संवादहीनता अन्त्य होस्

१४ मंसिर २०७७, आईतवार मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा अतिक्रमणपछि चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको संकेत देखिएको छ । भारतले नेपाली भूूमि समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालका तर्फबाट आपत्ति प्रकट गर्दै ती भूमिलाई समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि दुई देशका बीच संवादहीनता थियो । नेपालले वार्ताका लागि गरेको प्रस्तावमा भारतले कोभिड–१९ को नियन्त्रणपछि मात्रै वार्ता गर्ने भन्दै संवादको ढोका बन्द गरेको थियो । यही संवादहीनताका बीच भारतीय गुप्तचर विभाग ‘र अ’ का प्रमुख सामन्त गोयल र त्यसपछि सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाल आएर उच्चस्तरीय भेटवार्ता गरेका थिए । यसैक्रममा भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले दुई दिने भ्रमण गर्दै दुई देशकाबीचको संवादहीनतालाई औपचारिकरुपमै अन्त्य गरेका हुन् ।

भारतीय विदेश सचिव हर्षवर्धनले नेपाल भ्रमणका क्रममा समकक्षी नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल लगायतसँग भेटघाट गरेका थिए । भारतीय विदेश सचिव हर्षबर्धनको यो भ्रमणले दुई देशकाबीचको कुटनीतिक संवादहीनता तोडिएको छ र विद्यमान सबै समस्याको समाधान कुटनीतिक माध्यमबाट समाधान गर्न सकिने आशा पलाएको छ । भ्रमणका क्रममा विदेश सचिवले नेपाल–भारतको सुमधुर सम्बन्धको चर्चा गर्दै त्यही सम्बन्धले दुबै देशका जनताको पनि हित गर्ने बताए । विगतमा भारतले गरेको नाकाबन्दी, सीमा अतिक्रमण वा अन्य राजनीतिक कारण वा चरणले नेपाली जनतामा भारत विरोधी मानसिकता जन्माएको छ । यी र यस्ता असमझदारीलाई स्थायी रुपमा हटाउन जरुरी छ र त्यसले मात्र नेपाल–भारतका बीच सहकार्य हुनसक्छ र सम्बन्ध पनि सुमधुर बन्न सक्छ ।

नेपाली भूमि टेकेपछिको पहिलो संवाद नेपाली भाषामा प्रभावकारी ढंगले दिएका विदेश सचिव हर्षवर्धनले त्यही समय केही सकारात्मक सन्देश ल्याएको अनुभूति गराएका थिए । दुई देशका बीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई नेदेखे जस्तो नगर्ने हो भने भाषा, रहनसहन तथा सामाजिक समानता र सद्भावलाई पुनर्जाग्रत गर्नैपर्छ । यद्यपि भारतसँग सम्बन्ध चिसिएपछि चीनले नजिकिएर नेपाललाई प्रभावमा लिन खोजेको टिप्पणी भएको छ, तर कोभिड–१९ का कारण बन्द भएको नाकालाई चीनले पनि सहज ढंगले उपयोग गर्न दिएको छैन । छिमेकीहरुको आ–आफ्नो स्वार्थका कारण जहिल्यै अस्तित्वको संकटमा पर्ने नेपाल र नेपालीलाई देशभक्त र जातिभक्त राजनेताको खाँचो छ । तिनले मात्र नेपाली स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्दै विगतका असमझदारीलाई अन्त्य गर्न सक्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here