तुलसीप्रसाद निरौला, बिर्तामोड ।
राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट नेपाल उद्यमशिल महिला महासंघकी अध्यक्ष देबिका बुढाथोकी पुरस्कृत हुने भएकी छिन् ।

युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने उक्त पुरस्कार महिला र उद्यमशिलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल उद्यमशिल महिला महासंघकी अध्यक्ष देबिका बुढाथोकीलाई प्रदान गरिने भएको हो ।
झापा अर्जुनधारा –२ घर भई हाल काठमाडौंमा रहेकी बुढाथोकीले उक्त पुरस्कारले महिला र उद्यमशिलताको क्षेत्रमा काम गर्न अझ हौसला थपेको बताइन् ।
युवा तथा खेलकुद मन्त्रालयले बाग्मती प्रदेशबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि बुढोथोकीलाई छनौट गरेको हो ।
उक्त पुरस्कारका लागि सातवटै प्रदेशबाट दुईवटा संस्थासहित १३ जनाको छनौट गरिएको बताइएको छ ।
प्रदेश नं.१ बाट राउत एण्ड सन बहुउद्धेशिय कृषि तथा पशुपालन प्रालि , प्रदेश नं.२ बाट अधिनीकान्त झा , बाग्मती प्रदेशबाट लुनिभा बाल सरोकार समूह , महेशप्रकाश हाडा , सरिता श्रेष्ठ भट्टराई, प्रकृति मैनाली , मञ्जु खाँड , गण्डकी प्रदेशबाट सुनिता क्षेत्री , कर्णाली प्रदेशबाट टंकबहादुर नेपाली , रचना सुनार ,सजना सुनार , सुदुरपश्चिम प्रदेशबाट धिरेन्द्र चन्द उक्त पुरस्कारका लागि छनौट भएका छन् ।
उक्त पुरस्कार आगामी पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने बताइएको छ ।































