पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने

0
1051

पाँचथर,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा नेता नेम्वाङले नेकपाका लागि एकताबाहेकको विकल्प नरहेकाले एकता प्रक्रिया टुङ्ग्याएर स्थायी कमिटीको दिशानिर्देशानुसार सरकार र पार्टी अघि बढ्ने बताउनुभयो ।

राजनीतिक स्थिरता र स्थिर सरकारले मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भएकाले नेकपा स्थायी कमिटीको मर्मअनुसार सबै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । पछिल्लो दुई सातामा जिल्लामा ११ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री नेम्वाङले स्थानीयस्तरका विकासनिर्माणका कामलाई द्रुत र प्रभावकारी बनाउन विशेष जोड दिइने बताउनुभयो ।

उहाँले पुष्पलाल (मध्यपहाडी) लोकमार्गसहित मुख्य सडक तथा पूर्वाधारका आयोजना समयमै पूरा गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभयो ।

उहाँले सदरमुकाम फिदिम क्षेत्रका सडक विस्तार तथा कालोपत्र, फिदिमस्थित खेल मैदानको स्तरोन्नति र जिल्ला अस्पतालमा भेन्टिलेटर, सघन उपचार कक्ष र अक्सिजन प्लान्ट स्थापना कार्य द्रुत बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here