गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर

१७ मंसिर २०७७, बुधबार मा प्रकाशित
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

सरकारले मंसीर १५ गते देशभर अस्पताल निर्माण कार्यको शुभारम्भ गरेको छ । पालिकामा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल निर्माणको पहिलो चरणमा अस्पताल नभएका तीन सय छ्यानब्बे पालिकामा पाँचदेखि पन्ध्र शय्यासम्मका अस्पताल बनाउने जनाएको छ । यस बाहेक सातै प्रदेशमा एक–एक वटा सरुवा रोग अस्पताल बनाउने सरकारको लक्ष्य रहेको छ । देशभरका सात सय त्रिपन्न स्थानीय तहमध्ये छ सय उनन्चास वटामा अस्पताल नै छैनन् । बाँकी तीन सय सन्ताउन्न वटा स्थानीय तहमा अर्को चरणमा निर्माण गरिने सरकारको योजना छ । सरकारले अस्पताल निर्माण गर्न सन्ताउन्न अर्ब सन्तानब्बे करोड रुपैयाँ बजेटको व्यवस्थापन गरिसकेको छ र त्यसै अनुसार प्रदेश नं. १ मा र ८६, २ मा ५३, बाग्मती प्रदेशमा ५१, गण्डकीमा ५३, लुम्बिनीमा ५७, कर्णालीमा ४२ र सुदूरपश्चिममा ५४ वटा आधारभूत अस्पताल बनाउने गरी बजेट विनियोजन गरिसकेको बताइएको छ ।

स्वास्थ्य सेवा पाउनु नागरिकको जन्मसिद्ध अधिकार हो । मानव अधिकारभित्र शिक्षासँगै स्वास्थ्य सेवा निर्विध्न प्राप्त गर्नु पनि पर्दछ । त्यसैले आम जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा पहुँच विस्तार हुनु स्वागतयोग्य कुरा हो । तर, हामीकहाँ लोकप्रिय कार्यक्रमहरु घोषणा गर्ने, ‘कनिका छरे’ जस्तै बजेट खर्च गर्ने र सस्ता नारा लिएर दलीय स्वार्थ पूरा गर्ने राजनीतिक दलहरुको नियति नै रहेको छ । भएका अस्पतालहरु व्यवस्थित गरिएका छैनन्, आवश्यक जनशक्तिको जहिल्यै अभाव छ, उपकरणहरु कि छैनन् भएका पनि उपयोगविहीन छन् । अस्पतालको सरसफाईदेखि मर्मत सम्भारका काम नियमित रुपमा भइरहेको छैनन् । स्वास्थ्यचौकी, केन्द्रहरु छन् तर औषधिको सधैँ अभाव छ । नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको प्रत्याभूति कागजमा मात्रै सीमित छ ।

पुरानो भङ्ग गरेर नयाँ निर्माण गर्नु नियमितता नै हो । तर, आधार वा धरातलको सत्यलाई स्वीकार नगरी सस्तो लोकप्रियता आर्जन गर्न खोज्नुले दीर्घकालीन लाभ दिँदैन निश्चित छ । अहिले ऐतिहासिक भनेर गरिएको शिलान्यासले पूर्णता लिन सक्छ, तर तिनलाई व्यवस्थित नगर्ने हो भने चिकित्सकसहितको प्राविधिक जनशक्ति, उपकरण लगायतका अनिवार्य आवश्यकताहरुको पहिचान, उपलब्धता र व्यवस्थापन बिना योजना अर्थहीन हुन्छ । आज पनि दक्ष चिकित्सकहरु शहर केन्द्रित छन्, नयाँ प्रविधि, उपकरण तथा प्रयोग गर्न नपाइने कारणले चिकित्सकहरु ग्रामीण क्षेत्रमा बस्न चाहँदैनन् । यस्तोमा अस्पताल मात्र खोलेर जनताले स्वास्थ्य सेवा सहजै प्राप्त गर्लान् भन्न सकिने अवस्था छैन । तसर्थ भएका अस्पताललाई व्यवस्थित गर्न सरकारको गम्भीर अग्रसरता देखिनु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here