झापामा बलात्कारका घटना बढ्यो

१२ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

झापा।

महिला हिंसाविरुद्धका १६ दिने अभियान सञ्चालन भइरहेका बेला झापामा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७मा ८८ वटा बलात्कारका घटना भएको थियो । चालू आर्थिक वर्ष २०७७/०७८ को चार महिनामा ४३ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ८ नगरपालिका र ७ गाउँपालिका रहेको झापामा चालू आर्थिक वर्षमा भद्रपुर नगरपालिकामा ८ वटा जवरजस्ती करणी (बलात्कार) भएको छ भने गाँउपालिकातर्फ बाह्रदशी गाउँपालिकामा ४ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

चलू आर्थिक वर्ष २०७७/०७८मा ८ वटा बलात्कारका घटनामा संलग्न ११ जना पक्राउ परेका छन् । त्यस्तै दमक नगरपालिकामा ५ वटा बलात्कारका घटना भएको र त्यसमा संलग्न ५ जना पक्राउ परेका छन् । त्यस्तै मानव बेचबिखन तथा बहुविवाहका एउटा घटना भएको र जसमा संलग्न दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकामा ४ वटा बलात्कारका घटना भएको छ । जसमा संलग्न ६ जना पक्राउ परेका छन् ।

मानव बेचबिखन तथा बहुविवाहका दुई वटा घटना भएको र त्यसका आरोपी दुई जना फरार रहेका छन् । जवरजस्ती करणी उद्योगका ३ वटा घटना भएकोमा त्यसमा संलग्न ३ जना पक्राउ परेका छन् । उता मेचीनगरमा मानव बेचबिखन तथा बहुविवाहका एउटा घटना भएको छ भने त्यसमा संलग्न दुई जना फरार रहेका छन् । जवरजस्ती करणीका ३, जवरजस्ती करणी उद्योगका एक र दुई वटा हत्याका घटना भएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

कनकाई नगरपालिकामा दुई वटा जवरजस्ती करणी उद्योग र एउटा हत्याको घटना भएको र त्यसमा संलग्न पक्राउ परेको बताइएको छ । अर्जुनधारा नगरपालिकामा ४ वटा बलात्कार र एउटा जवरजस्ती करणी उद्योगका घटना भएका छन् । शिवसताक्षी नगरपालिकामा एउटा बलात्कार र एक जना व्यक्तिको हत्या भएको छ भने गौरादह नगरपालिकामा १–१ वटा जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग र हत्याका अपराध भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिकातर्फ चालूआर्थिक वर्षमा बाह्रदशी गाउँपालिकामा ४ वटा जवरजस्ती करणी र एउटा मानव बेचबिखन तथा बहुविवाहका घटना भएका छन् । बुद्धशान्ति गाँउपालिकामा ३ वटा जवरजस्ती करणी र एउटा जवरजस्ती करणी उद्योगका घटना भएका छन् । गौरीगञ्ज गाउँपालिकामा ३ वटा जवरजस्ती करणी र दुई वटा मानव बेचबिखन तथा बहुविवाहका घटना भएका छन् । उता कमल गाँउपालिकामा एउटा मानव बेचबिखन तथा बहुविवाह र दुई जनाको हत्या भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै हल्दिबारी गाउँपालिकामा ३ वटा जवरजस्ती करणी र दुई वटा मानव बेचबिखन तथा बहुविवाह, झापा गाउँपालिकामा दुई वटा जवरजस्ती करणी, एउटा हत्या र एउटा मानव बेचबिखन तथा बहुविवाहका घटना भएका छन् । कचनकवल गाउँपालिमा दुई वटा जवरजस्ती करणीका घटना भएको प्रहरी प्रवक्ता डीएसपी थापाले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७६÷०७७ मा १५ वटा स्थानीय तहमा ८८ वटा जवरजस्ती करणी (बलात्कार)का घटना भएका थिए । यसैबीच नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मंसीर १०देखि २५ गतेसम्म महिला हिंसाबिरुद्धको अन्तर्राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ । पछिल्लोपटक कोरोनाका कारण भएको लकडाउनयता यस्ता हिंसाका घटनामा बढोत्तरी भएको पाइएको छ । महिला, बालबालिका र किशोरीहरू यस्तो हिंसाबाट अत्यधिक पीडित हुने गरेका प्रहरीले जनाएको छ । अपराध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाए पनि गलत मानसिकताका कारण समाजमा बलात्कार तथा अन्य महिला हिंसाका घटनामा वृद्धि भएको बताइएको छ ।

बलात्कारका घटना न्यूनीकरणको प्रयास भइरहेको प्रहरी प्रवक्ता डीएसपी थापाले बताए । प्रहरीले अवलम्बन गरिरहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि यस्ता विकृति न्यूनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ । मानवीय मूल्य र मान्यतासँगै नैतिकतामा पनि ह्रास आएकाले बलात्कारका घटना बढेको एबीसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल (सिटौला) ले बताइन् । मानव बेचबिखन तथा महिला हिंसाविरुद्ध काम गर्दै आएको एबीसी नेपालले झापामा समेत विभिन्न कामहरु गर्दै आएको छ । कानूनी कारबाहीलाई प्रभावकारी बनाउनुका साथै मानिसमा चेतनाको स्तरमा वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here