् । पार्वतीबिना शिव, राधाबिना कृष्ण, सीताबिना राम र लक्ष्मीबिना भगवान विष्णुको अस्तित्व नरहने सत्यलाई स्वीकार गरौं । सबै मिलेर महिला हिंसा अन्त्य गर्न ऐक्यबद्धता जनाऔं, महिला हिंसा अन्त्य गरी सभ्य समाजको निर्माण गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here