जसलाई सहयोगको खाँचो छ

१८ मंसिर २०७७, बिहीबार मा प्रकाशित

विनोद पाण्डे,
चारपाने।

हरेक प्राणी आफ्नो लागि आफैं संघर्ष गरिरहेकै हुन्छ । अझ सर्वोच्च प्राणी मानिसले बाँच्नको लागि हरेक पलमा संघर्ष गर्दै, परिवार, आफन्त र समाजको लागि उत्तरदायी पूरा गर्छ ।

त्यस्तै एककर्मठ परिश्रमिक झापा मेचीनगर–७ इँटाभट्टाका सिटौला वंश १२औं पुस्ताका बाबुराम सिटौला मेचीनगरकै काँकरभिट्टामा सानोतिनो व्यवसाय ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका थिए । उनको कमाईमा एक श्रीमती, दुई छोरा, एकछोरीको भविष्य गाँसिएको थियो । सिटौला परिवारको लागि मात्र नभएर बन्धुबान्धव छरछिमेकका लागि पनि सकेको सहयोग गरौं भन्ने ध्येय राख्ने गर्थे– उनी ।

उनको त्यही बिचार र समाज, समुदायप्रतिको झुकावले गर्दा सिटौला सेवा समाज नेपाल झापा शाखामा आजीवन सदस्य पनि भए । त्यसैगरी स्थानीय स्तरमा परोपकारी, समाजिक संस्थाहरुमा पनि आवद्ध बने । यही सिलसिला चलिरहेकै अवस्थामा उनको जीवनमा यतिवेला निकै कठिन परिस्थिति सामुन्ने आएको छ । त्यो हो प्राणघातक मानिएको मुखको क्यान्सरका कारण उनी विगत ६ महिनादेखि घर र अस्पताल गर्दैछन् ।

विगतका दिनमा क्यान्सर भन्ने वित्तिकै मृत्यु निश्चित भन्ने थियो । क्रमशः विज्ञानको विकाससँगै आजको दिनसम्म आइपुग्दा क्यान्सर रोग रुपैयाँ भए सामान्यझैं बनेको छ । तर, यो रोगबाट छुटकारा पाउन समान्य आर्थिक अवस्था भएकाहरुको लागि भने अझै पनि असाध्य मानिन्छ ।

इँटाभट्टामा १३ धुर मात्र जमिन, त्यसमा बनेको सानो एकतले पक्की घर बाहेक क्यान्सर पीडित सिटौलासँग अरु चल अचल सम्पत्ति छैन । त्यही जायजेथा बेच्ने हो भने उनीसंगै उनको परिवार सडकमा आउनुको विकल्प छैन । उनकोे वर्तमान अबस्थालाई देखेर सिटौला सेवा समाज झापा क्षेत्र नं. १को प्रस्ताव र जिल्ला समित झापाको संयोजनमा बाबुराम सिटौला उपचार सहयोग कोष खडा गरिएको छ ।

कोषमार्फत देशविदेशमा रहेका सिटौलाहरुले सहयोग रकम पठाउन थालेको जिल्ला समितिले जनाएको छ । क्यान्सर पीडित सिटौलाको लागि नेपालको तेह्रथुम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोकबाट सहयोग रकम प्राप्त भइरहेको छ । त्यसैगरी विश्वका विभिन्न देशहरुमा रहेका बन्धुहरुबाट पनि सहयोग रकम पठाउने काम भइरहेको छ । हालै भुटान, बर्मा, भारत, अमेरिका, क्यानडा, लण्डनबाट समेत सहयोग जुटिरहेको सिटौला सेवा समाज नेपाल जिल्ला समिति झापाले जानकारी दिएको छ ।

जिल्ला समिति झापाका अनुसार विदेशबाट ३ लाख ४९ हजार ४ सय ५५ रुपैयाँ प्राप्त भएको छ । त्यसैगरी सिटौला सेवा समाज क्षेत्र नं. १बाट ३९ हजार ५ सय २५, क्षेत्र नं. २बाट पहिलो चरणमा ५८ हजार ९ सय १० रुपैयाँ र दोस्रोपटक ४८ हजार २० रुपैयाँ सहयोग रकम उपलब्ध भएको छ । सहयोग उपलब्ध गराउने क्रममै क्षेत्र नंं. ४बाट पाँच हजार, क्षेत्र नं. ५ २७ हजार १ सय १५ रुपैयाँ, त्यसैगरी झापा सिटौला समाजको आग्रहमा मेदिनी सिटौलाको पहलमा सुनसरी, मोरङका सिटौलाहरुबाट ३७ हजार ७ सय गरी जम्मा ५ लाख १० हजार ७ सय ३० रुपैयाँ रकम जम्मा भइसकेको छ । जम्मा रकमबाट क्यान्सर पीडित बाबुरामको इच्छा अनुसार शिवसताक्षीकी क्यान्सर पीडित खिलादेवी सिटौलालाई ३२ हजार १ सय १५ रुपैयाँ सहयोग प्रदान गरिएकोे र बाँकी रकम पीडित सिटौला समक्ष उपलब्ध गराइएको झापा शाखाका अध्यक्ष प्रेमप्रकाश सिटौलाले बताए ।

बुधबार इँटाभट्टास्थित क्यान्सर पीडित सिटौलाको घरमा केही सिटौला बन्धुहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो । जिल्ला समिति झापाका अध्यक्ष प्रेमप्रकाश सिटौलाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रम स्थानीय समाजसेवी बुद्धिजीबी यज्ञराज प्रसाईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विलास सिटौला, कृष्ण सिटौला, चन्द्र सिटौला, शान्ता सिटौला, खड्गप्रसाद सिटौला, डिल्लीराम सिटौला, गणेश सिटौला, रामप्रसाद सिटौला, चक्र सिटौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष चन्द्र सिटौलाले गरेका थिए ।

सहयोग रकम बुझ्दै क्यान्सर पीडित सिटौलाकी श्रीमती हरिमायाले सहयोग गर्ने दाता बन्धुहरुमा धन्यवाद व्यक्त गरेकी छिन् । आर्थिक सहयोग गरेर आफ्नो श्रीमानको जीवन बचाई दिन सम्पूर्णमा अपिल गर्दै बन्धुबान्धव शुभचिन्तकको सानो सानो सहयोगबाट श्रीमान्लाई छिट्टै निको पर्नेमा आफू आशावादी रहेको उनले बताइन् । क्यान्सर पीडित बाबुरामलाई उपचारको लागि चितवन क्यान्सर अस्पताल लाने तयारी गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here