द्वन्द पीडितको रकम ठगी प्रकरणमा कर्मचारी मिलेमतो भएको रहस्य

0
289

नरेन्द्र रिमाल
फिदिम, माघ ६ । किर्ते कागजात खडा गरेर द्वन्द पीडितका नाममा १ करोड २३ लाख रुपैंया ठगी प्रकरणमा जिल्ला प्रशासन कार्यालय पाँचथरका कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको छ ।
किर्ते र ठगी अभियोगमा पक्राऊ परी अनुसन्धानमा रहेका फक्ताङलुङ टि स्टेटका कार्यकारी निर्देशक सन्तविर आङदेम्वेको वयानले यो रहस्य खुलेको हो ।
१९ दिन अघि पक्राऊ परी अनुसन्धानमा रहेका उनले जिल्ला रकम निकासाका क्रममा जिल्ला प्रशासन कार्यालय पाँचथरको मुद्वा फाँटका गोविन्द वाँस्कोटा र लेखापाल तारावहादुर राईलाई क्रमशःसाढेदुई र पाँचलाख रुपैंया दिएको वयान दिएको प्रहरी स्रोतले जनाएको छ ।
आङदेम्वेले रकम दिएको भनी दावी गरेका वाँस्कोटाले अनिवार्य अवकास लिइसकेका छन भने राई हालसम्म पनि सोहि कार्यालयको लेखापाल पदमै कार्यरत छन ।
आङदेम्वेले यस्तो वयान दिएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालय पाँचथरलाई पत्र लेख्दै लेखापाल राईलाई वयानका लागि पठाइदिन अनुरोध गरेको छ । निजामति सेवामा कार्यरत कर्मचारीलाई विभागीय प्रमूखको आदेशविना सोझै पक्राउ गर्न नमिल्ने भएकाले पत्र पठाएर उपस्थित गराइदिन भनिएको प्रहरी निरिक्षक राकेश थापाले जानकारी दिए ।
राईलाई पठाइदिन भन्दै पत्र पठाएको पाँचदिनसम्म पनि उपस्थित नभएपछि अनुसन्धान पं्रकृयामा ढिलाई भएको भन्दै सोमवार पुनःताकेता पत्र पठाइएको उनले जानकारी दिए । आरोपी मध्येका वास्कोटाको पनि खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।
प्रमूख जिल्ला अधिकारी कोषहरि निरौलाले भने राई गोष्ठीमा सहभागी हुन जिल्ला वाहिर गएकाले आएपछि मात्र पठाउने भन्दै प्रहरीलाई पत्र पठाएका छन । तर राई कहाँ गएका हुन र कहिले आँउछन भन्ने चाँहि खुलाइएको छैन ।
फक्ताङलुङका कार्यकारी निर्देशक सन्तविरले सोहि टि स्टेटका सेयरधनी र मजदुरका कागजात भेला पारी द्वन्दका समयमा टि स्टेट बन्द कम्पनी,मजदुर र हुँदा ८ करोड वढी घाटा भएको भन्दै निवेदन दिएका थिए । जसमध्ये शान्ति मन्त्रालयले २२ जनाका नाममा १ करोड २३ लाख रुपैंया निकासा पठाएको थियो । उक्त रकम सम्वन्धित व्यक्तिको नागरिकताको फोटोकपी लिएर उनीहरुकै नाममा खाता खोलेर आफैं चेक काटी निकासा लगेको आरोप लागेको छ ।
द्वन्द पीडितका नाममा आएको रकम प्रमूख जिल्ला अधिकारीको सिफारिसमा सम्वन्धित व्यक्तिकै नाममा नेपाल वैंक लिमिटेडमा खाता खोली निकासा पठाउनुपर्ने हुन्छ ।
सो क्रममा आङदेम्वेले कर्मचारीसँगको मिलेमतोमा नक्कली मान्छे उपस्थित गराएर खाता खोली निकासा गर्दा केहि अंश तिनै कर्मचारीलाई दिएको रहस्योद्घाटन भएको अनुसन्धामा खटेका प्रहरीले जनाएका छन । उक्त अभियोगमा पक्राउ परेका आङदेम्वे पुष १७ गतेदेखि प्रहरी हिरासतमा छन । यसैविच पाँचथर जिल्ला अदालतले आङदेम्वेलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । पुष १७ गते पक्राऊ परेका आङदेम्वेलाई अदालतले यसअघि तीन पटक गरी १९ दिनसम्म म्याद थप्दै अनुसन्धान गर्न प्रहरीलाई समय दिएको थियो ।
आङदेम्वेले किर्ते कागजात पेश गरी शान्ति मन्त्रालयवाट निकासा लिएका २२ मध्ये १६ जनाले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । जसमध्ये ४ जना बैदेशिक रोजगारीमा रहेको वताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here