मेचीनगरमा भेटियो ‘हरित परेवा’

११ मंसिर २०७७, बिहीबार मा प्रकाशित

झापा, 

चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पार्नुभएको छ । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उहाँकोे जिकिर छ ।

चराका बारेमा पुस्तक लेख्दै आउनुभएका डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसक्नुभएको छ । “मैले यही मङ्सिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ”, मेचीनगर–६ निवासी खरेलले रासससँग भन्नुभयो, “फोटो खिचेर पक्षी संरक्षण सङ्घ र डा बराललाई पठाएँ, उहाँले यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।”

चराहरुको खोजी र संरक्षणमा पाँच वर्षदेखि लागिरहनुभएका उहाँले झापा, इलाम, सुनसरी, चितवनलगायत स्थानमा डुलेर पक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आउनुभएको छ ।

नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्याङ्क छ । हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले जिकिर गर्नुभयो । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।

हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ । मेचीनगरका मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जङ्गल क्षेत्रमा ३०० प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उहाँले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here