सुशासनको अनुभूति होस्

१२ मंसिर २०७७, शुक्रबार मा प्रकाशित
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

एशियाका सत्र देशहरुमध्ये सर्वाधिक भ्रष्टाचार हुने देशमा नेपाल रहेको एक अध्ययनले देखाएको छ । भ्रष्टाचारबिरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको एउटा अध्ययनले स्थिर र बलियो जननिर्वाचित सरकारले पनि भ्रष्टाचार रोक्न नसकेको देखाएको छ । सो संस्थाले भ्रष्टाचारका विषयमा आम जनताको धारणा र अनुभूति कस्तो छ भन्ने विषयमा मापन गरेको थियो । त्यस अनुसार ५८ प्रतिशत नेपालीले राजनीतिज्ञ, प्रशासक, कर्मचारीदेखि स्थानीय तहसम्म नै भ्रष्टाचार हुने गरेको बताएको प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै सांसद, सिंहदरबार र सरकार सञ्चालकहरु नै भ्रष्टाचारमा संलग्न रहेको आम जनताको अनुभव रहेको जनाइएको छ । यसले स्थिर सरकार भएपछि अनाचार, दुराचार र भ्रष्टाचार घट्ने धारणा पनि असत्य सावित भएको छ ।

सरकारले मन र कर्मले भ्रष्टाचारप्रति शून्य सहनशीलता देखाउनुपर्दछ । नेतृत्व गर्नेले म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भनेर मात्र पुग्दैन, त्यसलाई रोक्न तत्परता नै देखाउनु पर्दछ । भ्रष्टाचारीलाई कार्वाही गरेको जनताले अनुभूत गर्न पाउनु पर्दछ र राजनीतिक प्रभाव वा पहुँचका भरमा भ्रष्टाचारीले उन्मुक्ति पाउँनु हुँदैन। यसलाई सरकार, भ्रष्टाचार न्यूनीकरण गर्ने कार्यमा संलग्न संस्था वा निकायहरुले गम्भीरतापूर्वक लिनुपर्दछ । ट्रान्सपरेन्सीको प्रतिवेदन अनुसार जनताले सरकारको छवि, सरकारप्रतिको धारणा कस्तो बनाएको रहेछन् भन्ने अनुभूत गरेर पारदर्शिता, जवाफदेहीताको आधारमा सुशासनको अनुभूति दिलाउन सक्नुपर्दछ ।

देशमा अहिले सार्वजनिक भएका ठूल्ठूला भ्रष्टाचार र अनियमितताका विवरणलाई त्यत्तिकै ढाकछोप गर्ने प्रचलन बढेको आरोप लाग्दै आएको छ । सरकारको नेतृत्व गर्नेले नै अनियमितता, भ्रष्टाचारका आरोपीहरुलाई संरक्षण गरिरहेको आरोप पनि लाग्दै आएको छ । गाउँ–गाउँमा सिंहदरबार पु¥याएको भनिएको छ र भ्रष्टाचार त्यही गाउँसम्म पुगेको टिप्पणी पनि भइरहेको छ । अख्तियारले भ्रष्टाचारका उजुरीमाथि छानविन नगरेको, मुद्दा चलाउन नसकेको आरोप जनताले धारणाका रुपमा प्रतिवेदनमा जनाइएको छ । यसबाट सरकारको नेतृत्व गर्ने र सरकारमा बस्नेहरुले लज्जाबोध गर्नुपर्दछ । सार्वजनिक सेवा प्रवाहलाई सहज र शुलभ बनाइनु पर्दछ । अन्यथा विश्वकै भ्रष्ट मुलुकको सूचीमा उक्लिन समय लाग्ने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here