वडा नं. १ को कार्यालयमा तालाबन्दी

१९ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

बिर्तामोड,

बिर्तामोड नगरपालिका–१का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वडावासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

बिहीबार नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति लक्ष्मी आचार्य, वडासभापति नगेन्द्र बस्नेत लगायतको नेतृत्वमा गएको टोलीले वडा कार्यालयमा तालावन्दी गरेको हो । बिर्तामोड–१स्थित पाथीभरा सिने प्लाजा नजिकैको जग्गाको सिफारिसलाई लिएर कांग्रेस समर्थक र स्थानीयवासीले वडा कार्यालयमा तालावन्दी गरेका हुन् ।

वडाध्यक्ष पाण्डेले नर्वदा चौहान र घनेन्द्रदेवी थापाको जमिन बिक्रीका लागि भन्दै कित्ता नं. ६२२लाई सिफारिस दिएका थिए । वडाध्यक्षको सिफारिसमा कित्ता नं. ५४७ को ठाउँमा कित्ता नं. ६२२ बनाएर बिक्री भएको थियो । सोही विषयलाई लिएर वडाबासीले वडाध्यक्ष पाण्डेसँग असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको नेपाली कांग्रेसका सक्रिय सदस्य तथा वडावासी बलराम कार्कीले जानकारी दिए ।

सो जमिन जी ट्रेडिङ प्रालि ललितपुरलाई चार करोड २५ लाख रुपैयाँमा बिक्री भएको बताइएको छ । सवै प्रक्रिया पुर्याएर जग्गा विक्री गरिए पनि वास्तविक जग्गाधनीले नापी कार्यालय चन्द्रगढीमा घेराउ गर्दै आफूहरुको जग्गा भू–माफियाले कर्मचारीकै मिलेमतोमा हडपेको भन्दै नक्सा नसच्याए कानूनी उपचारमा जाने चेतावनी दिएका थिए । योसंगै नापी कार्यालयले नक्सा समेत सच्याएको छ ।

त्यस्तै वडाध्यक्ष पाण्डेले सवै प्रक्रिया पुर्याएर जग्गाको सिफारिस लिन जाँदा आलटाल गरेको, वडामा हुने विकास निर्माणमा एकलौटी निर्णय गरेको, विभिन्न उपभोक्ता समिति बनाउँदा आफू अनुकूल हुने बनाएको, प्रतिपक्षको भूमिकालाई वेवास्ता गरेकाले वाध्य भएर वडा कार्यालय तालावन्दी गरेको नेपाली कांग्रेसका सक्रिय सदस्य तथा वडावासी कार्कीले बताए ।

यता वडाध्यक्ष पाण्डेले भने आफू नापी कार्यालय गएको बेला वडाकार्यालयमा तालाबन्दी गरेको बताएका छन् । उनले आफूले घटना बारे बिर्तामोड नगरपालिकालाई जानकारी गराएको र बिर्तामोड नगरपालिकाले राजनीतिक दलसम्मिलित वार्ताटोली बनाएर समस्याको समाधान गर्ने उनले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here