आधारभूत शिक्षा मातृभाषामै किन ?

१८ मंसिर २०७७, बिहीबार मा प्रकाशित
  • 734
  •  
  •  
  •  
  •  
  •  
    734
    Shares

तुलसीराम खरेल

मानिसले आफ्नो जीवनकालभरि नै अनेकौं कुराहरु सिकिरहेको हुन्छ । प्रकृतिबाट प्राप्त उत्तेजनाहरुको प्रतिक्रिया जनाउने अंगहरु मानिसमा अन्य जीवको भन्दा विकसित हुन्छन् । मानिसहरुको सिकाइ फरक–फरक र वैयक्तित प्रकृतिको हुन्छ । यसलाई प्रभाव पार्ने तत्वहरु अनेकौं हुन्छन् । आफूले सिकेको कुरा सञ्चार गर्न भाषाको जरुरी हुन्छ । भाषा त्यो सजिलो हुन्छ जो उसले परिवार र समाजमा प्रयोग गर्छ । बोली नफुटिकनै विभिन्न वस्तुहरुको परिचय उसले निश्चित भाषा मार्फत पाएको हुन्छ । त्यसको प्रभाव व्यक्तिको मगजमा अमीट छापकोरुपमा रहेको हुन्छ । प्रकृतिका यावत घटनाक्रमहरु, समाजका उथलपुथल र यसका अवयवहरुलाई आफ्नो मातृभाषामा बुझेर ब्यक्त गर्न सबैले रुची राख्दछन् ।

मातृभाषामा सिकेको कुरा बालबालिकाहरुमा चीर स्थायी हुन्छ भन्ने कुरा अनुसन्धानहरुले देखाएका छन् । ‘आधारभूत शिक्षा मातृभाषामा या दोस्रो भाषामा’ भन्ने बहस संसारैभरि चलिरहेको छ । अध्ययनहरुले मातृभाषामा दिइएको शिक्षा दोस्रो सम्पर्क भाषामा दिइएको शिक्षाभन्दा प्रभावकारी रहेको देखाएका छन् । अमेरिकामा एकल भाषिक बिद्यालयमा भन्दा बहुभाषिक शिक्षालयहरुमा पढ्ने अल्पसंख्यक बालबालिकाको सिकाइ उपलब्धिपूर्ण रहेको जनाइएको छ । उननीहरुको अंग्रेजी भाषा पनि अंग्रेजी माध्यमको एकल भाषिक बिद्यालयको भन्दा राम्रो भएको अध्ययनहरुले जनाएको छ । सन् १९९६ देखि सन् २००१ सम्म भाषिक अल्पसंख्यक बालबालिकामाथि अध्ययन गरिएको थियो । शिक्षाविद्हरु ओफलिया गार्सिया र लि वइहरु बहुभाषिक शिक्षाको पक्षमा विचार दिने शिक्षाविद्को रुपमा परिचित छन् । उनीहरु त झन् बहुभाषिक शिक्षाको माध्यमबाट संस्कृतिको संरक्षण समेत सजिलै हुनसक्ने कुरा बताउँछन् । खास गरेर आदिवासीहरुले युगौंदेखि सिकेका सीप तथा केही मौलिक ज्ञानहरुको पुस्तान्तरण र संरक्षण मातृभाषाकै माध्यमबाट मात्र सहज हुने कुरा बताइन्छ ।

नेपालमा सामुदायिक र संस्थागत गरी दुई प्रकारका बिद्यालयहरुले औपचारिक शिक्षा प्रदान गरिरहेका छन् । सामुदायिक बिद्यालयहरुको व्यवस्थापनमा समुदायका मानिसहरुको सक्रियता रहन्छ । शिक्षकको नियुक्ति, तलब, भत्ता तथा भवन निर्माण सरकारले गर्दछ । तर, संस्थागत बिद्यालयहरु व्यक्ति या समूहको लगानीमा सञ्चालन भएका हुन्छन् । जसको सम्पूर्ण व्यवस्थापन, शिक्षक, कर्मचारीको नियुक्ति, तलबभत्ता तथा भवन एवम् अन्य भौतिक व्यवस्थापन लगानीकर्ता व्यक्ति वा तिनको समूहले नै स्वयम् गरिरहेका हुन्छन् । केही अपवादलाई छोडेर संस्थागत वा निजी बिद्यालयहरुले अंग्रेजी माध्यमबाट र सामुदायिक बिद्यालयहरुले नेपाली माध्यमबाट शिक्षा प्रदान गरिरहेका छन् । तुलनात्मक रुपले सामुदायिकभन्दा निजी बिद्यालयहरुको गुणस्तर राम्रो देखिएको छ ।

नेपालमा यसलाई दुईखाले शिक्षा समेत भनिँदै आएको छ । स्मरणीय के छ भने नेपाल सरकारले निर्माण गरेकै पाठ्यक्रम दुबै प्रकारका शिक्षालयहरुले चलाइरहेका छन् । निजी बिद्यालयहरुले अंग्रेजी माध्यमबाट शिक्षा दिने हुनाले आम मानिसको आकर्षण समेत तिनीहरुप्रति नै हुन गयो । हुनेखानेहरुले महँगो शुल्क तिरेरै पनि निजी बिद्यालयहरुमा बालबालिकालाई पढाइरहेका छन् । उता महँगो शुल्क तिर्न नसक्ने हुँदा खाने भन्ने गरिएका मानिसहरुले आफ्ना सन्तानलाई निःशुल्क भनिएका सामुदायिक बिद्यालयहरुमा भर्ना गराएर शिक्षा दिइरहेका छन् । यसरी शिक्षा एउटै पाठ्यक्रम मार्फत भए पनि वर्गीय हिसाबले दुईथरीको भन्ने महशुस हुन पुगेको हो । तर, अहिले परिस्थिति फेरिँदै आएको छ । कतिपय राम्रो व्यवस्थापन गरिएका सामुदायिक बिद्यालयहरुमा अभिभावकहरुको रुची बढिरहेको देखिन्छ ।

आममानिसको आकर्षणकै कारण धेरै सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठनपाठन थालेर बिद्यार्थी संख्या बढाएका छन् भने यसैलाई गुणस्तर बृद्धि भएको भनेर अफवाह समेत फैलन थालेको छ । यो वर्तमान नेपालको विद्यालय शिक्षामा आएको गम्भीर मोडको अवश्य हो । भारत, माली, भियतनाम, जाम्बिया, केन्या, फिलिपिन्स आदि मुलुकहरुमा लागू गरिएका बहुभाषिक शिक्षालयहरु र त्यहाँको शिक्षा सफल ठानिन्छ । यस्ता असरहरु विश्वभरि नै देखिएको कारणले युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस– २०१८ को मूल नारा ‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषिकता’ तय गरेको थियो । दक्षिण एसियाली मुलुकहरुमा भाषिक तथा सांस्कृतिक विविधता उच्च देखिन्छ । र, यहाँ बहुभाषिक शैक्षिक नीति उपयुक्त हुने भनि सुझाव समेत दिएको छ । संसारभरि नै देखिएको यसप्रकारको प्रवृत्तिदेखि नेपाल अछुतो रहन सक्दैन् । त्यसकारण यसलाई नेपाल सरकारले आफ्नो शैक्षिक नीतिमा समावेश गर्नुपर्ने देखिन्छ । तर, नेपालका कतिपय स्थानीय सरकारहरुले हचुवाको तालमा शैक्षिक निर्णयहरु गरेका छन् ।

कतिपय स्थानीय सरकारहरुले रातारात अंग्रेजी माध्यमबाट अनिवार्य पठनपाठन गर्नुपर्ने निर्णयहरु गरेका छन् । समाजको आवश्यकता, भाषिक समूहको सक्षमता, पाठ्यपुस्तकको उपलब्धता, शिक्षकहरुको अवस्था तालिम र मनोविज्ञान, आर्थिक भार र त्यसको स्रोत, बिद्यार्थीहरुको तयारी, अभिभावकको चाहना आदिको अध्ययन बिना नै गरिएका यस्ता निर्णयहरुले शैक्षिक अराजकता र अन्योलता बाहेक केही उपलब्धि हुँदैन् । नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक हो । हाम्रो राष्ट्रिय गानमा नै ‘बहुभाषा जाति धर्म संस्कृति छन् बिशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल’ भनिएको छ । तर, नेपाली भाषा मातृभाषा नभएका अनेकौं जातजातिका बालबालिकाहरुले आफ्नो घरमा आफ्नै मातृभाषा बोल्छन् । तर, पठनपाठनको माध्यम नेपाली रहेको छ ।

उता नेपाली मातृभाषी एवम् अन्यभाषा मातृभाषा भएका ठूलो संख्याका बालबच्चाहरु अंग्रेजी माध्यमका बिद्यालयहरुमा अध्ययन गर्छन् । तिनीहरुको भाषिक कठिनाइ भनेकै घर र बिद्यालयको सञ्चार भाषा अलग–अलग हुनु हो । पुस्तकमा एप्पल पढेको बालक घरमा स्याउ खान्छ र स्याउ बोल्छ । लामो समयसम्म एप्पल र स्याउ नाम भाषिक पृथकताको कारण हो भन्ने कुरा बुझ्न नसकेर घर र बिद्यालयमा प्रताडित बन्छ । यसको श्रृंखलाबद्ध स्वअध्ययन गर्ने हो भने पनि धेरै स–साना बालबच्चाहरु दोस्रो भाषाको भाषिक कठिनाइका कारण नै उत्साहजनक सञ्चार गर्न बिद्यालयमा सक्दैनन् भन्ने बुझ्न गाह्रो हुन्न । एउटा साथीसँग विवाद र झगडा पर्दा आफू अन्यायमा रहेको आफ्नो कुरा निर्धक्क राख्न कठिनाइ महशुस गरेको बालकको मनोवैज्ञानिक दशा सधैँ हेपिएको जस्तो हुन्छ । निजी शिक्षालयहरुका सञ्चालकहरुले स–साना बालबालिकाहरुलाई ठूलो बोलिले ‘डन्ट टक ईन नेपाली’ भनेर हप्काएको सनिन्छ । धेरै अंग्रेजी स्कूलको यो कथा हो । अंग्रेजीमा नै सञ्चार गर्न बाध्य पार्ने यो उपाय पनि हुन सक्छ । अंग्रेजीमा ‘शौचालय जान्छु’ भन्न हिच्किचाएर कपडा भिजाएर घर आइपुग्ने बच्चाबच्चीहरुको पीडा र मानसिक दबाव कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

बच्चाहरुको मानसिक अवस्था पनि फरक–फरक प्रकारको हुन्छ । कोही लेखेर अभिब्यक्ति गर्न अग्रसर हुन्छन् तर बोल्न चाहँदैनन् । कोही निर्धक्कसँग बोल्छन् । तर, लेख्न ढीला हुन्छन् । धेरै बच्चाबच्ची उनकै साथीहरुबाट अन्यायमा परेको अनुभव बोकेर घर आउँछन् र घरमा अभिब्यक्त गर्छन् । अनि सर र मिसहरुलाई किन नभनेको त ? भन्दा ‘अंग्रेजीमा सबै भन्न आउँदैन, नेपालीमा बोल्यो भने कुटाई खाइन्छ’ भनेर रुञ्चे अनुहार पारेका कुराहरु सबैले अनुभव गरेकै कुरा हो । यस्ता घटनाहरुबाट पनि मातृभाषा बाहेकको शिक्षा प्राथमिक तहका लागि उपयुक्त छैन भन्न मिल्छ । समग्रमा अनुसन्धानहरु र अनुभवका आधारमा बिद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व बिकासको लागि आधारभूत तहसम्म मातृभाषामै शिक्षा दिइनुपर्छ भन्न सकिन्छ ।

(खरेल विगत दुईदशक अघिदेखि अध्यापन कार्यमा संलग्न रहँदै आएका छन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here