निर्माणमा तीव्रता देऊ

१९ मंसिर २०७७, शुक्रबार मा प्रकाशित
  • 127
  •  
  •  
  •  
  •  
  •  
    127
    Shares

बिर्तामोडको मुक्तिचोक–भद्रपुर सडक खण्ड निर्माणको गति अत्यन्त सुस्त भई सडक यात्रु र स्थानीयबासीले ठूलो कष्ट व्यहोरेको थुप्रै भयो । मुक्तिचोकदेखि चार किलोमिटर सडक खण्ड चारलेनको बनाउन शुरु गरेको वर्षौं भइसकेको छ । यसबीचमा अस्तव्यस्त सडक र धुलो–हिलोबाट आजित स्थानीयबासी एवम् स्थानीय संघ–संस्थाहरुले पटक–पटक आन्दोलन गरे । प्रधानमन्त्रीलाई भेटेरै ज्ञापनपत्रसहित ध्यानाकर्षण पनि गराए । तर, सडकको अवस्था उस्तै छ र स्थानीयबासीको पीडा अझ थपिएको छ । कोरोना आतंकले त्रस्त र पीडित सडक उपयोगकर्ता र सडक आसपासका बासिन्दा ‘कुहिरीमण्डल’ धुलो खाएर अनेक स्वास्थ्य समस्या झेल्न बाध्य छन् । यसबीचमा नगरपालिका समेतको पहलमा सडक निर्माणका कार्यलाई तीव्रता दिने सहमति पनि गरियो । सडक निर्माण गर्ने ठेकेदार कम्पनी आशीष प्रेरा जेभीले पाँच वर्षअघि नै सम्झौता गरेको सडक खण्डको निर्माण कार्य कछुवाको गतिमा भएको भन्दै स्थानीयले दवाव दिएपछि निर्माण कार्य अपेक्षित ढंगले अघि बढेको छैन ।

निर्माण कम्पनीले पछिल्लो पटक गत साउन २८ गते विगतको सम्झौता संशोधन गरे पनि कछुवा कै गतिमा काम भइरहेको छ । यद्यपि प्रतिनिधि सभा सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य पवित्रा निरौला खरेलले पूर्व सहमति अनुसार निर्माणको काम ८६ प्रतिशत सम्पन्न भईसकेको दाबी गरेकी छिन् । पहिलो खण्डकै निर्माण पूरा नभई भद्पुरसम्मको बाँकी साढे आठ किलोमिटर खण्ड पनि चारलेखनकै बनाउने गरी सम्झौता भइसकेको बताइएको छ । बिर्तामोडलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने भन्दै थालिएको निर्माण कार्यमा भएको ढिलाइबाट स्थानीयबासी, सडक प्रयोगकर्ता, वृद्धवृद्धा, बालबालिका र विरामीले यतिका वर्षसम्म झेल्नु परेको पीडा शब्दले व्यक्त गर्नै सक्दैन ।

अठार महिनामा सम्पन्न गर्ने गरी भएको सम्झौता यतिका वर्षसम्म पूरा नभएकै अवस्थामा भद्रपुरसम्मकै सडक बिस्तार कार्य कहिले पूरा होला अनुमान गर्न गाह्रो छ । यसबीच कति व्यावसायीहरु व्यापारबाटै पयालन भए, कतिले आर्थिक क्षति व्यहोर्नुप¥यो, कतिले शारीरिक तथा मानसिक पीडा भोग्नु प¥यो त्यसको लेखा राख्ने कुनै जिम्मेवार निकाय नै छैन । संघीय सरकारले बहुवर्षीय आयोजनामा समेट्दै रकम विनियोजन गरेको मुक्तिचोकदेखि २.८ किलोमिटर नालासहित चारलेनको र बाँकी दुईलेन स्तरोन्नति गर्ने पूर्व सम्झौताको कार्यान्वयनमा भएको कछुवा गति थपिएको कार्यक्रममा नदोहोरियोस् । कतिपय सेवा लिन सदरमुकाम नै जानुपर्ने बाध्यता रहेको अवस्थामा यही गतिमा सडक निर्माण हुने हो भने निर्माण सम्पन्न सडक उपयोग गर्न अर्को पुस्ताले पनि पर्खिनुपर्ने हुनसक्छ । अन्यथा सडकयात्रीहरुले व्यहोर्नुपर्ने सास्तीले सीमा नाघ्न सक्छ र परिणाम सबैका लागि प्रत्युत्पादक पनि बन्न सक्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here