हरिबोधनी एकादशीले मनोकामना पूरा गरोस्

११ मंसिर २०७७, बिहीबार मा प्रकाशित

आज हरिबोधनी एकादशी । हरिशयनीका दिन अर्थात् आषाढ शुक्ल एकादशीदेखि सुत्नु भएका भगवान विष्णु आजका दिन उठ्नु हुने धार्मिक कथन छ । यसैदिन भगवान विष्णुको विवाह देवी लक्ष्मीसँग भएको मानिन्छ । वैदिक सनातनी परम्परामा दशैं, तिहार, छठ लगायतका पर्वहरु समापन भएसँगै आउने यो दिनसँगै चालू वर्षका पर्वहरु समाप्त हुने लौकिक मान्यता छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्ती यही दिनबाट बाल्न बन्द गर्ने चलन छ । यस दिनको महिमाका कारण हुनसक्छ यो एकादशीलाई ठूली एकादशी भन्ने गरिएको हो । भगवान विष्णु प्राणी मात्रका पालनकर्ता हुन्, त्यही कारण नयाँ अन्न तयार गरी तुलसीको मठमा विशेष पूजा र भगवान–विष्णुको आराधना गरी समर्पण गर्ने वैदिक सनातनी परम्परा रहेको छ ।

वैदिक सनातनी हिन्दू धर्ममा मात्र होइन आयुर्वेदमा समेत तुलसीको ठूलो महत्व छ । यसको पात, डाँठ, फूल (मञ्जरी) विषाणु मार्न सक्ने औषधीय गुण भएको वस्तु मानिन्छ । जन्मदेखि मृत्युसम्मका संस्कार तुलसीको अभावमा पूरा हुन सक्दैन । यसको संसर्गले वातावरणीय प्रदुषण पनि समाप्त हुने विज्ञान सिद्ध मत छ । यी र यस्ता कारणले सनातनी जीवन पद्धतिमा तुलसी अनिवार्य वनस्पतिका रुपमा सुरक्षित र संरक्षित छ । पद्म पुराणमा देवी विन्दाले पृथ्वीमा आएर भगवान विष्णुलाई पति पाउ भनी घोर तपस्या गरेको र त्यसकै प्रभावमा इच्छा पूरा भएको कथन छ । त्यसैगरी श्रीमद्भागवतमा पनि तुलसीको बिरुवामा रहेको दैविक गुणलाई ब्याख्या गरिएको छ । यिनै विविध कारण र महत्वले वैदिक सनातनीले हरिशयनी र हरिबोधनी एकादशीलाई ठूलो उत्सवका रुपमा मनाउने गरेका छन् ।

कात्तिक शुक्ल एकादशीलाई तुलसी विवाह उत्सव पनि भन्ने गरिएको छ । घरमा भएको तुलसीको मठलाई बाँसको लिङ्गो गाडेर, रंगरोगन गरेर पिपलसँग विवाह गरिदिने चलन छ । जन्मदेखि मृत्युपर्यन्त यी दुई वनस्पतिको मानव जीवनसँग अटुट सम्बन्ध रहेको छ । त्यही कारण कसैको मृत्यु भएमा तुलसाको मठमा राख्ने, तुलसी पत्र वा मञ्जरी, तुलसी पानी मुखमा हाली दिने र अन्त्येष्टिपूर्व पिपलको बोटमा सुताएपछि ब्रह्मनालमा राखेर सद्गति गर्ने प्रचलन छ । यही प्रचलन र मान्यताका बीच आज बिहान उठेर स्नान गरी तुलसी विवाह र भक्तिपूर्वक पूजा गरिँदैछ । प्राणी र वनस्पतिका बीचको यस्तो अन्योन्याश्रित सम्बन्ध झनै गहिरो होस् । हाम्रो सेवा र भक्तिले भगवान विष्णु प्रशन्न भई सुख–शान्तिसँग मनोकामना पूरा होउन्, सबैमा शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here